ऐतिहासिक नगरी पनौतीमा एक महिना मकर मेला

18
काभ्रे । पाँच महिनापछि ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा एक महिना मकर मेला लाग्छ। हरेक बाह्र वर्षमा हुने ‘मकर मेला’को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधारका काम भइरहेका छन् भने सँगसँगै प्रवद्र्धनका कार्यक्रम थालिएको छ।

नगरपालिकाले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतीर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको थियो। हाल रोटरी क्लब अफ पनौतीले मेला प्रवद्र्धनार्थ मेलाको लोगोयुक्त मग सार्वजनिक गरेको छ भने मकर मेला–२०७८ र रोटरीको इन्टरनेशनल लोगो एकैसाथ प्रयोग गर्दै मेलाको प्रचार गर्ने जनाएको छ। मकर सङ्क्रान्तिबाट पनौतीमा शुरु हुने मेला आगामी माघ महिनाभर लाग्नेछ। मेलामा नेपालमा मात्र नभई उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गरेका छन्। मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो।

त्रिवेणीघाटमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरपालिकाले थुप्रै योजना सञ्चालन भइरहेका छन्। उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक विश्वास छ। एक महिनासम्म लाग्ने उक्त मेलालाई थप व्यवस्थित बनाउन ढाँडाचौर–सूर्यविनायक–मानेदोभान तथा रानीकोट–सूर्यविनायक–जाकीडोल र पनौतीबाट बिपी राजमार्ग जोड्ने सडक पूर्णरूपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति भइरहेको नगरपालिकाले जनाएको छ।

निर्माणाधीन पनौती–बाँसडोल, पनौती–खोपासी, पनौती–कुशादेवी, पनौती–बनेपा र पनौती–आशापुरी सडकलाई स्तरोन्नति (पक्की) गरी मेलाअघि नै सञ्चालनमा ल्याइने नगरप्रमुख भीम न्यौपानेले बताए। उनका अनुसार स्तरोन्नति भइरहेको बनेपा–पनौती सडकमा मेला अवधिभर ट्राफिक जाम कम गर्न निर्माणाधीन पनौती–बनेपा (पुण्डमाता करिडोर)ले पनि निकै राहत दिलाउनेछ।

‘पनौती बजार जोड्ने विभिन्न सडकलाई मर्मतसम्भार एवं स्तरोन्नति गर्दा धर्मावलम्बीलाई सजिलो हुन्छ’, न्यौपानेले भने। मेला सम्पन्न गर्न एक दर्जन उपभोक्ता समिति गठन भइसकेका छन्। ती समितिले आगामी पुसको अन्त्यसम्ममा त्रिवेणीघाट मात्र नभई सिङ्गो पनौतीलाई ‘दुलही’ झैँ सिङ्गार्नुपर्ने जिम्मेवारी दिइएको छ। त्यसमध्ये पनौतीभित्रका मठमन्दिर तथा पाटीमा रङरोगन तथा झल्लर–तोरणले झिलीमिली बनाइने मुख्य काम हो। साथै पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वार निर्माण गर्नुपर्नेछ। पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटर र बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ।

यीसहित भौतिक निर्माणका लागि गत आर्थिक वर्षमै नगरपालिकाले रु तीन करोडभन्दा बढी बजेट छुट्याएको छ। मेलालाई व्यवस्थित गर्न हाल श्रद्धालुलाई स्नानका लागि त्रिवेणीघाट वरिपरि बेलीब्रिज र मानेश्वरी बसपार्कदेखि त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायँबायाँ पैदलमार्ग, विश्रामस्थललगायतका भौतिक संरचना द्रुतगतिमा अघि बढाइएको छ। नगरपालिकाले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, फुटपाट मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिङ्गटीले छाउने, रथको आवश्यक मर्मत गरी तयारी अवस्थामा राख्ने, सडक बत्तीको पर्याप्त व्यवस्था गर्ने नगरपालिकाको योजनामा उल्लेख गरिएको छ। साथै पनौतीबाट चल्ने सबै प्रकारका सवारी साधनमा ‘भिजिट मकर मेला–२०७८, पनौती’ लेखिएका स्टिकर तथा फ्लेक्स टाँगिनेछ।

नगरपालिकाको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढी तथा रोशी खोलामा चार ड्याम र सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निर्माण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइनेछ। मेला अवधभिर मल्पी ड्यामबाट नियमितरूपले रोशी खोला तथा मल्पी–लिलावती बाँसडोल खोलामा स्वच्छ पानी बहाइनेछ। यसका लागि मकर मेला शुरु हुनु एक हप्ता पहिले खानी तथा खानीजन्य उत्खनन, पैठारी बन्द गरिनेछ।

सयौँ वर्षअघि पाटन र पनौतीमा ठूलो खडेरीपछि अनिकाल हुँदा दुवै ठाउँका तान्त्रिक फुल्चोकी माईकहाँ पूजापाठ गरी पानी माग्थे। दुई क्षेत्रबीच पानी लैजाने होडबाजी चलिरहेपछि फुल्चोकी माताले जसले पहिला चाँदी र सुनको फूल चढाउँछ उसलाई वरदान दिने भन्नुभएको किंवदन्ती छ। यसपछि सुन र चाँदीवाला पाटनका तान्त्रिकले सोहीका फूल बनाउन दिए, यता पनौतीका तान्त्रिकले आफूसँग जान्ने कालीगढ नभएको जनाउँदै तोरी र मुलाको फूल (सुन र चाँदीजस्तो देखिने) चढाएपछि सुन–चाँदीका निम्ति प्रख्यात पाटनलाई भन्दा मुला, तोरी र सागखेती गर्नेलाई पानीको अभाव छ भन्दै खुशी हुँदै फुल्चोकी माताले पनौतीतर्फ पानी पठाइदिनुभएको विश्वास गरिन्छ।

छ वर्षपछि सुन र चाँदीको फूल बनाएर फुल्चोकी मातालाई चढाएर आफूहरुलाई पनि बरदान मिल्नुपर्ने बताएपछि माताले उक्त पानी आधा गोदावरी पठाएकी थिइन्। यसपछि छ/छ वर्षको अन्तरमा गोदावरी मेला र १२/१२ वर्षमा मकर मेला लाग्ने गरेको जनविश्वास छ। जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप हुने पनौतीको उक्त त्रिवेणीसँगमा हरेक वर्षको माघमा साँखु र भक्तपुरमा माधवनारायण देवतालाई यहाँ ल्याइए दुई दिनसम्म राखिने गरिन्छ।

अर्को किंवदन्तीअनुसार राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन्। तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरूपमा बहिरहेको मान्यता छ। भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरूपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरूपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here