काठमाडौं । नेपाली सिनेमा घरहरूमा श्वेता खड्का निर्मित तथा अभिनित चलचित्र ‘कान्छी’ प्रदर्शनरत छ । यता सामाजिक कार्यमा पनि पाइला चालेकी उनको ‘श्वेता श्री फाउन्डेसन’ को फागुन १५ बाट पहिलो वर्ष पूरा भएको छ । आफ्नो पति श्री कृष्ण श्रेष्ठको स्मृतिमा स्वर्गीय पतिसँगै आफ्नो नाम जोडेर सामाजिक विकासका निमित्त श्वेताले यो फाउन्डेसनको स्थापना गरेकी हुन् ।
यसै अनुरूप ‘श्वेताश्री फाउन्डेसन’ बाट माझी बस्ती निर्माणको कार्य तिब्र रूपमा अघि बढिरहेको छ । भूकम्पबाट पीडित भएका ५६ परिवारका लागि उनले यो बस्तीको निर्माण गरिरहेकी छिन् । यस्तै आजकै दिनमा श्वेताश्री फाउन्डेसनका बरिस्ठ सल्लाहकार तथा एकीकृत नमुना माझी बस्ती विकासका लागि सुरुवाती दिनहरूबाटै लागिपरेका ‘रवीन्द्र खड्का’ को पनि जन्मदिन परेको छ । यही मौकामा श्वेताले आफ्नो फाउन्डेसनको फेसबुक आईडिमा लामो स्टाटस लेखेकी छिन् । हेर्नुस् उनले यस्तो लेखेकी छिन् ।
फागुन १५ ‘श्वेता–श्री फाउण्डेशन’को जन्म दिन । सामाजिक क्षेत्रमा सानै भए पनि योगदान दिउँ भन्ने मेरो सोचले संस्थागत रूपमा आकार पाएको दिन । मेरा दिवंगत पतिको स्मृतिमा उहाँको नामसँगै आफ्नो नाम जोडेर सामाजिक विकासका निमित्त विधानसम्मत पहिलो पाइला चालेको दिन ।
म, काभ्रेकी छोरी अनि सिन्धुपाल्चोककी बुहारी । रातो सिन्दूरले सिउँदो रङ्गिएको महिना दिन नबित्दै पखालिएको मेरो सिउँदोको पीडालाई आँशुका भेलले धोएर जीवनको यात्रामा अगाडि बढ्नु नै थियो, बढें । पीडालाई त आँशुसंगै छताछुल्ल पारेर बगाइदिएँ तर यादहरूलाई मेटाउनु कसरी ? अतः मैले विगतका यादहरूलाई शक्तिको रूपमा ग्रहण गर्दै मेरा स्वर्गीय पतिलाई आफ्नो मन मस्तिष्कमा मात्र होइन, सामाजिक रूपमा पनि जिउँदो राख्नका लागि केही सामाजिक योगदान दिने सोच थियो । त्यो सोच माझी बस्तीमा गएर मिसियो । भूकम्पबाट पीडित ५६ घर माझी परिवारका लागि एउटा नमूना बस्ती बनाएर आफूले गुमाएको प्यारो मान्छेलाई जीवन्त तुल्याउने अठोट गरेँ । त्यही अठोटले ‘श्वेता–श्री फाउण्डेशन’ जन्मायो । माझिटोलकै लागि जन्मेको यस फाउन्डेशनले माझी टोललाई नै बनाउनेछ, सजाउनेछ र सिङ्गार्नेछ । आफ्नो संस्थागत उद्देश्यबमोजिम श्वेता–श्री फाउण्डेशनले माझी टोल बनाउँदै आइरहेको छ । निर्माणको काम तीव्रगतिमा चलिरहेको छ ।
मान्छेहरू ‘माझी बस्ती कहिले हस्तान्तरण गर्ने ?’ भनेर सोध्छन् । म यो प्रश्नमा खोट देख्छु । किनकि माझिटोल मैले जन्माएको एउटा सानो बालक हो, जसलाई म कहिल्यै, कसैको हातमा सुम्पन या हस्तान्तरण गर्न सक्दिनँ । एउटा आमाको जिम्मेवारी जे हुन्छ त्यसैगरी उचित स्याहार सुसार गर्छु, हुर्काउँछु, बढाउँछु, सिँगार्छु र एउटा स्वावलम्बी बस्तीको रूपमा खडा गराउँछु ।
मलाई थाहा छ, जब म घुम्टो ओडेर घरको चार पर्खालभित्र लुकेर बस्छु तब कोही कसैले वास्ता गर्दैनन् तर जब म लाज, सरम र हिनताको घुम्टो फालेर घरबाहिर निस्कन्छु तब मप्रती आइलाग्ने र जाइलाग्ने धेरै भेटिन्छन् । मलाई थाहा छ, गर्नेहरू र लड्नेहरूलाई नै हो समस्या आउने । म हरेक समस्यासँग जुध्न तयार छु । एकीकृत नमुना माझी बस्ती निर्माणको यो अभियानमा पनि धेरै चुनौती र निक्कै समस्याहरू छन् । ती चुनौतीहरूलाई आत्मसात् गर्दै र समस्याहरूसँग जुध्दै अगाडि बढ्दै आएकी छु र बढ्छु पनि । मेरो यो यात्रामा मलाई साथ दिने सहयोगीहरूको भीड ठूलो छ ।
म धन्यवाद दिन चाहन्छु माझीटोलका ती हिम्मतिला, जोशिला र शाहसिला युवा मित्रहरूलाई जसले माझीटोल निर्माणको यो अभियानमा अग्रपंक्तिमा उभिनु भएको छ । म, मेरा फाउन्डेशनका पदाधिकारीज्यूहरू प्रति नतमस्तक छु, जसले म सँगसँगै पाइला हालेर सहकर्मीको भूमिका निर्वाह गरिरहनु भएको छ । म कृतज्ञ छु ती सहयोगी संघसंस्था र मनकारी व्यक्तिहरूप्रति जसले माझीटोल विकासका लागि आर्थिक, भौतिक र नैतिक समर्थन गर्दै आउनु भएको छ । अनि मुरीमुरी धन्यवाद मेरा सञ्चारकर्मी मित्रहरूप्रति जसले मेरो हर अभियानलाई शब्द र दृश्यका मार्फत आम जनताहरू समक्ष फैलाएर माझीटोल विकासमा अमूल्य योगदान दिँदै आउनु भएको छ । एउटा सुन्दर, विकसित र समृद्ध बस्तीको विकास गर्ने मेरो यो सानो प्रयासमा तपाईंहरू सबैको सहयोग, समन्वय र सहकार्यको अत्यन्त जरुरी छ । आशा छ, म एक्ली हुने छैन । हिजोको दिनमा जस्तै तपाईंहरूको हात र साथ पाउने नै छु ।
(- जनधारणा साप्ताहिक)


















