मधेसमा रकमसहित उम्मेदवार पक्राउ

18

जनकपुरधाम । भाेलि बिहीबार हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको एक दिन पूर्वी मधेस प्रदेशको विभिन्न जिल्लाहरूमा रकमसहित उम्मेदवार तथा कार्यकर्ताहरू पक्राउ परेका छन् ।

धनुषा निर्वाचन क्षेत्र ४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरालाई प्रहरीले ४८ हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको हो । महरालाई राति पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बलमे जानकारी दिए ।

महरा डम्मी उम्मेदवार छन् । उनी नेकपा एमालेका उपमहासचिव समेत रहेका धनुषा ४ का उम्मेदवार रघुवीर महासेठसँग घुम्ने गरेका थिए ।

यस्तै, सिरहा प्रहरीले सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार रहेका अशेश्वर यादवलाई पक्राउ गरेको हो मौन अवधिमा नगदसहित फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २-०२-००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब साढे १२ बजे शिवचोकमा चेकजाँचका क्रममा रोकेपछि गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद र मतपत्रसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।

उम्मेदवार यादवसहित गाडीमा सवार पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।

यस्तै, मंगलबार राति करिब ११ बजेको समयमा श्रोत नखुलेको २५ हजार रुपैयाँसहित पुरुषोत्तम यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार रहेका मनोज चौधरीलाई सकास्पद वस्तुसहित पक्राउ गरिएको छ ।

नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडीलाई चेकजाँच गर्दा संकास्पद वस्तु फेला परेपछि चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here