हुम्ला । जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ ।
यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो । सिमकोट तल्लो गाउँका बासिन्दा करिब तीन घण्टा हिँडेर पिनारा मूलबाट पानी ल्याउन बाध्य भएका स्थानीय जनाउँछन् ।
सिमकोट गाउँपालिका-४ बुराउँसेस्थित ठाँडाढुङ्गाको केउकेउ मूलबाट ल्याइएको पानी भण्डारण गर्ने ट्याङ्कीमा नभरिएपछि पानीको अभाव भएको स्थानीय नैनसिंह रावतले जनाए ।
नाम्खा गाउँपालिका-१ मा पर्ने ताङिन खोलाबाट बृहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइए पनि उक्त ठाउँको बीचबीचमा बरफ जमेपछि पानीको सङ्कट देखा पर्न थालेको उनको धारणा छ ।
कृषि विकास कार्यालय हुम्लाले जुम्लाको फार्मबाट तीन हजार ८७६ वटा ओखर तथा स्याउका बिरुवा खरिद गरी ५५० जना किसानलाई अनुदानमा बिरुवा वितरण गरेको छ ।
प्रतिबिरुवा रु २७५ का दरले किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराइएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले जानकारी गराए ।


















