वीपीपथ गुमाउँदै गरेको कांग्रेस

96

– राधा बुढाथोकी मगर

नेपाली कांग्रेसको राजनीति अब कतातिर जाला ? यो प्रश्न आम नेपालीहरूको मनमस्तिष्कमा उठिरहेको छ । भर्खरै महासमिति बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेसले एकताको सन्देश दिएको छ । तर एकता  के विषयमा हुने भन्ने कुरातर्फ कांग्रेस नेतृत्व सचेत देखिएको छैन ।  नेपालको राजनीतिक इतिहासमा दुईपटक असक्षमको पगरी पाएका शेरबहादुर देउवाले चार पटक प्रधानमन्त्री बन्ने सौभाग्य पाइसकेका छन् । उनलाई निर्वाचन गराउन नसकेको आरोप लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्रले पदच्यूतसमेत गरेका थिए । तर, उनै देउवालाई ज्ञानेन्द्रले दोस्रोपटक पनि प्रधानमन्त्रीमा निर्वाचित गरेका थिए । देउवालाई प्रयोग गर्न सकिन्छ भन्ने कुरामा पूर्वराजा ढुक्क दिए भन्ने बुझ्न सकिन्छ ।

अहिले पनि नेपालको राजनीतिको केन्द्रविन्दुमा नेपाली कांग्रेस छ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिकपथलाई पछ्याउने हो भने  नेपाली कांग्रेसमा एकता टाढा छैन । कोइरालाको राष्ट्रिय, प्रजातन्त्र र समाजवाद बारेको स्पष्ट दृष्टिकोण आजको नेपाली कांग्रेसको नेतृत्वमा पाइदैन । विपीको राजनीतिक चिन्तनबाट नेपाली कांग्रेस धेरै विचलित भइसकेको छ । यही कारणले नै नेपाली कांग्रेस कमजोर बनेको हो भन्ने विश्लेषण कांग्रेसको वर्तमान नेतृत्वले गर्न सक्ने हो भने कांग्रेस अगाडि बढ्ने  निश्चित छ ।

नेपाली कांग्रेसले प्रम्ख प्रतिपक्षी दलको हैसियतबाट सत्तासीन कम्युनिष्टहरूको कमजोरीलाई खबरदारी गर्ने हो । यो नै वर्तमान नेतृत्वको कार्यभारत हो । यो कार्यभारबाट कांग्रेस नेतृत्व चुकेको छ । कांग्रेसले कम्युनिष्ट नेतृत्वको सरकारबाट  भएका राष्ट्रियताविरोधी र जनविरोधी कामहरूको भण्डाफोर अभियानलाई सशक्त बनाएर अगाडि बढ्ने दायित्व बुझ्न सक्नुपर्दछ । वर्तमान सरकारले राष्ट्रियताको हित र जनपक्षीय काम गर्न सकिरहेको छैन । यो अवस्थाले वर्तमान सरकार जनतामा अलोकप्रिय भइरहेको छ । राष्ट्रियताकै सवालमा नाम कमाएर दुईतिहाइ बहुमतको नजिक पुग्ने गरी चुनावमा जनताबाट मत प्राप्त गरेको कम्युनिष्ट पार्टीले राष्ट्रियतालाई कमजोर बनाएको अवस्था छ । नेपाली भूमिमा विदेशी सेनाको परेड र नेपालका नदीहरू विदेशीहरूको कब्जा पार्ने अभियानलाई कम्युनिष्ट नेतृत्वको सरकारले अपनाएको छ । यो स्थितिलाई कांग्रेसले प्रतिपक्षीको हैसियतबाट रोक्न पहल गर्नु पर्दथ्यो । कांग्रेस यसमा चुकेको छ । त्यसैगरी ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने नारा दिएर जनतालाई आफूतर्फ आकर्षित गरेको वाम गठबन्धनले सरकार निर्माण गरिसकेपछि जनतामाथि चर्काे करको भार थोपरेको छ । यस्ता जनविरोधी कामहरू सरकारबाट भइरहँदा पनि प्रमुख प्रतिपक्षी दल मुकदर्शक बनिरहेको छ । कांग्रेसको यो गतिविधिले अर्काेपटक पनि कांग्रेसलाई सत्ता पुग्न कठिन हुने देखिन्छ ।- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here