संकलन गरिएका ३९३ शव अस्थायी शवगृहमा

15

काठमाडौं । भोटेकोशी–त्रिशूली–नारायणी नदीमा आएको बाढीपछि विभिन्न जिल्लाबाट संकलन गरिएका ३९३ शव विभिन्न अस्पताल तथा अस्थायी शवगृहमा राखिएको छ। तीमध्ये अधिकांश शवको पहिचान हुन बाँकी रहेको छ।

उपलब्ध विवरणअनुसार चितवनमा मात्रै १३७ शव राखिएका छन्। जिल्ला अस्पताल भरतपुर तथा पुरानो मेडिकल कलेजमा ११५ र औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानको भवनमा २२ शव छन्।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा १०६ शव छन्। गण्डकी अस्पताल पोखरामा ४१, गैंडाकोट नगर अस्पतालमा ३५, मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा २१, मध्यविन्दु नगर अस्पताल चोरमारामा ५ तथा पाल्पाका विभिन्न अस्पतालमा ८ शव राखिएका छन्।

गोरखामा ३२ शव छन्। प्रदेश अस्पताल गोरखामा २१ र गण्डकी अस्पताल पोखरामा ११ शव राखिएको छ।

तनहुँका २८ शवमध्ये मणिपाल अस्पताल पोखरामा ९ र गण्डकी अस्पतालमा १९ शव छन्।

त्यस्तै धादिङका ३३ शव विभिन्न अस्पतालमा छन्। पोखरामा २७ तथा शिक्षण अस्पताल काठमाडौंमा ६ शव राखिएको विवरण छ। नुवाकोटका २३ शव शिक्षण अस्पताल काठमाडौंमा छन्।

पश्चिम नवलपरासीमा २१ शव विभिन्न अस्पतालमा राखिएका छन्। पृथ्वीचन्द्र अस्पताल परासीमा ७, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ११ र भीम अस्पताल भैरहवामा ३ शव छन्।

कपिलवस्तुमा ६ शव पिपरा अस्पतालमा राखिएका छन् भने रसुवामा ३ शव जिल्ला अस्पताल धुन्चेमा छन्।

यसरी उपलब्ध विवरणअनुसार विभिन्न अस्पताल तथा अस्थायी शवगृहमा कुल ३९३ शव राखिएका छन्। सबै शवको पहिचान हुन बाँकी रहेकाले मृतकको वास्तविक जिल्लागत विवरण भने पहिचानपछि मात्रै स्पष्ट हुने देखिएको छ।

बाढीले त्रिशूली हुँदै नारायणी नदीसम्म ठूलो क्षेत्र प्रभावित पारेपछि नदी किनार तथा विभिन्न स्थानबाट शव र मानव अंग भेटिने क्रम जारी छ। संकलन गरिएका शवलाई सम्बन्धित अस्पताल तथा शवगृहमा ल्याएर पहिचानको प्रक्रिया अघि बढाइएको छ।

पहिचानका लागि शवको फोटो, औँठाछाप तथा शरीरमा रहेका चिन्ह र अन्य विवरण अभिलेख गर्ने काम भइरहेको छ। पहिचान भएपछि सम्बन्धित परिवारलाई शव बुझाउने र आवश्यक व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइनेछ।

WhatsApp-Image-2026-08-29-at-08.49.36-1787973252.jpeg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here