हिरा प्रधान
जीवन त अचम्मको खेल रहेछ,
हाँस्नेले पनि भित्रभित्रै रोइरहेछ।
अनुहारमा मुस्कानको रंग पोतेर,
मनभित्र पीडाको भारी बोइरहेछ।
सत्य बोल्ने मूर्ख कहलिन्छ,
झुट बोल्ने चतुर कहलिन्छ।
इमान बेच्ने सफल ठहरिन्छ,
सिद्धान्त बोकेर हिँड्ने हारिरहन्छ।
दर्पणले अनुहार मात्र देखाउँछ,
चरित्र देखाउने आँखा कहाँ छ?
मानिसको मूल्य पैसाले नापिन्छ,
मानवताले ठाउँ पाउने ठाउँ कहाँ छ?
समयको घडी त घुमिरहेकै छ,
मान्छेचाहिँ स्वार्थमै अल्झिरहेकै छ।
जीवनको रहस्य कसैले बुझेन,
सबै आफ्नै कथामा हराइरहेकै छ।
अन्त्यमा खाली हात जानु छ,
तर दौड भने कहिल्यै सकिँदैन।
सायद यही नै जीवनको व्यङ्ग्य हो—
सबैथोक आफ्नो ठान्छौँ,
तर अन्त्यमा केही पनि आफ्नै हुँदैन।


















