जनकपुरधाम । आगामी बिहीबार हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भारतसँग जोडिएको सीमानाका बन्द हुने भएको छ। सोमबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म सीमानाका बन्द हुने भन्दै जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरेको छ।
बिहीबार (फागुन २१) मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न भारतसँग जोडिएको सीमानाका बन्द गरिने विभिन्न जिल्लाका प्रमुख एवं सहायक जिल्ला अधिकारीहरुले सूचना जारी गर्दै जनाएका छन्।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया, सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेल, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल र धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले सूचना जारी गर्दै सीमानाका बन्द हुने जनाएका छन्।
मतदानभन्दा ७२ घण्टा अगाबै सीमानाका बन्द हुने भएतापनि मिथिला परिक्रमा यात्रीलाई भारत प्रवेशमा कुनै प्रकारको समस्या नहुने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिए। उनले परिक्रमाको क्रममा आएका भारतीय श्रद्धालुलाई भारत प्रवेशका लागि सीमापारिका जिल्लाका डिएमसँग कुराकानी भइरहेको जनाए।
धनुषा, महोत्तरी र भारतको केही स्थानमा १५ दिनसम्म मिथिला मध्यमा परिक्रमा यात्री नेपाल र भारतको १३३ किलोमिटर पदयात्रा गर्नेगर्छन्। उनीहरु फर्केने सीमानाका बन्द भइसकेको हुनाले परिक्रमामा सहभागी भारतीय नागरिकलाई नेपालभन्दा बाहिरीन कुराकानी भइरहेको उनले जनाए।


















