काठमाडौं । अध्यागमन विभागको पत्रपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगका खेलहरु स्थगित गरेको छ ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले लिगको ९७औं खेल र एक सयपछिका सबै खेल अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी क्लबहरुलाई गराएका हुन् ।
योसँगै बिहिबार साँझ ६ बजेका लागि तय गरिएको एपीएफ क्लब र मछिन्द्र एफसीबिचको खेल स्थगित भएकाे थियाे । प्राविधिक कारणवश भनेर उल्लेख गरेपनि अध्यागमन विभागको पत्रपछि स्थगित गरिएको बुझिएको छ ।
अध्यागमन विभागले आज नै पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र काटेको थियो । एन्फाका सीईओ तुलाधरले अध्यागमनको पत्र र एन्फा गेटमा धर्ना भएका कारण लिगका खेल खेलाउने वातावरण नभएकोले स्थगित गरिएको जानकारी दिए । ‘म्याच नम्बर ९७ र १०० देखि १३६ सम्मको सबै खेल स्थगित भएको छ’ उनले भने ।