भारतीय राजदूतलाई देश निकाला गर्न माग

161

काठमाडौं÷ भारतीय राजदूत रन्जित रेलाई नेपालबाट देश निकाला गर्न माग गरिएको छ । राजदूत रेले नेपालको राजनीतिमा बेलायती शासकहरूले भारतमा हस्तक्षेप गरेकै शैलीमा नाङ्गो हस्तक्षेप गरिरहेकाले उनलाई नेपालबाट देश निकाला गर्न माग गरिएको हो । गत वर्ष नेपालविरुद्ध नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख दिने काममा राजदूत रेले निकै मिहेनत गरेका थिए । पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डलाई तराई क्षेत्र छुट्याएर संघीय राज्य निर्माण गर्न नेपालको संविधानमा संशोधन प्रस्ताव गर्न दबाब दिएका राजदूत रेले आफ्नो स्वार्थअनुकूलको प्रस्ताव पारित गर्न मधेस केन्द्रित राजनीति गरिरहेका नेताहरूलाई उर्दी जारी गरेपछि उनी विवादमा तानिएका छन् । राजदूत रेलाई नेपालबाट देश निकाला गर्न नेपाली राजनीतिको मूलधारमा रहेका विद्यार्थी संगठनहरू, बुद्धिजीवीहरू र पत्रकारहरूसमेतले माग गरेका छन् ।
राजदूत रेका क्रियाकलापका कारण भारतविरोधी भावना नेपालमा निकै बढेको छ । भारतविरोधी भावना बढाउनमा राजदूत रेले खेलेको भूमिका दुई देशबीच तनाव सृजना गर्न र नेपालको राजनीतिमा अस्थिरता पैदा गर्न सफल भएको छ । दुई देशबीच सम्बन्ध सुदृढ बनाउन भूमिका निर्वाह गर्नुपर्ने कूटनीतिक व्यक्तिले दुई देशबीच दुश्मनी बढाउने काममा सक्रियता देखाइरहेकाले राजदूत रेलाई नेपालबाट देश निकाला गर्नुपर्ने माग उठेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here