काठमाडौं । सन् १९९३ मा नर्सिङ होमका रुपमा स्थापित एउटा स्वास्थ्य उपचार केन्द्र आज नर्भिक इन्टरनेशनल हस्पिटलका नाममा ख्याति प्राप्त गर्दै यसले आफ्नो २४औं वार्षिकोत्सव समारोह विविध कार्यक्रमका साथ भव्यपूर्वक सम्पन्न गरेको छ । नर्भिकको वार्षिकोत्सव हरेक वर्ष वैशाख १ गतेका दिन पर्ने भएता पनि यस वर्ष विविध कारणवश यसलाई वैशाख ९ गते मनाइयो । वार्षिकोत्सव समारोह उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । समुद्घाटन पूर्व नर्भिक इन्टरनेशनल हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले आफ्नो स्वागत मन्तव्य राख्दै निकट भविष्यमै सम्पन्न गरिने हस्पिटलको थप पूर्वाधार विकास र प्राविधिक फड्कोबारे संक्षिप्त जानकारी गराउनुभयो ।
समारोहमा भारतको फोर्टिस् ग्रुप अफ हस्पिटल्स् (जसअन्तर्गत ४५ वटा हस्पिटल रहेका र १० हजार शैय्या रहेका छन्)सँगको नर्भिकको सम्बन्धनबारे फोर्टिस्का वरिष्ठ उपाध्यक्ष सुनिल कपुरले प्रकाश पार्नुभएको थियो । हालसम्म नेपाली बिरामीहरू भारत गई उपचार गराइराखेको परिप्रेक्ष्यमा अब उप्रान्त जटिल प्रकृतिका नेपाली बिरामीहरूमध्ये ९९ प्रतिशतको उपचार फोर्टिस्को अनलाइन प्राविधिक सल्लाहमा नर्भिक हस्पिटलमै गर्न सकिने उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रमका विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.गीताभक्त जोशीले सरकारको स्वास्थ्य क्षेत्रको मिलेनियम टार्गेट पूरा गर्न नर्भिकलगायतका निजी क्षेत्रका हस्पिटलहरूले गरेको योगदानबारे खुलेर प्रशंसा गर्नुभयो । आफ्नो भनाइ राख्नुपूर्व प्रा.जोशीले नर्भिकमा दीर्घ सेवा प्रदान गर्ने (१० वर्ष अवधि सेवा गरिसकेका) कर्मचारीहरू, वार्षिकोत्सवका अवसरमा आयोजित विविध खेलकूद प्रतियोगिताका सहभागीहरू, उत्कृष्ट विभागीय प्रमुखहरू एवम् वर्षका उत्कृष्ट कर्मचारीहरूलाई सम्मान र पुरस्कृत गर्नुभएको थियो ।
समारोहलाई सम्बोधन गर्दै हस्पिटलका अध्यक्ष तथा समारोहका सभापति बसन्तकुमार चौधरीले हस्पिटलले आगामी ५ वर्षका लागि तय गरेका महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्नुभयो । दुई भागमा विभाजित रहेको ‘भिजन २०२२’ नामक उक्त योजनाअन्तर्गत हालको हस्पिटलको शैय्या २ सय पु¥याउने र उक्त २ सय शैय्यामध्ये अति सघन उपचार शैय्या ५०, प्राइभेट शैय्या ६०, जनरल शैय्या ९०, आकस्मिक उपचार शैय्या २० पु¥याउने र हालको अति विशिष्ट अन्तर्राष्ट्रियस्तरको तीन मोडुलर अपरेटिङ सुइट्समा अरु ५ अति विशिष्ट मोडुलर अपरेटिङ सुइट्स थप्दै मोडुलर अपरेटिङ सुइट्सको संख्या ८ पु¥याउने योजना रहेको जनाइएको छ ।
तय गरिएको नयाँ योजनाअनुसार नर्भिकले हालका चिकित्सा विभागहरूमध्ये केहीलाई अति विशिष्ट ९क्गउभच क्उभअष्बष्शिभम० विभागमा परिणत गर्नेछ । ती चिकित्सा विभागहरूमध्ये हृदयरोग केन्द्र, पाचन प्रणाली उपचार केन्द्र, अति विशिष्ट मातृ तथा शिशु उपचार केन्द्र, आई.भी.एफ. केन्द्र, श्वास–प्रश्वास तथा अति जटिलपूर्ण रोग उपचार केन्द्र र हेलिप्याड सुविधासहितको ट्रमासम्बन्धी उपचार केन्द्र रहेका छन् ।
निर्माणपश्चात् हालको पूर्वाधारसहित हस्पिटलले १ लाख ३२ हजार वर्गफिट ओगट्नेछ भने रू. १ अर्ब ५० करोड थप लगानी गर्नेछ । यो लगानीअन्तर्गत अत्याधुनिक सुविधासम्पन्न १ सय शैय्यायुक्त अर्बुदरोग उपचार केन्द्र र त्यत्ति नै शैय्यायुक्त अति विशिष्ट मातृशिशु उपचार केन्द्र पनि थपिनेछन् । अर्बुद रोग उपचार केन्द्र छुट्टै स्थानमा स्थापित हुनेछ भने मातृशिशु उपचार केन्द्र थापाथलीमै थपिने जनाइएको छ । मातृ शिशु उपचार केन्द्र पूर्णतया महिला विशेषज्ञहरू मात्रैको व्यवस्थापन र रेखदेखमा सञ्चालित हुनेछ ।
समारोहमा अध्यक्ष चौधरीले नेपाललाई उत्कृष्ट स्वास्थ्य सेवा गन्तव्य बनाउने प्रण गर्दै हस्पिटलका विविध उपलब्धिहरू, कोसेढुंगाहरू र निकट भविष्यमा गरिने अन्य सुधारका कार्यक्रममाथि पनि प्रकाश पार्नुभयो । कार्यक्रम नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहको धन्यवाद ज्ञापनबाट समापन गरिएको थियो ।