नो हर्न स्टिकर अभियान शुरु

201

काठमाडौं । ध्वनि प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले मंगलबारदेखि सवारीसाधनमा हर्न बजाउन निषेध गर्दै ‘नो हर्न स्टिकर अभियान’ शुरु भएको छ। वि.सं. २०७४ साल वैशाख १ देखि उपत्यकाका विभिन्न स्थानमा हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । त्यसपछि हर्न प्रयोगमा केही कमी आएको थियो । शुरुवाती दिनमा यसको कार्यान्वयनमा कडाई गरिए पनि कोरोना संक्रमणपछि क्रमशः यो अभियानलाई बेवास्ता गरिएको थियो ।

‘नो हर्न’ अभियानलाई थप प्रभावकारी र कडाई गर्न मगंलबारदेखि ‘हर्न निषेध’ स्टिकर टाँस्ने अभियान नै ट्राफिक प्रहरीले चलाएका छन् । चालकले देख्ने गरी गाडीको अगाडिको सिसामा स्टिकर टाँसिएका छन् । अभियान शुरु भएको चार वर्ष पुग्दा पनि अहिलेसम्म एक जनालाई पनि कारबाही नगरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सन्जिव शर्मा दास बताउनुहुन्छ । उहाँका अनुसार यातायात विभागले स्वीकृत नदिएका कारण कारबाही गर्न नसकिएको हो । तर कसैले निषेधित क्षेत्रमा हर्न बजाउनेलाई कारबाही गर्ने स्वीकृति छैन ।” कोरोनाका कारण पछिल्लो दिनमा क्रमशः हर्नको प्रयोगमा अनावश्यक रुपमा वृद्धि हुँदै गएकाले पुनः अभियान शुरु गरेको उहाँको भनाइ छ ।

यस्तै, हर्नबाट मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्यविद डा. सागरकुमार भण्डरी बताउनुहुन्छ । उहाँले भन्नुभयो,“ हर्नबाट हुने ध्वनी प्रदूषणले मनोसामाजिक असर, एन्जाइटिक असर, कानको जाली फुट्ने, ध्यान भङ्ग गर्ने जस्ता कारणले दुर्घटनाको उच्च जोखिम हुन्छ ।” मानसिक तनाव, डिप्रेसन, एन्जाइटिक डिसअर्डर, छटपटीको समस्या, अनिन्द्रा ध्वनि प्रदूषणले हुन्छ । यसबाट पागलपन हुने जस्तो गम्भीर समस्या उत्पन्न हुनसक्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) जनक भट्टराईका अनुसार उपत्यकाका ३८ वटा ट्राफिक कार्यालयले एक साथ ५० हजार ‘नो हर्न स्टिकर’ टाँस गरी अभियानलाई शुरुवात गरेको छ । उहाँले पैदल यात्रीहरुलाई पनि आकाशेपुल र जेब्राक्रसबाट मात्र बाटो काट्न अनुरोध गर्नुभएको छ ।

यता, ‘नो हर्न’ अभियानको विषयमा प्रतिक्रिया दिनुहुँदै ट्राफिक प्रहरीको फेसबुक पेजमा मैनाली मनोज लेख्नुहुन्छ,“हर्न नबजाउन पहिले रोडलाई व्यवस्थापन गर्नुस्, बेलुका ६ बजेपछि नयाँ बानेश्वरबाट पूरानो बानेश्वर पुग्न आधा घण्टा लाग्छ, रोडभरी तरकारी फलफूल बेच्न र पार्किङ गर्न दिने मान्छेहरु आकासेपुल प्रयोग नगरी मुनिबाट बाटो हिँड्दा ट्राफिक प्रहरी रमिता हेरेर बस्ने अनि हर्न नबजाएर बाटो हिँड्नेलाई बजाएर हिँड्ने भए ठिक छ ।”

यस्तै, गोपाल बुढाथोकी लेख्नुहुन्छ,“समाचार–‘नो हर्न’ पचास हजार स्टिकर । ध्वनि प्रदूषणभन्दा हजार गुणा खतरा धुँवा प्रदूषणतर्फ ट्राफिक प्रहरीको ध्यान खै त ?”राजेश महर्जन लेख्नुहुन्छ, “हिँड्ने मान्छे नि जागरूक हुनुपर्छ, बीच बाटोबाट हिँडिरहेको हुन्छ, धेरै जसो । के गाडी चालक सबै पागल हुन् र हर्न बजाउँदै हिँड्ने । पहिला हिँड्न सिकौं, बाटोमा हर्न त्यसै कम हुन्छ ।” gorkha patra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here