काठमाडौं । निर्माणाधीन नयाँ संसद् भवन समयमा नै सम्पन्न हुन नसकेपछि प्रतिनिधि सभाका बैठकहरू संसद् परिसरमा रहेको बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्रतिनिधि सभाको सभाकक्ष समयमै तयार हुन नसकेपछि बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्ने तयारी गरिएको हो ।
सरकारले प्रतिनिधि सभाका लागि निर्माण गरिरहेको सभाकक्ष चैत १ गतेभित्र सचिवालयलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो । तर पछिल्लो प्रगति हेर्दा सो मितिभित्र निर्माण सम्पन्न हुने अवस्था नरहेको सचिवालयका प्रवक्ता गिरीले जानकारी गराए ।
‘प्रतिनिधिसभाको लागि निर्माण गर्दै गरेको हल, प्रतिनिधि सभा सदस्यको बैठक कक्ष चैत १ गतेसम्ममा सचिवालयलाई हस्तान्तरण गर्ने भन्ने थियो । यद्यपी पछिल्लो समयमा चैत १ गतेभित्र उक्त हल निर्माण भइसक्ने देखिएन,’ उनले भने, ‘अहिले बहुउद्देशीय हलमा शपथग्रहण गराउने र प्रतिनिधि सभाका केही प्रारम्भिक बैठकहरू समेत बस्नेगरी कार्यसम्पादन भइरहेको छ । यो अस्थायी व्यवस्थापन हो ।’
उनका अनुसार बहुउद्देश्यीय हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । केही प्राविधिक काम मात्र बाँकी रहेकोले ती कार्य शिघ्र सम्पन्न गर्नेगरी काम भइरहेको उनले जानकारी दिए ।
सचिवालयले नियमित रूपमा समन्वय, अनुरोध तथा स्थलगत अनुगमन गरिरहेको छ । बैठक कक्षको अभावका कारण प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण वा संसद बैठक रोकिने अवस्था नआउने प्रवक्ता गिरीको भनाइ छ ।

यसअघि संसद् बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा आगजानी भएपछि बैठक बस्नको लागि समस्या भएको हो ।
राष्ट्रिय सभाको बैठक भने सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन गरिएको छ ।
सिंहदरबार परिसरको १ सय ५६ रोपनी क्षेत्रफलमा संसद् भवन निर्माण भइरहेको छ । २०७९ असोज १६ गते भित्र निर्माण गरिसक्ने गरि २०७६ असोज १६ मा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा तुन्दी–सेक जेभीले ठेक्का लिएको थियो ।
तर २०८२ फागुनसम्म आइसक्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन । संसद् भवन निर्माणको लागी पाँचौ पटक थपिएको म्याद पनि सकिसकेको छ ।
संसद् भवनको ‘रुफिङ’ को लागि छुट्टै चेनलिंक इन्जिनियरिङ कम्पनीले २०८० फागुन २७ गते ३ करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।
यस्तै ‘इन्टेरियर’ को जिम्मा केसी–श्यामसुन्दर–बानियाँ जेभीले २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा दिएको थियो । यी सबैको ठेक्का सम्झौता सकिएको भएपनि काम पूरा हुन सकेको छैन ।


















