प्रकाण्डलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतको तेस्रो आदेश

217

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतले थुना मुक्त गर्न आज समेत तेस्रो पटक आदेश गरेको छ । यस अघिका आदेशहरु पालना नभएकोमा अदालतको गम्भिर सरोकार रहेको पनि आदेशमा उल्लेख छ । आदेशमा भनिएको छ – ‘थुनाबाट छोड्न नपर्ने पर्याप्त आधार र कारण समेत नदेखिएबाट जुन मुद्धाको शिलशिलामा भनि पक्राउ गरेको हो सो मुद्धामा अनुसन्धान गरी पर्याप्त कारण, आधार, प्रमाण भएमा कानून बमोजिम मुद्धा चलाउन कानूनले रोक लगाएको नदेखिएको तर गैरकानूनी थुनामा राखेको भनी दुई दुई पटक निरन्तर रुपमा गैरकानूनी थुनाबाट मुक्त गर्ने आदेश दिँदा दिदै अदालतको आदेश पटक पटक उल्लंघन गरी पुनः पक्रउ गरेको कार्यलाई कानून सम्मत मान्न नमिलेबाट निवेदकका माग अनुसार गैरकानूनी थुनाबाट निवेदकलाई मुक्त गर्नु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ’ ।

नेपाल सरकारले दुई पटक सर्वोच्च अदालतबाटै पक्राउ गरी फरक फरक मुद्धा लगाउने भन्दै अपहरण शैलिमा बेपत्ता बनाउने र मातहतका जिल्ला अदालतबाट म्याद थप गराउने काम भइरहेकोमा सर्वोच्च अदालतले असन्तोष प्रकट गरेको छ । प्रकाण्डलाई नुवाकोट जिल्ला अदालतका न्यायाधीशको रोहवरमा थुनामुक्त गर्न सर्वोच्चले आदेश गरेको हो । माननीय न्यायाधीशहरु सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको इजलाशबाट यस्तो आदेश भएको हो ।

धमला र कार्कीलाई पनि रिहा गर्न सर्वोच्चको आदेश
त्यसै गरी नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्यहरु मोहन बहादुर कार्की र कुष्ण प्रसाद धमलालाई पनि सर्वोच्च अदालतले थुना मुक्त गर्न आजै आदेश गरेको छ । उनीहरुलाई गत साउन ११ गते पक्राउ गरी काभ्रे जिल्ला स्थित क्रसर उद्योगमा आगजनी गरेको आरोप लगाएर सात पटक सम्म काभ्रे जिल्ला अदालतबाट म्याद थप गरिएको तर आरोपलाइ पुष्टि गर्न नसकेको ठहर सर्वोच्चको छ । माननीय न्यायाधीशहरु शारदा प्रसाद घिमिरे र डम्बर बहादुर शाहीको इजालसबाट सर्वोच्चका रजिष्ट्रारको रोहवरमा रिहा गर्न आदेश भएको हो । रिहा भए लगतै धमला र कार्कीलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरी लगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here