-प्रकाशमान श्रेष्ठ (सक्व)
इतिहासबिद् एवम् संस्कृतबिद्
शंखरापुर (साँखु) नगरलाई विधिवत रुपमा दाहिने शंख आकारले निर्माण गरीसकेर सत्र बर्ष पछी कलिगत सम्बत् १८१८ सालदेखि निरन्तर चलाउँदै आइरहेको श्री श्री श्री उग्रतारा बज्रयोगीनी देवीको जात्रा हो। पौराणिक कालको भद्रकल्पको सत्ययुगमा मणिचुड पर्वत श्रेणीमा ज्वालामुखी बिस्फोट भई मणिशिला नामको दुई ढुंगाहरुको बिचबाट पञ्चरश्मी ज्वालाको रुपमा प्रकट भएकी जगदम्बा आदीशक्ति भवानीको जात्रा परम्परा शान्ति पूर्वक हर्षोउल्लासका साथ मनाउनु हामीहरुको परम कर्तव्य हो । यस जात्राको शुभारंभ राजा शंखदेव र बज्रयोगीनीको पुजारी जोगदेव बज्राचार्यले आजभन्दा तेत्तिस सय वर्ष अगाडी गरीएको थियो ।
विश्व इतिहासमा सर्वोच्च स्थान ओगटेको साँखु बज्रयोगीनी देवीको जात्रामा स्वयम्भू र भगवती सहित अष्टमातृका गणहरु समेत संयुक्त रुपमा जात्रा उत्सव गरिन्छ । यसरी बौद्ध र हिन्दु सम्प्रादायको संयुक्त जात्रा हुने साँखु नगरको उत्तरतिर मणिचुड पर्वत स्थित बज्रयोगिनी (गँ विहार) स्थानमा स्वयम्भू चैत्यलाई दुईतल्ले पगौडा शैलीको मन्दिरले छोपिएको छ । यसरी स्वयम्भू चैत्यलाई मन्दिरले छोपिएको धर्मधातु चैत्य विश्वको दुर्लभ र महत्वपूर्ण चैत्य मानिन्छ । पुरातात्विक दृष्टिकोणले अति नै महत्वपूर्ण बज्रयोगिनी गुँबिहार स्थलमा किराँतकालीन, लिच्छवीकालीन र मल्लकालीन सभ्यताका चिन्हहरु जीवन्त रुपमा देख्न सकिन्छ । यस्तो महत्वपूर्ण ऐतिहासिक स्थल, धार्मिकस्थल, पर्यटकीय स्थलको अध्ययन अनुसन्धान गरी श्री ५ को सरकारले बज्रयोगिनी क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेश गर्नु नितान्त आवश्यक छ । बज्रयोगिनी स्थलमा कहिल्यै ननिभ्ने सत्ययुग देखि बलेको आगो विद्यमान छ ।
बौद्ध सम्प्रदायहरुले बज्रयोगिनी, हिन्दू सम्प्रदायको दशमहाविद्यादेवी, तिब्बती लामाहरुले धोर्ज्येफाम्बू, छ्वासकामिनी, मनकामना आदी इत्यादी सहश्रनामले पुकार गर्ने जगदम्बा भगवती महामाया इश्वरीको जात्राको निमन्त्रणा चैत्र शुक्ल अष्टमी भवानी जन्माष्टमी अर्थात चैत्रदशैको दिनमा सुपारी र दाम राखी विधीपूर्वक गर्नु पर्दछ । त्यसपछि चैत्रशुक्ल पूर्णिमाको दिन विधिवत जात्रागरी साँखुमा भित्राइन्छन् । देवी निमन्त्रणाको दिनदेखि साँखु बासीहरुले जात्रा अवधी भरि निश्चित अनुशासनको दायरा भित्र बसेर कार्य गर्नु पर्ने कडा नियम पालना गर्नु पर्दछ ।
नौवटा संयुक्त श्मशान
साँखु ऐतिहासिक विशेषता भएको प्राचीन नगर हो । यो नगर निर्माण गर्दा सातगाउँहरु, आठ वटा मातृका, आठ वटा टोलहरु, आठ वटा मूल बाटाहरु र आठ वटै मूलढोकाहरु, नौ वटा विहार, नौवटा पूर्वाभीमूखी ढुंगेधारा, नौवटा पवित्र कुण्डल हरु, नौवटा नागराजा स्थापना गरीएका छन् । बाह्र वटा तीर्थहरुले घेरीएर तीनवटा उत्तरबाहिणी सहित नगरको चारैतिर भित्र बाहिर राजकुलो समेत निर्माण गरी विचमा राजधानी समेत स्थापना गरिएको छ । बज्रयोगिनी देवीको प्रितिको लागि स्थापना गरेको साँखु तेत्तीस सय बर्ष नाघिसक्यो। साँखु नगरलाई हजार घरे शहर भन्ने चलन छ । हज्जार घरका जनताहरु बज्रयोगिनी स्थलमा केही घटना दुर्घटना भएमा ठूलो घण्ट बेसमयमा एकोहोरो बजाएको सुनेपछि सक्दो सहयोग गर्न पछि पर्दैनन् । साँखु नगर निर्माणको विवरण बंशावलीमा श्लोक रचनागरी बर्णन गरिएको पाइन्छ ।
याते कलियुगे बर्षे शश्यकाश करी मही ॥
मासेच फाल्गुणे चैव तिथौ गौरी शितै शुभै ॥
सप्तग्राम समूहित्वा शंखपुरो भविष्यति ॥
अर्थ : कलिगत सम्वत् १८०१ फाल्गुण सुद तृतियाका दिनमा सातगाउँ सयुक्त गरी शंखपुर निर्माण गरिनेछ ।
त्यस्तै बज्रयोगिनी देवीको जात्रा सम्बन्धमा बज्रयोगिनी देवीको प्रतिमूर्ति निर्माण गर्न बंशावलीमा भगवानको उपदेश भनी यसरी श्लोक रचना गरिएको पाइन्छ ।
याते कलीयुगे वर्षे वारणैक यशुमही ॥
पौधे शुक्ले दशम्यांच तहीने शुभे संयुते ॥ श्री तारण्या हेमस्य मूर्ति भविष्यति ॥
अर्थ: कलिगत सम्वत् १८१८ पोषशुक्ल दशमी तिथीमा श्री उग्रतारा देवीको शव प्रतिमा तयार
गरिने छ ।
कालान्तरमा शंखपुरलाई शंखरापुर को, साँख भनियो। साँखु नगर विधि पूर्वक निर्माण गर्ने तरकालीन वास्तुविद (इन्जिनियर) जोगदेव बज्राचार्य हुन उहाँ बज्रयोगिनी देवीको पहिलो पूजारी बाचासिद्धी बज्राचार्यका नव पुस्ताका पूजारी भएको कुरा मणिशैल महावदानमा वर्णन गरिएको छ ।
आठवटा टोल भएको साँखमा बज्रयोगिनी देवीको जात्रा वर्षको एकपटक पालैपालो दुईवटा टोलको यौटा देवीको पाहुना घरमा राखी चलाउने परम्परा रहेको छ। जस्तै धुलाटील र साल्खाटोलको धुलाटोलमा पाहुनाघर, चलंखु टोल, दोगाहिटीको चलबुटोल, पाहुनाघर, ईल्ला टोल, पताही टोलको इल्लाटोल पाहुना घर र सुनटोल इपाटोलको सुनटोल पाहुनाघरमा देवी राखी जात्रा चलाइन्छन् ।
जात्रा परम्परा अनुसार बज्रयोगिनी देवीको मूर्ति पाहुनाघर भित्र चारदिन धुंलाटोल, चला टोल र सुनटोलमा पश्चिम फर्काएर राख्ने र ईलाटोलमा दक्षिण फर्काएर राख्ने त्यस्तै पाहुनाघर बाहिर पाटीमा चारदिन मूलजात्रा पछि धुंलाटोल र चलाखु टोलमा दक्षिण र ईल्ला टोलमा पूर्व र सुनटोलमा देवी उत्तर फर्काएर राख्नु पर्दछ । अन्य देवदेवीहरुमा स्वयम्भू चैत्य भगवान, सिहिनी देवी र बसुन्धरा देवी बज्रयोगिनी देवीको दायाँ राखिन्छन् भने व्याधिणी देवी बायाँ राखिन्छ ।
देवीदेवताहरु पाहुनाघर भित्र राखुंजेल सातगाउँका बासिन्दाहरुले धानको विउ छर्ने कार्य गर्नु हुदैन भन्ने मान्यता रहेको छ । जात्रा विशेषमा गुविहार क्षेत्रबाट सर्वप्रथम व्याधिणी देवीको जात्रा गरी साँखु ल्याई मूलजात्रा पनि सोही अनुसार चलाइन्छ । तर साँखुबाट गुँविहार फर्काउदा सिहिणी देवी सर्वप्रथम जात्रा गरी त्यसपछि व्याधिणी, बज्रयोगिनी, चैत्य भराडको सवारी चलाइन्छ । बसुन्धरा देवीको मूलजात्रामा एकपटक मात्र सवारी चलाइ चार दिनमा पुनः देवीघर मै फर्काइन्छ ।
( जात्राका आठदिन )
मूल बज्रयोगिनी देवीको प्रतिमूर्ति सुवर्ण मूर्तिकी एक्जटी बुद्धिमाता उग्रतारादेवी म्हासुख्वामाजु सहित स्वयम्भू चैत्य सिंहमुखी सिहिणी, बाघमुखी व्याधिणी देवीका प्रतिमूर्तिहरु आ-आफ्नो खटमा राखी देशवासी जनता मिलेर बाजागाजाका साथ बोकेर विहार क्षेत्रबाट करीब दुईकिलोमिटर बोकेर साँखु ल्याई पालो पर्ने टोलको पाहुनाघर भित्र चार दिन सम्म राखिन्छ । यो कार्य चैत्र शुक्ल पूर्णिमाको दिनमा सम्पन्न हुन्छ । जसलाई क्वहाँ विज्या अर्थात माईको साँखु सवारी भनिन्छ। माईको साँखु सवारीको दिन बालाजु बाइसधारा मेला पनि लाग्दछ ।
दोश्रो दिनलाई सुन्यका भनिन्छ । जुनदिन साँखु बासिन्दाहरुले घर टोल सरसफाई साथै पूजा र भोजन सारजाम बन्दोबस्त कार्य गरिन्छ ।
जात्राको तेस्रो दिन घरघरमा जात्रा महोत्सवको उपलक्ष्यमा खुसीयाली भोज खाइन्छन् । जसलाई नखः भनिन्छ । चौथो दिन अर्थात बैशाक कृष्ण तृतीया सत्ययुगको प्रादूर्भाव भएको शुभ साइतको दिन भएकोले श्री श्री श्री उग्रतारादेवी बज्रयोगिनी, स्वयम्भू चैत्य, सिंहिणी, व्याक्षिणी र बसुन्धरा देवी सहितको मूलजात्रा हुन्छ ।
गरिएको छ ।
हुकाएर शंखपुर देशका राजा बनाईएका शंखदेवलाई श्री श्री श्री उग्रतारादेवीले वर्षको एकपटक परापूर्वकालमा पिपल रुखको पातबाट बृष्टी भएको मधुरस खुवाएर पालनपोषण गरी दर्शन दिई देश नरेशको कल्याण गर्ने बचन अनुसार मूलजात्रा गरिएको कुरा इतिहासमा उल्लेख मूलजात्राको उपलक्ष्यमा मरीक्सी चढाउने इल्लाटोल शिवपार्वती मन्दिर निर राजाबाट गर्ने कार्य उत्सव हेर्न घईचो लाग्दछ देवीदेवतालाई साँखु मूल सडक घुमाई सकेपछि सम्पूर्ण चराचर प्राणीहरुले दर्शन पूजन गर्न सक्ने गरी पाहुनाघर पाटीको बाहिर राखी साक्षि स्वरुप सत्ययुगको आगो बाल्ने परम्परा चलाइन्छ। सो आगो चार दिन सम्म बालिन्छ । उक्त दिनदेखि भक्तजनहरुले १०८ बत्ति बाल्ने, जीउभरि पाल्चा बत्ती बाल्ने, भजन पूजन, पञ्चर क्षापाठ, चण्डीपाठ, गायत्रीपाठ, दुर्गास प्रसतीपाठ सहित तान्त्रिक, वैद्य झाक्री आदी विद्या प्राप्त व्यक्तित्वहरुले आ-आफ्नो गुरुमन्त्र, तन्त्र र जन्त्र जप्ने कार्य समेत गरिन्छन् । जुनकार्यले गर्दा आफ्नो कार्य सिद्ध हुने विश्वास गरिन्छ।
मूलजात्राको दिनदेखि साँखु बासिन्दाहरुले जात्राको उपलक्ष्यमा आफन्तहरुलाई घरघरमा दिने कार्य थालिन्छ। कृषिकार्यमा धानको बीउ छर्ने कार्यलाई चारदिनदेखिको बन्देज समेत फुकुवा हुन्छ देवीदेवताहरुलाई सरकारी पूजा भनि नयाँ लुगा चढाउने कार्य गरिन्छ । मूलजात्रा भरि गुंविहार माइस्थानमा मन्दिरको मूलढोका खुल्ला राख्नु पर्ने प्रचलन छ ।
जात्राको पाचदिनलाई मू भूज्याः भनिन्छ । कलिगत सम्वत् १८१९ सालमा साँखु नगर भित्र ढिकी राख्न देवीबाट आज्ञा पाएको खुशीयालीमा शंखदेव राजाबाट आफ्ना प्रजागण सहित बज्रयोगिनी देवीको पूजा गरेको स्मरण स्वरुप सरकारी पूजा गरिन्छ सो दिन साल्खा टोलमा जोगी चक्कर चलाइन्छ ।
त्यस्तै छैठौंदिनलाई धुंभूज्याः भनिन्छ । त्यस दिन पनि ढिकी राख्न पाएको खुसीयालीमा महारानी पूजा भनि धूपदीप र फलफुल सहित पाल्चा बत्ती चढाउदै बज्रयोगिनी देवीको पूजा अर्चना गरिन्छ । सो कार्यको लागि गुठी संस्थानबाट सरकारी पूजा खर्च छुट्याएको हुन्छ । जात्राको सातदिनलाई बीया भनिन्छ। उक्तदिन रातभरि जगदम्बा इश्वरी श्री श्री श्री उग्रतारा बज्रयोगिनी देवी सम्पूर्ण चराचरका आमा भएकीले त्यस्ता जगत जननी देवीको जात्राको उपलक्ष्यमा भूतप्रेत, पिशाच आदी निशाचर हरुलाई समेत भोज खुवाउने भनि औसानी छर्ने चलन छ । त्यसरी मध्यरातमा खुवाउने भोजबाट बंचित भई भोकै पर्ला भनि सातौ दिनको जात्रामा साँखु बासिन्दाहरु साँखु छाडेर अन्यत्र बास बस्न जान हुन्दैन भन्ने मान्यता छ। कथंकदाचित कोहि साँखुबासीह उक्तदिन अन्यत्र गएमा उसंगै बसेका भूतप्रेत पिशाच जस्ता अदृष्य प्राणीहरु पनि संगै जाने हुनाले तान्त्रिक पद्धतीबाट खुवाउने जात्राको भोजबाट बञ्चित भई त्यसले अनिष्ट गर्ला भन्ने मान्यताले उक्त बौयाका दिन साँखु आउन हुने जान नहुने भन्ने चलन चलेको पाइन्छ ।
आठौदिनलाई थहाँविज्याः भनिन्छ । उक्तदिन धरतीबाट उब्जेको अन्न गेडागुडी, फलफुल पाएजति चढाएर धरतीमाता बसुन्धरा स्वरुपकी उग्रतारा बज्रयोगिनी देवीलाई क्षमा पूजा गरी पुनः खटमा राखी सम्पूर्ण देवीदेवताहरुलाई जात्रागरी गुविहारमा शुभसाइतमा लगिन्छन् । उक्तदिन देवीको सम्मूख बज्राचार्यका मूल थकालीले अन्य थकाली सहित भै पञ्चबुद्ध युक्त पगरी लगाई शाश्त्रोक्त विधिपूर्वक होम गरी क्षमा पूजा सम्पन्न गर्दछन् ।
(पञ्चबुद्ध)
बज्रयोगिनी देवीका पूजारीहरु बज्राचार्य गुरु हुन् । बज्रयान तन्त्र अनुष्ठान कार्यमा पारंगत भएका बज्राचार्य हुन योग्य हुन्छन्। बज्रयोगिनी देवी र स्वयम्भू चैत्यको खटमा पूजारी भई बस्न बज्राचार्यहरुले पञ्चबुद्धको प्रतिमा भएको श्रीपेच लगाउनु अनिवार्य छ । उक्त श्रीपेचलाई मुखः भनिन्छ र मुखः श्रीपेचमा सेतो बेरोचन आदीबुद्ध हरियो निलो अक्ष्योभ्य आदीबुद्ध – रातो अमिताभ आदीबुद्ध – निलो कालो, अमोघसिद्धि आदी बुद्ध भनेर चिनिन्छ । यी आदी बुद्धहरु पंचतत्वका प्रतिक हुन् । पहेँलो वर्णको रत्न सम्भव बुद्ध हो ।
(जोगी चक्कर)
मूलजात्रा र त्यसको भोलिपल्टको मू भूम्या का दुईदिन साँखुको साल्खाटोलमा जोगीचक्कर पूजा गरिन्छन् । यसलाई तान्त्रिक भाषामा बलिपूजा भनिन्छ । पंचवलीको रुपमा राँगा, बोका हाँस काटेर अन्य भातबलि, जॉडबलि र रगतबलि पूजा गरी दशदिसा छर्ने काम कानफट्टा जोगीहरुले गर्दछन् । यस कार्यले साँखु र वरपरका सातगाउँका आदि वासीहरुलाई बेपत्ता भएका, अकाल मृत्यु भएका अज्ञात आत्माहरुले दुःख नदिउन भन्ने उद्देश्य राखि जोगीचक्कर चलाईएको विश्वास गरिन्छ । त्यस कार्यको खर्च गुठी संस्थानबाट व्यहोर्ने गर्दछ । देवीजात्राको उपलक्ष्यमा अदृश्य प्राणीहरुलाई भोज ख्वाएको विश्वास जोगीचक्कर पूजा हो।
साँखुको बज्रयोगिनी देवीको जात्राको लागि सम्पूर्ण तयारी गर्न खट बाँध्ने गुठी, खट बनाउने गुठी, फूल चढाउने गुठी, गहना हेरविचार गर्ने गुठी, पुजारी खर्च गुठी, सत्तलपाटी मर्मत, बाजा बजाउने कुस्ले खान्गी गुठी, देवी नाच गुठी, पूजा होम, देवीलाई नयाँ लुगाकपडा चढाउने आदी इत्यादी कार्यको लागि व्यक्तिगत, सामुहिक र सरकारी श्रोत गुठीहरुको व्यवस्था गरेको छ ।
(चोखोपानी)
आठदिनको जाशमा देवीदेवताहरुलाई स्नान गराउन ब्रम्हमुहूर्त समयमा साँखु पूर्व शालीनदीको टक्कीदहबाट चोखोपानी बाजागाजाका साथ प्रत्येक दिन बज्राचार्य पूजारी बर्गहरुबाट ल्याउनु पर्ने नियम छ । साँखु नगरलाई बारहतीर्थ र नौवटा कुण्डलले संयुक्त गरेको महानगर हो । बज्रयोगिनीको बाह्रबर्षे कलेवर फेर्ने पवित्र कार्यलाई १२ तिर्थ र नौ कुण्डलको पानी कलशमा राखी देवीको जीवन्यास गर्ने परम्परा छ । त्यसकारण शालीनदीको टक्की दहमा टक्कीराज भैरव कुण्ड रहेको विश्वास गरिन्छ । मूलजात्राको विहान मनमत्ता नदी र शालीनदीको दोभान खवकुं तीर्थमा धुमधामले मेला लाग्दछ ।
(बाजागाजा)
साँखुको परम्परागत बाजागाजाहरु चैत्र दशैं देखि जात्रा अवधि भरि देवी कार्यमा प्रयोग हुन्छन्। परापूर्वकाल देखि अप्तमंगल धुन निकाल्ने बाजा भनि नेक (सिंग) ती चकती, मायली, बासुरी, बय्चा, पोंगा र पंय्ता बाजाहरु बजाउने प्रचलन रहेकोमा हाल माय्ली, बाँसुरी र बय्चा मात्र बजाउने गरेका छन् । ठूलो र कर्कश स्वर निकाल्ने, काहा बाजा लोप भैसकेका छन् । बजाउने बाजामा नाखिं, धाः, धिमय्, दमाहाखिं, पछिमा सहित छुस्या भूस्या तिंछु झयाली प्रयोग भैरहेका छन् । दाफा भजनमा धातुराग श्री राग जस्ता मौसमका रसयुक्त देवी महिमाका परम्परागत गीत गाउने प्रचलन छन् । कतिपय गीतका बोलले देवी भवानीको विभिन्न रुप र गुण वर्णन र रचनाकार सहित रचनाको समय समेत झल्काइएका हुन्छन् ।
(मतया दुईचार चिलाखबती)
देवीजात्रा समयमा बत्ती चढाउने परम्परा अनुसार बाजागाजाका साथ पञ्चकन्या हरुबाट देवी पूजा गर्न लगाउने कार्य गर्दछ । त्यस्तै पूजाथाली समाउन लगाएर, टाउकोमा ठूलो फेत्ता लगाएर लबेदार सुरुवाल र पटूका सहित पुरुष पूजारी सहित भाडगाउने हाकुपतासी गुन्यूचोली र पटुका, ओढ्ने जस्ता आदीकालका पहिरण लगाई कलश बोकेर एकपाइतला बराबरको पाइला चालेर राजवाहक धरका दम्पतीहरुले पूजा गर्ने दुईचा पूजाको प्रचलन बन्द भैसक्यो । यस्तो पौराणिक महत्व भएका ऐतिहासिक परम्परा लोप हुनबाट बचाउन सम्बन्धित वर्ग सचेत हुन अत्यावश्यक भैसकेको छ ।
भगवती माईको जात्राको उपलक्ष्यमा हजार घरबाट हजार वटै चिलाखबत्ती बाल्ने प्रचलन थियो । हाल गुठीयारहरु एक दुई वटा नगण्य रूपमा मात्र चिलाखबत्ती बाल्ने गरेको पाइन्छ । चिलाख भनेको कलात्मक पालावति जस्तो सुन, चाँदी, तामा, पित्तल र फलाम आदी विभिन्न धातुका बनाईएका हुन्छन् जस्को माथिल्लो सुईरोमा बाटुलो चक्का धागोबत्ती राखी तेलहानी बाल्ने गरिन्छ । तल काठको विंड राखी समाएर हिंडन मिल्ने गरी बनाईएको हुन्छ । हालसम्म इन्द्रनारायण माइला (राजप्रतिनिधि) भिक्षुले चिलाख बाल्ने परम्परा बचाईराखेको देख्न पाईन्छ ।
साँखु बज्रयोगिनी देवी नेपालको शिरोमणी देवीको रुपमा चिनिन्छ । नेपालको नामाकरण गरिएकी मणिशैल महारानीको जात्रा परम्परा चलाउन देशको राजा अघि अघि सवारी हुनुपर्ने प्रचलन छ। परापूर्वकालमा राजाको प्रत्यक्ष सवारी भई राजाज्ञाबाट सम्पूर्ण कार्य रेखदेख हुन्थ्यो। पछि नेपाल एकीकरणको समयमा काठमाडौं उपत्यका नाकाबन्दीमा परेको कारण जात्रा समयमा कान्तिपुरका राजा जयप्रकाश मल्ल साँखु सवारी हुन नसकेकोले राजप्रतिनिधि स्वरूप “राजखड्ग” पठाई जात्रा सञ्चालन गरेको थियो । त्यस बेलादेखि साँखुमा राजा सवारी चलाउनुको बदला राजखड्ग सवारी चलाई राजखद्ग समाउने व्यक्तिको आदेशबाट जात्राकार्य सञ्चालनको चलन चल्यो । जात्राको चारदिन अगाडी हनुमानढोका राजदरवारबाट राजखड्ग साँबु सवारी चलाई करीब जात्राको सम्पूर्ण कार्य सम्पन्न गरी सकेपछि यथास्थानमा राजखङ्ग फिर्ता लगिन्छ ।
(बरेक्वब्वाई र देवीदेवता खेलाउने)
साँखुको उत्तर पश्चिमको देवी ढोकानिर खट पुगेपछि त्यसमा बसेका पूजारीहरु हाम्फाल्ने कार्यलाई बरेक्यव्याईगु भनिन्छ। त्यस्तै भगवती उग्रतारा बज्रयोगिनी देवीको जात्राको आठौ दिनपछि माइको स्थान फर्काउँदा बाटोमा कोलागाल भन्ने गहिरो स्थानमा देवीदेवताको घट अगाडि पछाडि गरी खेलाउने प्रचलन छ। यसरी देवी खट खेलाउँदा शहरी क्षेत्र र जंगल क्षेत्रको निश्चित चिन्ह ननाघ्ने गरी खेलाइन्छ । निश्चित चिन्ह नाघेपछि खेलाउन नहुने परम्परा रहेको पाइन्छ । यसरी देवीदेवताको खट बोकी खेलाउनुको अर्थ जात्रा महोत्सवको अन्तिम मनोरञ्जन गर्नु हो ।
(विचार पूजा:)
जगदम्बा भगवती भगवान सहित सिहिणि व्यांघ्रिणी देवीहरु यथास्थानमा विराजमान गराइसकेपछि विचार पूजा: भनी साँखु सातगाउँका आदीबासीहरुले देवीदेवताको हेरविचार रेखदेख गर्न विचार पूजा: जानुपर्ने प्रचलन छ। यो कार्य जात्राको दशौं दिनदेखि शुरु हुन्छ । सरकारी पूजा दुईदिन सम्म राजखड्ग सहित माइकोस्थान बज्रयोगिनी मन्दिर पुयाउनु पर्दछ । त्यस अवसरमा देवीदेवताहरुलाई नयाँ लुगा सहित पोडपचारले पूजा अर्चना गरी देशवारी जनतालाई फूल प्रसाद बाँड्नु पर्दछ। सरकारी पूजा बज्रयोगिनी देवीको क्षेत्रपाल महांकाल भैरवलाई सर्व प्रथम बोका सहितको बली दिएर पूजा अर्चना गर्नु पर्दछ भने बज्रयोगिनी देवीदेवताहरुलाई पंचामृत फूलप्रसादले पूजा अर्चना गरिन्छ ।
जात्रा अवधि भरिको लागि देशवासीहरुलाई जात्राको अवसरमा चैत्रदशै देखि लागू हुने गरी बज्रयोगिनी माईको निमन्त्रण पूजा पछि साँझपख साँखु नगरभित्र राजाको आज्ञा भनि धुमधामले झ्याली पिट्ने प्रचलन छ । झ्याली पिट्ने बेलामा निम्नानुसार राजाज्ञा घोषणा गर्दछ ।
१) छाला जुत्ता लगाउन पाउदैन। २) कपडाको छाता ओड्न पाउदैन । ३) हात्ती घोडा चढन पाउदैन । ४) साहुले आसामी पक्रन पाउदैन। ५) भै झगडा गर्न पाउदैन । ६) नयाँ घर बनाउन पाउदैन । ७) पुरानो घर भत्काउन पाउदैन । ८) घर बनाई रहेको भए खट हाली डोरी कस्न पाइदैन । ९) डोली चढन पाउदैन। १०) देवी जात्रा कार्यमा “नाई” भन्न पाउदैन आदी ।



















