जीवन भोगाइको क्रममा ठूलो समस्या भोगेर कहिल्यै हतास नभएको सफल जोडी हो, राजनप्रसाद श्रेष्ठ र रविना श्रेष्ठको । २०४२ सालमा विवाह बन्धनमा बाँधिएको यो जोडीको एक छोरा र छोरी छन् । विगतमा विभिन्न पेशामा आबद्ध हुँदै हाल यो जोडी आफ्नै पश्मिना व्यवसाय सञ्चालन गरिरहेको छ । यो जोडीको नेप्लिज पश्मिना प्रालि सञ्चालनमा छ, जसमा दुवैको सहकार्यले सफलता पनि पाइरहेको छ ।
पश्चिना जस्तै न्यानो र मायालु यो जोडीको जन्मस्थान भने पाटन हो । पाटनका राजनले जब साथीमार्फत रविनालाई देखे, तब एकै नजरमा मनपराइहाले । त्यसपछि रविनालाई माग्ने प्रस्ताव उनको घरसम्म पु¥याए । तर, रविनाले पहिलोपटक नै स्वीकृति जनाइनन् । दुवै कमर्स विषयमा ग्राजुएट भएको यो जोडीलाई विवाह बन्धनमा केही समय लाग्यो । रविना भन्छिन्, ‘उहाँको प्रस्तावलाई अस्वीकार गर्दा केही नरमाइलो लाग्थ्यो । किन अस्वीकार गरेँ होला जस्तो लाग्थ्यो । विशेषगरी उहाँ अलि दुब्लो भएकाले पनि मैले हुन्छ भन्न सकिनँ । तर, एकदिन कोट लगाएर आउनुभयो र मलाई पनि ठीक छ भन्ने लाग्यो र स्वीकृति दिएँ ।’ त्यसपछि मात्र यो जोडीको विवाह सम्भव भयो ।
सम्पन्न परिवारका यी दुई विवाह बन्धनमा बाँधिएपछि खुशीका पल भन्दा पनि दुःखका अकल्पनीय क्षण आइलाग्यो । रविना त्यो पल सम्झँदै भन्छिन्, ‘१६ वर्षको उमेरमा मेरो विवाह भएको हो । त्यो बेला मैले एसएलसी सिद्ध्याएको थिएँ । तर, विवाह गरेर आएपछि मलाई सजिलो भएन । त्यो चुलबुले उमेरमा घरको ठूलो जिम्मेवारी सम्हाल्नुप¥यो ।’ वृद्ध भइसकेका सासुससुरालाई सम्हाल्नु त छँदै थियो नै त्यसमाथि झन् ठूलो वज्रपात रविनामाथि प¥यो । श्रीमान् राजनलाई युरिनको समस्या देखाप¥यो । राजनले भने, ‘विवाह भएको १ महिनामै मलाई युरिनको गम्भीर समस्या देखियो । त्यसपछि म भारतको भेल्लौरमा उपचारका लागि गएँ । त्यहाँ डाक्टरका सल्लाहअनुसार हामीले चाँडै दुईटा बच्चा जन्मायौं । तर, त्यहाँको उपचारले पनि ठीक नभएपछि जापान गएँ । जापानको उपचारपछि मात्र मेरो रोग ठीक भयो ।’
यता, रविनालाई भने श्रीमान् उपचारको क्रममा रहँदा ठूलो जिम्मेवारी बहन गर्नुप¥यो । कलिलै उमेर भए पनि उनले हिम्मत हारिनन् । छिमेक र आफन्तले पनि उनलाई विवाह र उनको श्रीमान्को रोगका विषयलाई नानाथरि कुरा गरे । त्यो सुनेर उनलाई रुन मनलाग्थ्यो । आफ्नो श्रीमान्को रोग ठीक होस् भनेर उनले केके गरिनन्, पूजा, भाकल गरिन्, मृत्युञ्जय पाठ गरिन् । सात दिन सात रात भोको रहेर हनुमान्को उपासना गरिन् । उनलाई आफ्नो अगाध आस्थाका कारण पनि श्रीमान्को स्वास्थ्यमा सुधारको आएको जस्तो लाग्छ ।
त्यसक्रममा रविना बिहान ३ बजे नै उठ्थिन् । बच्चा र परिवारको स्याहारसुसार गर्नु त छँदै थियो । उनले आफ्नो पढाइलाई पनि निरन्तरता दिएकी थिइन् । साथै स्कुलमा पनि पढाउँथिन् । उनको अर्को विशेषता धार्मिक नृत्यहरु पनि गर्नु हो । हाल उनी सोही नृत्यकै क्रममा विभिन्न देश पनि पुगिसकेकी छिन् । उनले भनिन्, ‘विवाहलगत्तै आफूले नृत्य जानेको मैले उहाँलाई सुनाएको थिएँ । उहाँले मेरो प्रतिभाको सधैं कदर र सहयोग गरिरहनु भयो । त्यसकारण नृत्यमा लागिरहन पनि मलाई सहज भयो ।’
उपचार ठीक भए पनि राजन आफूले सञ्चालन गरेको राइस मिल भने राम्रोसँग चलेन । त्यसपछि विभिन्न पेशामा उनी आबद्ध भए । त्यही क्रममा उनीहरु सबै छोडेर २०५२ सालमा पश्मिना व्यवसायमा आबद्ध भए र आजसम्म पनि त्यसैलाई निरन्तरता दिँदै आएका छन् ।
विवाहलगत्तै बिरामी भएका कारण यो जोडीले त्यति घुमघाम गर्न पाएन । तर, अब चाँडै विभिन्न देश घुम्ने इच्छा रहेको यो जोडीले जनायो । वैवाहिक जीवनको यतिका समयसम्म यी दुईबीच मनमुटाव भएर बोल्दै नबोल्ने अवस्था सृजना नभएको यो जोडीको भनाइ छ । राजनलाई आफ्नी श्रीमती ऊर्जाशील, मेहनती र धैर्यवान् लाग्छ । रविनालाई भने आफ्नो श्रीमान्को स्वच्छ मन र स्पष्टवक्ता बानी मन पर्छ । तर, अलि चाँडै रिसाउने बानीमा भने सुधार गरिदिएजस्तो लाग्छ । यो जोडीको विचारमा विवाह भनेको दुई व्यक्तिबीचको समझदारी हो । एकअर्कालाई राम्रोसँग बुझेर, कमीकमजोरी स्वीकार्दै विश्वासका साथ अघि बढ्न सके वैवाहिक जीवन सफल हुनसक्ने यो जोडीको धारणा छ ।
यो जोडीका अनुसार हाल महिलाहरु पनि सक्षम भएको र पुरुषले त्यसलाई नस्वीकार्दा तथा देखासिकीका कारण वैवाहिक जीवनमा फुट हुँदै आएको छ । एकअर्कोको अस्तित्वलाई स्वीकार्न सके वैवाहिक जीवन सुमधुर हुने यो जोडीको भनाइ छ ।
(-स्वाभिमान नेपाल मासिकबाट)
















