‘नेक्स्ट जेन बुट क्याम्प’ सुरु

7

काठमाडौं । अञ्जन बिष्ट ट्रेनिङ सेन्टरले ‘नेक्स्ट जेन बुट क्याम्प’ सुरु गरेको छ।

युवा फुटबल खेलाडीको प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले सञ्चालित क्याम्पको पहिलो दिन आज ५२ जना बालबालिका सहभागी भए। केहि विद्यालयको परीक्षा जारी रहेको सहभागी सङ्ख्या अझै बढ्ने अञ्जन विष्ट ट्रेनिङ सेन्टरका सिईओ अञ्जनले जानकारी गराए।

उमेर सुमुह र फुटबल खेल्ने क्षमताको आधारमा समुह बनाएर प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए। फुटबलको स्किल र आधारभुत सीपको लागि यो प्रशिक्षणमा आएको सहभागीहरूले  जनाए ।

१० दिन सम्म सञ्चालन हुने यो क्याम्पमा एएफसी र फिफा लाइसेन्स प्राप्त प्रशिक्षकहरू सनोज श्रेष्ठ, प्रविन श्रेष्ठ, निशान भक्त श्रेष्ठ, रुपेश केसी, अनु लामा, विदेशी प्रशिक्षक एरिक बोल्वे म्पुटु र भोलिन्टर प्रशिक्षक फ्लोरेन्ट कोराले प्रशिक्षण दिरहेका छन्।

पहिलो दिन राष्ट्रिय टोलीका स्ट्राइकर अञ्जन पनि खेलाडीसँग मैदानमा थिए। उनले खेलाडीसँग अन्तरक्रिया गर्देै फुटबल पनि सिकाइरहेका थिए। लगनखेल स्थित बुद्धि विकास खेल मैदानमा सुरु भएको क्याम्पमा ८ देखि १६ वर्ष उमेर समुहका खेलाडी सहभागी भएका छन्।

खेलसँगै अनुशासन लगायतको फुटबलको महत्वपूर्ण पक्षमा पनि सहभागी खेलाडीहरूलाई जानकारी दिइनेछ। प्रशिक्षण अवधिभर राष्ट्रिय खेलाडीसँग अन्तरक्रिया कार्यक्रम पनि राखिनेछ। क्याम्पको अन्त्यमा अभ्यास खेलसँगै फाइनल खेलसमेत आयोजना गरिने बताइएको छ।

क्याम्पमा सहभागी हुन ८ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ। जसमा जर्सी सहित क्याम्प अवधिभर चाहिने सबै सामाग्री आयोजकले उपलब्ध गराएको छ । ‘नेक्स्ट जेन बुट क्याम्प’ को प्रमुख प्रायोजक आर्श ग्रुप रहेको छ। यस्तै सह प्रायोजकमा ३६१, पर्फर्मेन्स पार्टनर नाडा, ट्राभल पार्टनर एक्सप्लोर ट्राभल एण्ड टुर र पोशाक पार्टनरमा ए एन्ड एस पोशाक रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here