राष्ट्रियसभा सदस्य निर्वाचनलाई सुरक्षित बनाउन २१ बुँदे निर्देशन जारी

37

काठमाडौं । निर्वाचन आयोगले कोरोना भाइरस संक्रमणको जोखिमका बेला राष्ट्रियसभा सदस्य निर्वाचनलाई सुरक्षित बनाउन २१ बुँदे निर्देशन जारी गरेको छ ।

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सुरक्षा मापदण्डबारे जानकारी गराएका छन् ।

माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायत सबै सरोकारवालाले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड स्वीकृत गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिका २०७६ बमोजिम मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाई मास्क लगाएर मात्र प्रवेश गर्नुपर्ने, मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका व्यक्तिले मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने, मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्रीसहित २ जना स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्कको व्यवस्था हुने, हेल्थ डेस्कको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नुपर्ने, मतदान स्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदान स्थल वा केन्द्रमा आफ्नो जिम्मेवारीमा रहँदा आवश्यक सामाजिक दूरी कायम गर्नुपर्ने निर्देशन दिएको छ ।

पूर्ण खोप लगायतका कर्मचारी तथा सुरक्षाकर्मीलाई मात्र मतदान स्थल, मतदान केन्द्र र मतगणना स्थलमा खटाइने, मतदान केन्द्र र मतगणना स्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवक लगायत सबैले अनिवार्य रूपमा फेसशिल्ड, पञ्जा र मास्क लगाउनुपर्ने, मतदाताले मतपत्र प्राप्त गरी गोप्य कक्षमा गई मतदान गरिसकेपछि अनिवार्य रूपमा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, मतदान अधिकृतले समय–समयमा मतदान केन्द्रमा मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छाप लगायतका मतदान सामग्रीहरूको अनिवार्य रूपमा निसंक्रमण गर्ने व्यवस्था मिलाउनुपर्ने, मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि निसंक्रमण गर्ने र गणनाको लागि मतगणना स्थलमा लैजाने व्यवस्था गर्नुपर्ने निर्देशन आयोगले दिएको छ ।

विज्ञप्तिअनुसार मतगणनाको लागि तयार गरिएको मतगणना स्थलमा मतपेटिका खोल्नुअघि अनिवार्य रूपमा निसंक्रमण गर्ने व्यवस्था गर्नुपर्ने, मतदान स्थल र मतगणना स्थलमा अनावश्यक भीडभाड हुन नदिने र प्रवेशलाई कडाइका साथ नियन्त्रण गर्ने व्यवस्था मिलाउनुपर्ने, मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, एम्बुलेन्सको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नुपर्ने, राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्बन्धित प्रदेश भित्रका प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष निर्वाचक मण्डलका सदस्य हुने हुँदा निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि निज मतदाताहरू पीसीआर परीक्षणको लागि कुनै स्वास्थ्य संस्थामा सम्पर्क गर्न पुगेमा प्राथमिकताका साथ परीक्षणको व्यवस्था गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाउनुपर्ने निर्देशन दिइएको छ ।

आयोगले निर्धारण गरेको मापदण्ड समेतको आधारमा सम्बन्धित निर्वाचन अधिकृतले मतदान स्थल तथा केन्द्रको अवस्था हेरी आवश्यकता अनुसार स्वास्थ्य सुरक्षा सम्बन्धी व्यवस्था गर्न सक्ने, मतदान केन्द्रमा अनिवार्य रूपमा आवश्यक मात्रामा मास्क, स्यानिटाइजर, टिस्यु पेपर, साबुन पानी तथा फोहोर राख्ने टोकरीको व्यवस्था गर्नुपर्ने, प्रत्येक मतदाता मतदान केन्द्रमा प्रवेश गर्नुअघि तापक्रम जाँच गर्नुपर्ने, तापक्रम जाँच गर्दा मतदान केन्द्रमा खटिने स्वास्थ्यकर्मीले प्रत्येक मतदातालाई पछिल्लो १४ दिनयता ज्वरो वा रुघाखोकी वा अन्य कोभिड–१९ को लक्षण देखिएको छ/छैन बुझी मतदाताको उच्च तापक्रम देखिएमा र कोभिड १९ संक्रमणको कुनै लक्षण देखिएमा छुट्टै व्यवस्था गरी मतदान गर्ने व्यवस्था मिलाउनुपर्ने, मतपत्र दिने कर्मचारीले मतपत्रको अर्धकट्टीमा मतदातालाई हस्ताक्षर गराउँदा सकेसम्म मतदाताकै कलमबाट हस्ताक्षर गराउनुपर्ने, यदि मतदाताले ल्याप्चे लगाउने भएमा ल्याप्चे लगाइसकेपछि टिस्यु पेपरले हात सफा गरी उक्त टिस्यु पेपरलाई फोहोर टोकरीमा हाल्नुपर्नेछ र हातलाई स्यानिटाइजर प्रयोग गर्न अनुरोध गर्नुपर्ने आयोगको निर्देशन छ ।

मतदातालाई मतदान गर्न छुट्टै मतपेटिका राख्न आवश्यक देखिएमा मतदान केन्द्रमा खटिएका कर्मचारीहरूबाट व्यवस्थापन गर्ने गरी निर्वाचन अधिकृतको स्वीकृतिमा मतदान अधिकृतले छुट्टै मतपेटीकाको व्यवस्था गरी मतदान गराउन सक्ने, यसरी मतपेटिकाको व्यवस्था गरिएकोमा मतपेटिका छुट्टै राखी निसंक्रमण गरी अन्य मतपेटिकाको मतपत्रसँग मिसाई मतदानको गोपनियता अक्षुण राखी गणना गर्ने व्यवस्था मिलाउनुपर्ने, मतगणना स्थलमा सामाजिक दूरी कायम हुने गरी मतगणना कार्य गर्न आवश्यक व्यवस्था मिलाउनुका साथै अनावश्यक भीडभाड हुन नदिन अनावश्यक प्रवेशमा रोक लगाउनुपर्ने, जिल्लास्तरीय कोभिड व्यवस्थापन समितिले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने वयवस्था मिलाउने, कोभिड संक्रमण पुष्टि भएको मतदाता मतदान गर्न आएमा त्यस्ता मतदातालाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखी अन्यको मतदानको कार्य केही समयका लागि स्थगित गरी हातमा पञ्जा मास्क फेसशिल्ड लगाई मतदान गर्न लगाई निजहरूले प्रयोग गरेका मतदान स्थलमा सामग्रीहरू निसंक्रमण गरी पुनः नियमित मतदानको कार्य सुचारू गर्ने व्यवस्था मिलाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

आयोगले निर्धारण गरेको यस मापदण्ड समेतको आधारमा सम्बन्धित निर्वाचन अधिकृतले मतदान स्थल तथा केन्द्रको अवस्था अनुसार थप स्वास्थ्य सुरक्षा सम्बन्धी विशेष व्यवस्था गर्नसक्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here