ललितपुर सुनचाँदी व्यवसायी संघको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

350
तस्विरः पद्मसागर कक्षपति

काठमाडौ, ५ पुस– ललितपुर सुनचाँदी व्यवसायी संघको तेस्रो वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमबीच सम्पन्न भएको छ । ललितपुरको अग्नि पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले नेपालका परम्परागत शैलीका सुनचाँदीका गरगहनाहरुको संरक्षण र प्रवद्र्धन गर्नसके सुनचाँदी व्यवसायलाई व्यवस्थित र स्तरीय बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपालमा सुनचाँदीका गरगहना बनाउने कालिगढहरु २५ प्रतिशतमा रहेको भन्ने व्यवसायीहरुको गुनासोलाई सम्बोधन गर्न नेपालकै युवाहरुलाई तालिम दिई दक्ष बनाउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले सुनचाँदी व्यवसायका लागि आवश्यक मापदण्ड सार्वजनिक गर्न सरकारसँग पहल गर्ने जनाउनुभयो । उहाँले हालै गएको भूकम्पका कारण सुनचाँदी व्यवसायीहरु पनि प्रभावित भएको भन्दै पीडित व्यवसायीका लागि सरकारले राहत प्याकेज व्यवस्था गर्नुपर्ने जनाउनुभयो । राणाले सुनचाँदी व्यवसायमा रहेका समस्या समाधानका लागि उद्योग वाणिज्य महासंघले पहल गर्ने जनाउनुभयो ।
कार्यक्रममा बोल्दै सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले सरकारले सुनचाँदी व्यवसायीमाथि अन्याय गरेको आरोप लगाउनुभयो । शाक्यले सरकारले व्यवसायीहरुलाई आवश्यकताअनुसार सुन नदिँदा व्यवसायीहरु मर्कामा परेको र दक्ष जनशक्ति उत्पादनका लािग पनि सहयोग नगरेको आरोप लगाउनुभयो । हाल नेपालमा डेढ लाख सुनचाँदीका गहना तयार पार्ने कालिगढ रहे पनि ७५ प्रतिशत भारतीय कालिगढ रहेको जानकारी दिनुभयो । हाल नेपालमा २१ हजार सुनचाँदी व्यवसायी भए पनि सरकारले दैनिक १५ किलोग्राम मात्र सुन दिने गरेको र सरकारले दिएको सुनप्रति व्यवसायी एक ग्रामका दरले पर्न जाने उहाँको भनाइ थियो । सरकारले वितरण गर्ने सुनमा आधाभन्दा बढी सुन ठूला व्यवसायीहरुले नै लैजाने गरेकाले साना व्यवसायीहरु समस्यामा पर्ने गरेको शाक्यको गुनासो थियो । उहाँले सरकारले दैनिक सात, आठ किलोसम्म सुन खपत गर्ने व्यवसायीलाई अनुमति दिएको तर मागअनुसार सुन उपलब्ध गराउन नसकेको अरोप लगाउनु भयो । साथै उहाँले सुनको मापदण्ड नबन्दा पनि व्यवसायीहरुले समस्या भोग्नुपरेको जानकारी गराउनुभयो । महासंघका अध्यक्ष शाक्यले अहिले सुन गाल्ने ग्यासको अभावमा व्यवसाय ठप्प हुने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश अतिथिहरुले सुनचाँदी व्यवसायका चुनौती, त्यसको समाधानका उपाय र सरकारको सहयोग लगायतका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए । साथै कार्यक्रममा बोल्ने वक्ताहरुले साधारणसभाको सफतलाको शुभकामना समेत व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सुनचाँदी व्यवसायी संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here