हुकुमबहादुर सिंह
नेपालको संविधान २०७२ को कार्यान्वयनसँगै नेपाली कम्युनिष्ट आन्दोलनमा काफी भ्रमहरू उत्पन्न भएका छन् । माओवादी केन्द्रले माओवादलाई चटक्कै छाडेर एमालेको नक्कली माक्र्सवाद लेनिनवादलाई भविष्यको पथप्रदर्शक सिद्धान्त मान्ने निर्णय गरेको छ । माओवादी केन्द्रका बुद्धिजीवीहरू र केही उपल्लोस्तरका नेताहरू यसमा हर्षित देखिएका छन् । यसलाई उनीहरूले नेपाली कम्युनिष्ट आन्दोलनको ६८ वर्षको इतिहासको महान् उपलब्धिसमेत भनिरहेका छन् । साँच्चै सच्चा सर्वहारावादीहरूका लागि के यो त्यस्तो उपलब्धि हो, जसलाई महान् भन्ने विशेषण दिन मिलोस् । तैपनि उनीहरूको मस्तिष्कमा महान् जनयुद्धको स्थान अब नेपालको संविधान २०७२को कार्यान्वयन गर्नका लागि एमालेसितको एकता नै महान् उपलब्धि भएको छ ।
यही सन्दर्भमा हेर्दाखेरि नेपालका केही समय अगाडिसम्मका केही माक्र्सवादी—लेनीनवादी—माओवादीहरू एकीकृत माक्र्सवादी—लेनिनवादीहरूसित विलीन भएर चरम अवसरवादीहरू बन्न तयार भएका छन् । यी दुवै र अन्य केही जो वामगठबन्धनमा सामेल छन्, यिनीहरूले देशमा घटिरहेका समस्याहरूको अन्तिम समाधान अब क्रान्तिबाट नभई संसदीय बुर्जुवा सिद्धान्तद्वारा समाधान खोज्ने मार्गतर्फ अग्रसर बनेका छन् । क्रान्तिबाट नभई संसदीय बुर्जुवा सिद्धान्तद्वारा समाधान खोज्ने मार्गतर्फ अग्रसर हुने भनेको दलाल पुँजीवादको विकास हो, समाजवादको होइन ।
अहिले तिनै अवसरवादीहरू मिलेर सरकार बनाउने निर्णय गरेका छन् तर उनीहरूमा एउटा डर त्रासले काम गरेको छ । कतै अमेरिकी, युरोपियन, भारत आदि देशका सरकारहरूले तिनीहरूको सरकारलाई कम्युनिष्ट सरकार भनेर नभनून् । केही वर्षअघि युरोपियन युनियनका मानिसहरू आफ्नो पार्टी कार्यालयमा आउने भएपछि माक्र्स, एंगेल्स र लेनिनका फोटाहरू लुकाउने एमाले नेतृत्व अहिले एमाले र माके संयुक्त सरकारमा उपेन्द्र यादवको पार्टीलाई समावेश गरेर उनीहरूमाथि लाग्ने संकटको मोचन गर्न चाहन्छन् । किनभने माके र एमाले कम्युनिष्ट होइनन् । त्यसैले उनीहरूको सरकारलाई कम्युनिष्ट सरकार नभनोस् भन्नेमा उनीहरू होसियार देखिन्छन् ।
कुरामा माक्र्सवादी लेनिनवादी भनेता पनि व्यवहारमा उनीहरूले नेपालको संविधान २०७२ को कार्यान्वयन गरेर नेपालमा दलालहरूको अधिनायकत्व स्थापना गर्न चाहन्छन् । तर जनतामा भ्रम छर्न भने उनीहरूको सरकारमार्फत नेपालमा समाजवादी संरचना सिर्जना गर्ने भनिरहेका छन् । सारमा उनीहरूको सरकारको मूल उद्देश्य नेपालमा सर्वहारावर्गीय क्रान्तिलाई मत्थर पार्ने नै हो । यो समाजवाद जसको कुरा यी चरम अवसरवादीहरूले गरिरहेका छन्, कार्ल माक्र्सले प्रतिपादन गरेको वैज्ञानिक समाजवादविरुद्धको समाजवाद हो र बरु नेपाली कांग्रेसले नगर्ने तर भन्न नछाडेको बीपीको बुर्जुवा समाजवाद हो । उनीहरूलाई थाहा छ संविधानमा लेख्दैमा कुनै पनि देशमा समाजवाद आउँदैन । तै पनि यिनले आफूलाई कम्युनिष्ट भन्न र नेपालमा समाजवाद ल्याउँछांै हामीलाई भोट देऊ भनेर जनतासित भोट मागे । नेपाली जनता फेरि अर्को पटक समाजवादको नाराभित्र लुटपुटिन पुगेका छन् । उनीहरूलाई थाहा छ विश्व एकाधिकार दलाल पुँजीवादविरुद्धको संघर्षमा विजय प्राप्त नगरी नेपालमा समाजवाद आउनेवाला छैन । तर तिनै विश्व साम्राज्यवादका दलालहरूसित मिलेर र उनकै आशिर्वाद प्राप्त गरेर देशमा समाजवाद ल्याउन चाहन्छन् । यी सबै भ्रमसिवाय अरु केही होइन ।
यी चरम अवसरवादीहरू—झापा आन्दोलनका सहीदहरू र माओवादी आन्दोलनका हजारौं सहीद, बेपत्ता योद्धा तथा घाइतेहरूका परिवारलाई देख्न छाडेका छन् । सरकारमा जाने लोभमा उनीहरूले के भुल्न खोजेका छन् भने युद्धले छोडेका असरहरू रहेसम्म युद्ध भइरहन्छ । उनीहरूले देख्न सकेनन् कि बोल्नै नसकिने पीडा र दर्दहरूको यो अवधिमा लोकप्रिय चाहनाहरूको जागरण भएको छ । यसलाई ढाकछोप गर्न उनीहरूले नेपाली जनताका बीचमा समाजवादी हल्ला फैलाएका छन् । के सही हो भने जब समाजवादी हल्ला हुन्छ, त्यसले त मजदुरवर्गको इतिहासलाई जीवन्तता दिने नभई उनीहरूलाई बुर्जुवा समाधानमार्फत दासताको बन्धनले बांध्ने हो । उनीहरूले ल्याउने यस्तो समाजवादले उही गरिबी र पीडाको बोझमात्रै थपिदिने स्पष्ट छ ।
कम्युनिस्ट (माक्र्सवादी–लेनिनवादी)को समाजवाद भनेको माक्र्सद्वारा प्रतिपादित समाजवाद हो । यसले ऐतिहासिक भौतिकवाद, वर्ग संघर्ष, अतिरिक्त मूल्यका सिद्धान्त जस्ता वैज्ञानिक आधारमा वर्गहरूबीच संघर्ष निरन्तर हुने र यसै क्रममा पुँजीवादलाई समाप्त गरी स्थापना गरिने समाजवाद र साम्यवाद नै वैज्ञानिक समाजवाद हो । माक्र्सवादी र लेनिनवादीले सामन्तवाद, पुँजीवाद र साम्राज्यवादी शोषणका सारा जराहरू उखेलेर सम्पत्ति र उत्पादनका साधनहरू साझा बनाएर जनताको नेतृत्वमा कायम गरिने समाजवादी व्यवस्थालाई वैज्ञानिक समाजवाद वा सर्वहारा समाजवाद वा कम्युनिष्ट समाजवाद भनिन्छ । माके र एमाले अहिले पनि आफूलाई माक्र्सवादी–लेनिनवादी भनिरहेका छन् तर उनीहरूले भन्ने गरेको समाजवाद माक्र्सवादी–लेनिनवादी सिद्धान्तअनुसार छैन र होइन पनि ।
(- जनधारणा साप्ताहिक)
















