कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन सुरू

7

भक्तपुर । कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन आयोजना सुरू भएको छ। नेपाल बार एशोसिएशन को आयोजनामा हुने उक्त सम्मेलन “महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन गरिनेछ। कार्यक्रम चैत ६ र ७ गतेका लागि तय गरिएको छ।

भक्तपुर जिल्ला अदालत बारको आतिथ्यतामा आयोजना हुने यस सम्मेलनमा देशभरका महिला कानुन व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएकाे छ। राम सुन्दर खाइतु ले सम्मेलनमा वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ता, पूर्व पदाधिकारी तथा बारका सदस्यहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

उनका अनुसार सम्मेलनले महिला अधिकार, समानुपातिक समावेशिता र न्यायपूर्ण समाज निर्माणका विषयमा महत्वपूर्ण बहस तथा निष्कर्ष प्रस्तुत गर्नेछ। साथै, यी विषयमा केन्द्रित घोषणापत्र जारी गर्ने तयारी पनि गरिएको छ।

कार्यक्रमको तयारी पूर्ण भइसकेको जानकारी अनीश सुवाल ले दिएका छन्। उद्घाटनको अवसरमा चैत ६ गते बिहान दत्तात्रय मन्दिर बाट प्रभातफेरी सुरु गरिनेछ, जुन ख्वप बैंक्वेट, नगरकोट रोडसम्म पुगेर औपचारिक उद्घाटनमा परिणत हुनेछ। दोस्रो दिन भने जिल्ला अदालतको सभाहलमा विषय विशेषज्ञहरूको सहभागितामा विभिन्न समसामयिक कानुनी विषयमा छलफल गरिनेछ।

आयोजकले सम्मेलनमा सहभागी हुने सबैलाई अनिवार्य रूपमा कालो कोटसहित मर्यादित पोशाकमा उपस्थित हुन आग्रह गरेको छ। याे सम्मेलनले महिला कानुन व्यवसायीहरूको भूमिका सुदृढ गर्दै समानुपातिक समावेशिता र न्यायमा आधारित समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here