गगन थापाको गनगन बुझेर कि नबुझेर ?

24
–प्रीति रमण
काठमाडौंमा हालै आयोजित एक सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका महासचिव गगन थापाले मुलुकको आर्थिक अवस्थाबारे चर्चा गरे । उनको भाषणको मुख्य सार भने पछिल्लो समय बढेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरको बारेमा थियो । ब्याजदर वृद्धिका कारण उद्योगी व्यवसायी मारमा परेको र यो अवस्था आफ्नो राजनीतिक जीवनमा पहिलोपटक देखेको उनको जिकिर थियो । उनले अर्थतन्त्र र व्यवसायीको समस्यालाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्ने जनाए । देशको प्रमुख पार्टी, जो सत्ताको साझेदार पनि छ, त्यस पार्टीका महासचिव र अपेक्षा गरिएका भएका नेता हुन् थापा । तर, उनको भाषण भने पुँजीपति वर्गलाई मात्र पक्षपोषण र वास्तविक समस्यालाई भने अनदेखा गर्ने किसिमको रहेको पंक्तिकारको ठम्याइ छ ।
किनभने कुनै पनि देशको अर्थतन्त्रमा समस्या छ भने त्यसको सबैभन्दा पहिलो मार खेप्ने विपन्न तथा श्रमिक वर्ग नै हो । जो हरेक दिन कमाइ गरेर साँझबिहानको छाक टार्छन्, उनीहरुलाई अर्थतन्त्रमा समस्या आउने बित्तिकै समस्या पर्न थाल्छ । गत कोभिडकालमा विपन्न नागरिकले भोग्नुपरेको अवस्थालाई सायद कमैले मात्र भुलेका होलान् । त्यसपछि मारमा भनेका किसान तथा मध्यम वर्ग हो । अन्त्यतिर मात्र पुँजीपति वर्गले मात्र यस्तो समस्याले छुन्छ । नेपालको अर्थतन्त्रमा केही समययता देखिएको समस्याले पनि श्रमिक, विपन्न र किसानले सबैभन्दा मार व्यहोर्नु परेको छ । तर, थापाले भने यस्तो वर्गको आवाजलाइ उठान गर्नुको साटो पुँजीपति वर्गको पक्षपोषण गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षका सात महिनाका उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको वाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य राखेको थियो । तर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत पुगेको देखिएको हो । गत आर्थिक वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव २४ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६ दशमलव १९ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९ दशमलव २२ प्रतिशत छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५ दशमलव २४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव ३९ प्रतिशत र सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशतले बढेको छ । राष्ट्र बैंककाअनुसार माघ मसान्तसम्ममा काठमाडौं उपत्यकामा आठ दशमलव ४७ प्रतिशत, तराईमा सात दशमलव ८२ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत र हिमालमा सात दशमलव ९२ प्रतिशत मूल्यवृद्धि देखिएको छ । गतवर्ष माघ महिनामा यी क्षेत्रमा क्रमशः पाँच दशमलव ४७ प्रतिशत, ६ दशमलव ५० प्रतिशत, ६ दशमलव ७१ प्रतिशत र पाँच दशमलव ९७ प्रतिशत मुद्रास्फीति रहेको थियो । गत माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति नौ दशमलव ६७ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १० दशमलव ३४ प्रतिशत रहेको थियो । यसको सबैभन्दा ठूलो असर सर्वसाधारणले व्यहोर्नुपरेको छ ।
अर्कोतर्फ देशको अर्थतन्त्र बिग्रनुमा आन्तरिक शून्य बराबर हुनु र अत्यधिक आयात प्रमुख कारण हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षका सात महिनाको अवधिमा नेपाललको व्यापार घाटा १८ दशमलव ७ प्रतिशतले घट्दा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ कायम भएकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८ दशमलव ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव ५ प्रतिशत रहेको थियो । समीक्षाअवधिमा भारतबाट ७१ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । त्यसैले आन्तरिक उत्पादन वृद्धि र बजार सुनिश्चित गर्नेतर्फ नेताहरुले जोड दिनुपर्ने देखिन्छ, न कि अमूक व्यवसायीको पक्षमा सरकारको ध्यानाकर्षण हुनु जरुरी छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here