एएफसीमा नेपालले हारेर पनि पायाे ३ अंक

10

काठमाडाैं । एसियन फुटबल महासंघ (एएफसी) ले २०२७ एसियन कप छनोट अन्तर्गतका दुई खेलमा अयोग्य खेलाडी प्रयोग गरेको ठहर गर्दै मलेसिया फुटबल संघ (एफएएम) लाई कारबाही गरेको छ।

एएफसी अनुशासन तथा आचारसंहिता समितिले मंगलबार (मार्च १७) बसेको बैठकपछि निर्णय सुनाउँदै मलेसियाले धारा ५६ उल्लंघन गरेको निष्कर्ष निकालेको हो।

कारबाहीअनुसार मलेसियाले जितेका दुवै खेल अब ०–३ को हारमा परिणत गरिएको छ। २५ मार्च २०२५ मा सुल्तान इब्राहिम स्टेडियममा नेपालविरुद्धको २–० को जित र १० जुन २०२५ मा बुकित जलिल राष्ट्रिय रंगशालामा भियतनामविरुद्धको ४–० को जितको नतिजा उल्टिएको हो।

एएफसीको धारा २५.१ अनुसार ती दुवै नतिजा उल्ट्याउँदै मलेसियालाई प्रत्येक खेलमा ०–३ ले पराजित भएको घोषणा गरिएको हो।

यसका साथै एफएएमलाई ५० हजार अमेरिकी डलर जरिवाना पनि तोकिएको छ। यो ३० दिनभित्र बुझाउनुपर्नेछ। फाकुन्डो गार्सेस, रोड्रिगो होल्गाडो, इमानोल माचुका, जोआओ फिगेइरेडो, गाब्रिएल पाल्मेरो, जोन इराजाबाल र हेक्टर हेभेललगायतका खेलाडी विवादमा मुछिएका थिए।

हारपछि मलेसिया अंकतालिकामा भियतनामभन्दा ६ अंकले पछाडि परेको छ। अब एउटा मात्र खेल बाँकी रहँदा मलेसियाको एसियन कप २०२७ मा छनोट हुने सम्भावना समाप्त भएको छ।

समूह ‘एफ’मा रहेको मलेसियाको ५ खेलबाट ९ अंक मात्र पुगेको छ। भियतनाम भने समान खेलबाट १५ अंक बटुल्दै एसिया कपमा छनोट भएको छ।

लाओस र नेपालको भने समान ३ अंक छ। सबै टोलीले अन्तिम खेल खेल्न बाँकी रहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here