निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक नगर्न आग्रह

19

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउने, उम्मेदवारहरुलाई हतोत्साही बनाई प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्‍याउने भएकाले निर्वाचनअघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम गर्न नहुने बताएका हुन्।

उनले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराए।

उनले आर्टिफिसियल एजेन्सीको प्रयोग गरी सिर्जना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरे।

उनले भने, ‘हालैका केही अभ्यासहरु, जसमा मतदान हुनुअघि नै मतदाताहरुको कुराकानीलाई आधार बनाएर हारजीतको अनुमान गर्ने वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने गरिएको छ, त्यसप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। निर्वाचन आचारसंहिता २०८२ ले प्रस्ताव गरेको मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउन सक्दछ। नतिजा पहिला नै घोषणा गरिदिँदै उम्मेदवारहरुलाई हतोत्साही बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्‍याउने काम नगर्न आयोगको तर्फबाट विनम्र अनुरोध गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here