पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगलले “परिचयात्मक तथा ओहोदाको प्रमाणपत्र वितरण कार्यक्रम 2026” भव्य रूपमा सम्पन्न गरेको छ। पुनर्गठन पश्चात् आयोजना गरिएको यो पहिलो औपचारिक कार्यक्रमले पोर्चुगलस्थित नेपाली समुदायमा नयाँ उत्साह र एकताको सन्देश दिएको छ। कार्यक्रममा कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई प्रमाणपत्र तथा परिचयपत्र वितरण गरिएको थियो।
कार्यक्रम इनास पोर्चुगलका अध्यक्ष नृपध्वज खत्री “निरिप”को अध्यक्षतामा सम्पन्न भएको थियो। नेपाली राजदूतावास पोर्चुगलका महामहिम राजदूत प्रकाशमणि पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी इनासका ग्लोबल अध्यक्ष अर्जुन काफ्ले तथा एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पुर्ण हमाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा इनासका सल्लाहकार तथा ठकुरी समाज पोर्चुगलका अध्यक्ष सज्जन हमाल ठकुरी, इनासका सल्लाहकार भवेश बस्नेत, इनासका सल्लाहकार दुर्गा पङ्गेनी, नेप्लिज वोमेन एसोसिएसन पोर्चुगलकी अध्यक्ष गीता रेउले, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलका अध्यक्ष एन.बी. अन्जान, नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव कलश खरेल, बाग्लुङ समाज पोर्चुगलका अध्यक्ष दिनेश खड्का, सुदूरपश्चिम समाजका अध्यक्ष दीपेश विष्ट, राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलका अध्यक्ष इमान तामाङ, नेपाल पत्रकार महासंघ युरोप शाखा सदस्य पुस्तक रेग्मी, नेप्लिज वोमेन एसोसिएसन पोर्चुगलकी महासचिव सरस्वती गौतम लगायत विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो। गायन तथा नृत्य प्रस्तुतिहरूले वातावरणलाई उल्लासमय बनाएको थियो। लभ लिस्बोनमा सम्पन्न कार्यक्रमको सञ्चालन जिसिआर प्रतिनिधि सुनिल गिरिले गर्नुभएको थियो।
कार्यक्रमले इनास पोर्चुगलको आगामी कार्यदिशा स्पष्ट गर्दै कला, साहित्य र संस्कृतिको प्रवर्द्धनमा सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।


















