चुनावी सभामा मतदाता शिक्षा सिकाउँदै दलका नेताहरु

148

प्रतिनिधिसभा र प्रदेशसभाका लागि चुनावको मिति नजिकिँदै जाँदा बदर मत घटाउन चुनावी सभामै दलहरूले मतदाता शिक्षा दिन थालेका छन्। चुनावमा भाग लिने मतदाताले सही मत जाहेर गर्न सकून् भनेर दलहरूले आफूले आयोजना गरेको आमसभामै नमूना मतपत्र बोकेर शिक्षा दिन थालेका हुन् ।

समय छोटिँदै आएको छ जिल्ला निर्वाचन कार्यालयले खटाएका मतदाता शिक्षा स्वयंसेवकले घरदैलो गरिरहेका भए पनि मतदाताले जाहेर गरेको मत बदर नहोस् भनेर हामीले केही नेता तथा कार्यकर्तालाई मतदाता शिक्षाका लागि छुट्याएको नेपाली कांग्रेसका जिल्ला सभापति तथा क्षेत्र नं २ प्रदेशसभाका उम्मेदवार कर्ण मल्लले जनाए ।

त्यस्तै, वाम गठबन्धनतर्फ पनि केही कार्यकर्तालाई घरदैलो कार्यक्रमकै सिलसिलामा मतदाता शिक्षा दिन परिचालन गरिएको नेकपा (एमाले)का अध्यक्ष तथा प्रदेशसभाका उम्मेदवार तारा जोशीको भनाइ छ। मतदाता शिक्षाका लागि आफूहरूले पनि प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकजना खटाएको भए पनि त्यो पर्याप्त नभएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत दिलीप तामाङले जानकारी दिए। यो पटक तीनवटा मतपत्र छ, पढेलेखेका मतदाता विदेशिएका छन्, घरमा बूढापाकाहरू र महिला मात्र भएकाले बढी मत बदर हुने सम्भावना निकै रहेको अधिवक्ता युवराज जोशीले जनाएका छन् ।

मतपत्रको नमूना सबै मतदाताको घरदैलोमा पुर्‍याउन निर्वाचन कार्यालयले मात्र नसक्ने भएकाले हामी सबै राजनैतिक दलको दायित्व भएको क्षेत्र नं १ का प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार रघुवर भट्टले बताए। मतदाताले जुनसुकै उम्मेदवारलाई मत दिए पनि मत सही परोस् भन्ने हेतुले हामी सबै प्रतिस्पर्धामा रहेका दलले पनि आफ्ना कार्यकर्तालाई मतदाता शिक्षाका लागि खटाएको जानकारी गराए। जिल्लामा ११७ मतदान केन्द्र छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here