नवलपुर । मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण गरेको छ । नेपालको मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष पूरा नभई विवाह गर्न बन्देज गर्दै कसैले यस्तो कार्य गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपियाँ जरिवाना हुने प्रावधान रहेको छ ।
उमेर नपुग्दै बिहे गर्दा शारीरिक तथा मानसिक समस्या आउँछन् भनेर हाल विद्यालयस्तरीय पाठ्यक्रममा समेत शिक्षा दिइन्छ । यद्यपि विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने र गर्भपतन गराउने किशोरीको संख्या नवलपुर जिल्लामा घटेको छैन ।
गत आर्थिक वर्ष २०८२/०८३ मा नवलपुरमा चार हजार ४६३ जना गर्भवती हुँदा पाँच सय जना २० वर्ष मुनिका किशोरी रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै एक हजार २१८ जना सुत्केरी हुँदा एक हजार ४२३ जनाले गर्भपतन गराएका छन् । सुत्केरी हुनेभन्दा गर्भपतन गराउनेको संख्या २०५ ले बढी हो । गर्भपतन गराउनेमध्ये ७८ जना २० वर्ष मुनिका किशोरी रहेका कार्यालय प्रमुख डा केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
यसरी उमेर नपुगी सुत्केरी हुनेमा सबैभन्दा धेरै सदरमुकामसमेत रहेको कावासोतीमा ७.९५ प्रतिशत, हुप्सेकोट गाउँपालिकामा ६.५४ प्रतिशत, बुलिङटारमा ६.२५ प्रतिशत र विनयी त्रिवेणी गाउँपालिकामा ४.४४ प्रतिशत रहेको छ ।
गर्भपतन गराउनेमध्ये सबैभन्दा बढी गैँडाकोट नगरपालिकाम रहेको देखिएको छ । जहाँ ५८ जना सुत्केरी हुँदा चार सय ५८ जनाले गर्भपतन गराएका छन् भने कावसोतीमा ६ सय ३२ जना सुस्तेकरी हुँदा ४०५ जनाले गर्भपतन गराएको कार्यालयको तथ्यांकले देखाएको छ । त्यस्तै देवचुलीमा एक सय ७८, हुप्सेकोटमा एक सय ४१, विनयी त्रिवेणीमा एक सय, मध्यविन्दुमा ९७, बौदिकालीमा २५ र र बुलिङटारमा १० जनाले गर्भपतन सेवा लिएको कार्यालयको तथ्यांकले देखाएको छ ।
यो सरकारी र प्रश्रुती सेवा लिन अनुमति लिएका स्वास्थ्य संस्थाको मात्र तथ्यांक हो । त्यसबाहेक जिल्लाका अन्य अस्पताल र जिल्ला बाहिर प्रश्रुती सेवा लिनेको तथ्यांक अझै बढी हुन सक्ने कार्यालयले जनाएको छ । बालबिवाह रोक्नका लागि स्थानीय तहबाट थुप्रै प्रयास भइरहेको भए पनि प्रयाप्त नभएको कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र मल्लले बताउनुभयो ।
स्त्री रोग विशेषज्ञका अनुसार २० वर्ष नपुग्दै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पुग्ने गर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीका उपनिर्देशक डा सन्देश पौडेलका अनुसार सुत्केरी हुनै समस्या हुने, सुत्केरी भइसकेपछि पनि पाठेघर खस्ने, पिसाब चुहिरहने र बच्चा ख्याउटे हुनेजस्ता समस्या निम्तिने गर्छ ।
यसैगरी पाठेघर वयस्क नभई जन्मिएका बच्चालाई श्वास फेर्न गाह्रो हुने, तापक्रम सन्तुलित बनाउन कठिन हुनेदेखि रगतमा सङ्क्रमण हुनेजस्ता समस्या पनि देखिने उहाँको भनाइ छ ।
सानो उमेरमा जन्मिएका बच्चा कम तौलको हुने, बच्चा जन्माउँदा आमामा दुखाई सहन सक्ने क्षमता कम हुने हुँदा प्राकृतिक रुपमा सुत्केरी हुन नसक्ने भएकाले शल्यक्रिया गर्नुपर्ने अवस्था आउने स्वास्थ्यकर्मीको बुझाइ छ । ‘‘उमेर कम भएकाले शल्यक्रियाका लागि उनीहरु मानसिक र शारिरीक रुपमा पनि तयार हुँदैनन्, त्यस्तो अवस्थामा थुप्रै समस्याको जोखिम हुन्छ,’’ पौडेलले भन्नुभयो ।
उमेर नपुगेका किशोरीबाट गर्भपतन गराउँदा बच्चा नरहने भएकाले आमाको स्वास्थ्यमा असर पुग्ने गर्छ । केही किशोरीको मात्र सुरक्षित गर्भपतन सेवामा पहुँच रहेकाले गर्भपतन नहुने अवस्थामा किशोरीहरू मन नलागी–नलागी बच्चा जन्माउने स्थितिमा पुग्ने गरेको उहाँको बुझाइ छ ।
सानो उमेरमा गर्भवती हुने समस्या कम गर्न सरकारले विद्यालय तहबाट नै यौन शिक्षा दिने, स्कुल नर्सको सहयोगमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने, किशोर–किशोरीमैत्री सूचना केन्द्रबाट जनचेतना फैलाउने काम गर्नुपर्ने उपनिर्देशक पौडेलले बताउनुभयो। ग्रामीण क्षेत्रमा जनचेतनाको थप अभाव रहेको चिकित्सकहरुको बुझाइ छ ।
परिवार नियोजनका साधनको प्रयोग गरियो भने आमाको मृत्युदर ३० प्रतिशतले र बच्चाको मृत्युदर १० प्रतिशतले घटाउन सकिने परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य शाखाले जनाएको छ ।
पछिल्लो समय दुर्गम क्षेत्रसम्म विस्तार भएको इन्टरनेटको पहुँच र सामाजिक सञ्जालको प्रयोगले किशोरी अवस्थामै विवाह गर्नेको संख्या बढेको प्रादेशीक जनस्वास्थ्य कार्यालयका प्रमुख डा चापागाईले बताउनुभयो ।
योसँगै प्रजनन स्वास्थ्य र परिवार नियोजनको प्रयोगका विषयमा गलत भ्रम, अन्धविश्वास आदिले पनि कलिलो उमेरमा गर्भवती हुनेको संख्या नघटेको प्रसूति तथा स्त्रीरोग अस्पतालका उपनिर्देशक पौडेलले जनाउनुभयो ।














