काठमाडौं । सरकारबाट विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्ने घोषणाको बीचमा अमेरिकी राजदूतावासले युथ काउन्सिलमा भर्ना खुलेको सूचना सार्वजनिक गरेकाे छ । यससङ्गै राजनीतिक,सामाजिक र कूटनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ ।
स्वदेशी विद्यार्थी र मजदुर संगठनमाथि नियन्त्रण गर्न सरकार अग्रसर भएको बेला विदेशी नियोगले हाकाहाकी युवा लक्षित संरचना खडा गर्न खोजेको भन्दै कतिपयले प्रश्न उठाएका छन् । भदौको जेन जी प्रदर्शन र विध्वंशदेखि अमेरिकी युथ काउन्सिल नेपाली समाजमा निकै चर्चित छ । सोही कारण सामाजिक सञ्जालदेखि बौद्धिक वृत्तसम्मले अहिलेको सन्दर्भलाई ‘सहकार्य हो कि प्रभाव विस्तार ?’ भनेर सोधेका छन् ।
अमेरिकी दूतावासले भने यस्ता कार्यक्रमलाई नेतृत्व विकास,सामाजिक सहभागिता र क्षमता अभिवृद्धिसँग जोडेर प्रचार गर्दै आएको छ । मुलुकको स्पष्ट नीति अभाव र पारदर्शिताबिनाको यस्ता गतिविधिले दीर्घकालमा नेपाली समाजमा कस्तो असर पार्छ भन्नेबारे सम्बन्धित र जिम्मेवार पक्ष मौन देखिन्छ ।


















