हालसम्म ४३ जिल्लामा आवश्यक सामग्री ढुवानी सम्पन्न

10

काठमाडौं । नेपाली सेना ले निर्वाचन पूर्व तयारीअन्तर्गत देशका विभिन्न जिल्लामा मतदान सामग्री पुर्‍याउने कार्य तीव्र बनाएको छ।

सेनाका अनुसार हालसम्म ४३ जिल्लामा आवश्यक सामग्री ढुवानी सम्पन्न भइसकेको छ भने थप १२ जिल्लामा पुर्‍याउने प्रक्रिया जारी रहेको छ।

बाँकी २२ जिल्लामा समेत चरणबद्ध रूपमा सामग्री पठाउने तयारी भइरहेको सैनिक स्रोतले जनाएको छ। भौगोलिक कठिनाइका कारण सडक पहुँच सीमित भएका हिमाली जिल्लाहरूमा भने हवाई साधन प्रयोग गरिएको छ। यस क्रममा हुम्ला, मुगु र डोल्पा मा हवाई माध्यमबाट सामग्री ढुवानी सम्पन्न गरिएको जानकारी दिइएको छ।

डोल्पामा आइतबार नेपाली सेनाको ‘स्काई ट्रक’ विमानमार्फत मतपत्र, मतपेटिका, मतदानमा प्रयोग हुने मसी मार्कर, छाप, स्टिकर तथा रंगीन मतदाता नामावलीलगायत सामग्री पुर्‍याइएको जनाइएको छ। आगामी चरणमा मनाङ र मुस्ताङ मा पनि हवाई माध्यमबाट सामग्री पठाउने तयारी भइरहेको सेनाले जनाएको छ।

निर्वाचन व्यवस्थापनलाई समयमै प्रभावकारी बनाउन सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय कायम राख्दै ढुवानी कार्य अघि बढाइएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here