काठमाडौं । कञ्चनपुर, भीमदत्त नगरपालिका-५ बनगाउँस्थित सडकमा युके ०६ बीएन २८२९ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय मोहन शाहीको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पा, माथागढी गाउँपालिका-७ रहबासस्थित सडकमा झडेवाबाट रहबास चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु.२ ख ४५२५ नम्बरको टिपर शनिबार साँझ दुर्घटना हुँदा टिपरमा सवार ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा टिपर चालक अर्घाखाँची शितगंगा नगरपालिका-४ सिद्दारा घर भएका २६ वर्षीय चिन्ता बहादुर सुनार, टिपरमा सवार अर्घाखाँची शितगंगा नगरपालिका-४ सिद्दारा घर भएका २६ वर्षीय सुनिल बिक, रूपन्देही देबदह नगरपालिका-२ खैरेनी घर भएका २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका-१० पटुवा घर भएका ३३ वर्षीय राजन चिदी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू मध्ये चिन्ता बहादुर, सुनिल बिक र सुनिल नेपालीको एलएमसी अस्पताल प्रभासमा र राजनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
रूपन्देही, मायादेवी गाउँपालिका-५ गुरबनियास्थित सडकमा लु.६२ प ६७ नम्बरको मोटरसाइकललाई लु.१ प १५ नम्बरको बसले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक गुल्मी छात्रकोट गाउँपालिका-४ हर्डिनेटा बस्ने ६० वर्षीय हरि प्रसाद पन्तको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, रंगेली नगरपालिका-७ पोखरी टोलस्थित सडकमा बीआर ३८ एओ १७५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक रंगेली नगरपालिका-५ बस्ने २१ वर्षीय सन्जु मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















