चिनियाँ लगानी आमन्त्रण गर्नुपर्छ, तर ऋणमा रेल बनाउनुहुँदैन् : पूर्व परराष्ट्रमन्त्री डा. महत

52

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने जनाएका छन् । उनले भने,‘चिनियाँ राष्ट्रपतिको नेपाल आउनु खुशीको कुरा हो । हामी उहाँलाई स्वागत गर्न चाहन्छौं ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले आफू परराष्ट्रमन्त्री भएकै बेला नेपाल भ्रमणको लागि निमन्त्रणा गरिएको सुनाउँदै ढिलै भएपनि नेपाल आउनु खुशीको कुरा भएको स्पष्ट पारे । उनले भने,‘म परराष्ट्रमन्त्री भएको बेला नेपाल भ्रमणको लागि निमन्त्रणा दिएका थियौं, उहाँले त्यतिवेला पनि उपयुक्त समयमा आउने कुरा गर्नुभएको थियो । उहाँ अब आउँदैहुनुहुन्छ, यो हामी सबैको लागि खुशीको कुरा हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले चीन नेपालको छिमेकी मित्रराष्ट्र मात्रै नभएर एउटा नजिकको मित्र भएको सुनाए । उनले भने,‘चीनको समृद्धि अहिले दिनानुदिन बढिरहेको छ । विश्वमै चीन शक्तिशाली देशको रुपमा स्थापित भैसकेको छ । हामीले चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ ।’ आफ्नो पार्टीले विपी कोइरालाको पालादेखि नै चीनसँग सुमधुर सम्बन्ध राखेको पनि महतले स्पष्ट पारे ।

उनले आफूहरुले कुन देशसँग कुन राजनीतिक पद्धती वा प्रणाली छ भनेर सम्बन्ध राख्ने भन्दापनि एउटा देशको अर्को देशसँग आपसी हितमा केन्द्रित रहेर सम्बन्ध राख्नुपर्ने जनाए । र, अहिले सोहीअनुसार आफूहरु अघि बढिरहेको पनि महतको जिकिर छ ।

चीनसँगपनि सुमधुर सम्बन्ध राख्दै अघि बढ्नुपर्ने बताउँदै महतले एक–अर्काको जायज चासो र चिन्ताप्रति गम्भिर हुनुपर्ने बताए । नेपालले आफ्नो राष्ट्रिय आवश्यकत्ता प्राप्त गर्ने केही अधिकार क्षेत्र रहेको सुनाउँदै सोहीअनुसार सम्बन्ध अघि बढाउनुपर्नेमा महतले जोड दिए । उनले भने,‘नेपालले आफ्नो राष्ट्रिय आवश्यकत्तालाई ध्यानमा राखेर आफ्नो एजेण्डा अघि सार्नुपर्छ ।’

आफू नै परराष्ट्रमन्त्री हुँदा बिआरआई परियोजनाबारे सम्झौता भएको सुनाउँदै अहिलेको सरकारले त्यसलाई कुशलतापूर्वक कार्यान्वयनमा ध्यान दिनुपर्ने महतको भनाई छ । उनले चिनियाँ लगानी नेपालमा आमन्त्रण गर्नुपर्ने पनि सुझाए ।

उनले भने,‘नेपालमा चिनियाँ लगानी भित्र्याउन सक्यौं भने दुई देशबीच रहेको व्यापार घाटा घटाउन सकिनेछ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा हुने उच्चस्तरीय छलफलमा यो विषयमा कुराकानी हुनुपर्छ । नेपालबाट चीन निर्यात हुने वस्तुमा शुन्य भन्सार लागत कायम गर्नेबारे पनि कुराकानी हुनुपर्छ ।’

त्यस्तै, उनले नेपालले चीनसँगको सम्बन्धमा सडक सञ्जाल अघि बढाउनेबारे ध्यान दिनुपर्ने पनि सरकारलाई सुझाव दिए । उनले भने,‘चीनसँग हामीले १२ महिनै चल्ने सडक सञ्जाल बनाउनुपर्छ । त्यस्तै, अरु नाकाहरुपनि खोल्नुपर्छ ।’ पछिल्लो समय नेपालमा रेलवेबारे धेरै बहस भएको सुनाउँदै महतले रेलमा लगानी गर्दा समयमै प्रतिफल नआउनेतर्फ सरकारको ध्यानाकार्षण गराए ।

भारत र चीनबीच जबसम्म नेपाल भएर व्यापार हुँदैन्, तबसम्म रेलमा लगानी गर्नु नेपालको लागि घाटा हुनेपनि उनको संकेत छ । उनले भने,‘ऋण लिएर रेलवेमा लगानी गर्दा यसले प्रतिफल दिँदैन् । हामीले लगानी मुल्य त परै जाओस्, सञ्चालन मूल्यपनि उठाउन सक्दैनौं ।’ महतले नेपालले आन्तरिक सडक सञ्जालको विकासमा नै बढि जोड दिनुपर्ने सुझाव पेश गरे ।

तर, ऋणमा नभई अनुदानमा रेल बनाउने कुरा भए त्यो भने स्विकार्य हुने उनको तर्क छ । चीनबाट काठमाडौं आउने रेलमात्रै नभएर भारतबाट काठमाडौं आउने रेलपनि अनुदानमा नै बनाउनुपर्ने उनको धारणा छ । उनले भने,‘हामीले आफैं बनाउन सक्ने अवस्था छैन् । त्यसैले ऋणमा पनि बनाउनुहुँदैन् । बरु, अनुदानमा नै बनाउनुपर्छ ।’

नेपालको आफ्नो साधन र स्रोतलाई ध्यान दिएर अघि बढ्नु नै आजको आवश्यकत्ता रहेको महतको भनाई छ । ऋणको बोझमा बस्नुभन्दा पहिले यसको आर्थिक प्रतिफल के आउँछ ? र कहिलेसम्म आउँछ भन्ने कुरामा बढि ध्यान दिनुपर्ने पनि उनको भनाई छ । उनले भने,‘रेलको कुरा गरेर बढि सेन्टिमेन्टल हुन जरुरी छैन् ।’ महतले नेपालले छहरे–टोखा सुरुङमार्गको बारेमा सोच्नुपर्ने बताए । उनले भने,‘सुरुङमार्गको विकास गर्न सकियो भने चीनसँगको सडकमार्ग एकदमै छोटो हुन्छ ।’

महतले चीनको एक चीन नीतिको चासोमा नेपाल सधैं प्रतिबद्ध रहेको पनि सुनाए । उनले भने,‘नेपालको भूमी कसैको खिलाफमा पनि प्रयोग हुन दिँदैनौं । नेपाल यसप्रति सजग छ । हामी हाम्रो राष्ट्रिय स्वार्थका आधारमा र आपसी हितको आधारमा अघि बढ्छौं ।’

चीनसँग सरकारले सुपुर्दुगी सन्धी गर्न लागेको छ भनेर बाहिर चर्चा छ नि भनेर सोधिएको एक प्रश्नमा उनले भने,‘यसबारेमा नेपालले थप छलफल गर्नुपर्छ । यसबारेमा समान दृष्टिकोण हुनुपर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक भएकोले भव्य सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले भने,‘२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुँदैछ, चिनियाँ राष्ट्रपतिको दुई दिने भ्रमण ऐतिहासिक हुनेछ ।’ उनले भ्रमणको क्रममा दुई देशबीच केरुङ–काठमाडौं रेलवेसम्बन्धी सम्झौता हुनेपनि स्पष्ट पारे ।

२३ वर्षअघिको चीन र २३ वर्षपछिको चीनमा धेरै परिवर्तन आएको सुनाउँदै भट्टराईले अहिले चीनको राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि भूमिका हिजोको भन्दा फरक रहेको जनाए । उनले भने,‘विश्वकै दोस्रो शक्तिशाली राष्ट्र हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण लामो समयको प्रतिक्षा थियो ।

उनले वर्तमान सरकार निर्वाचित भएर आईसकेपछि विदेश सम्बन्ध र उच्चस्तरीय भ्रमण आदानप्रदानमा पनि निकै फड्को मारेको दाबी गरे । उनले भने,‘विगतमा हामीलाई छिमेकीसँगमात्रै भ्रमण केन्द्रित रहेको भनेर आरोप लगाउने गरिएको थियो, तर यो सरकार आईसकेपछि हामीले युरोपियन मुलुक, दक्षिण पूर्वी एशियाली मुलुकहरुमा पनि सक्रियताका साथ सम्बन्ध अघि बढायौं ।’ अहिले उच्चस्तरीय भ्रमण आदानप्रदानको क्रम बढिरहेको उनको धारणा छ ।

कुटनीति र आर्थिक क्षेत्रमा नेपालको परराष्ट्र नीति सुदृढ रहेको र सोहीअनुसार सफलता हाँसिल गरेको पनि उनको दाबी छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमाण राजकीय महत्व बोकेको भ्रमण भएकोले यसले दुई देशबीच विश्वासको वातावरण बनाउने पनि उनको भनाई छ । यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेको र नेपालको राष्ट्रपतिको निम्तो स्विकारेर चिनियाँ राष्ट्रपति आउन लागेको बताउँदै भट्टराईले अहिले नेपाल र चीनबीच उच्चस्रतीय सम्वाद निरन्तर भैरहेको स्पष्ट पारे ।

नेपाल र चीन दुवै स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुक भएको र द्धिपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको उनको भनाई छ । उनले भने,‘अब झन हामीबीचको सम्बन्धको गतिमा फड्को मारिन्छ, सम्बन्धमा नयाँ अध्याय थपिनेछ ।’

सन् २०११ मा चिनियाँ राष्ट्रपतिले तिब्बतको भ्रमण गरेको स्मरण गर्दै त्यसयता तिब्बतको विकास धेरै गुणात्मक रुपमा अघि बढेको पनि उनले सुनाए । उनले भने,‘तिब्बत हिजोजस्तो टनेलको अवस्थामा छैन्, आज सडक, रेलवे, सञ्चार, विद्युत र बजारको विकास भएको छ ।’

भट्टराईले शनिबार काठमाडौं ओर्लने चिनियाा राष्ट्रपति कति बजे आउने भनेर अहिले नै समय निश्चित् नभएको सुनाए । तर, शनिबार नै चिनियाँ राष्ट्रपतिले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए । उनले चिनियाँ राष्ट्रपतिको स्वागतको लागि आफूहरु तिव्र प्रतिक्षामा रहेको बताए । उनको भ्रमणमा नेपाली जनताले अत्यन्तै ठूलो सद्भाव र सत्कार दिने पनि भट्टराईको विश्वास छ ।

भट्टराईले चिनियाँ राष्ट्रपति आउने दिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही घण्टाको लागिमात्रै अवरुद्ध हुने जानकारी दिए । ‘रनवे एउटामात्रै भएकोले उहाँ आउने दिन केही घण्टाको लागि मात्रै विमानस्थल अवरुद्ध हुन्छ’–उनले प्रष्टाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here