कम्युनिष्टहरूको एकता र एकतापछिको भविष्य

214

 डा. दीपेन्द्र रोकाया
नेपालमा दुई ठुला कम्युनिष्ट पार्टीहरू एक हुन लागेको खबरले नेपालका श्रमजीवीहरूमा आशा जगाएको थियो । यही आधारमा आम निर्वाचनका बेला एकले अर्कालाई साथ, सहयोग दिएका पनि थिए । परिणामले सार्थकता पायो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आह्वान गरेअनुसारको बहुमत प्राप्त भयो । यी दुई पार्टीका शीर्ष नेताहरूले निर्वाचनलगत्तै एकता हुनसक्ने बताएका थिए, त्यसो भएन । त्यस्तै, सरकार गठन अगावै हुनसक्ने पनि बताएका थिए, त्यो पनि भएन । सरकार गठनपछि नेपाल कम्युनिष्ट पार्टी स्थापना तथा लेनिन जयन्तीका दिन पार्टी एकता हुन्छ भनियो, त्यो दिन पनि भएन । बरु त्यो दिनको गाइजात्राले नेताहरू सैद्धान्तिक रूपमा भन्दा पनि प्राविधिक विषयमा अल्मलिनाले आम खुशी पर धकेलिन गएको आभास भइरहेको जनमत देखा पर्न थालेको छ ।
जति कम्युनिष्ट एकताको पक्षमा जनमत छ, त्यसअनुसार शीर्ष नेताहरू अगाडि बढ्न सकेनन् भने माछो, माछो, भ्यागुत्तो गरेभैंmको अवस्थामा नेपालको कम्युनिष्ट आन्दोलनलाई पु¥याउनेवाला छन् भन्ने धारणा पनि आउन थालेको छ । नेकपा माओवादी केन्द्रले समानताको आधार खोज्नु स्वाभाविकै हो । यो दुवैको जीतको आधार खोजिएको हो । यो स्वाभिमानको कुरा हो । विधि र प्रक्रियामा माओवादी केन्द्रले अलि ढिलोगरी जनतामाझ भन्नाले पार्टी एकताका बारेमा माओवादीको ठुलै तप्का भ्रम रहेको छ । अर्कातिर नेकपा एमालेले कम्पनीमा बनाइसकेको जुत्तामा खुट्टा ताछेर भए पनि छिराउन लगाउने मुड देखाइरहेको छ । यसले एमालेबाट ठूलोपन र दम्भीपन प्रस्तुत भई पार्टी एकताको सम्मान गर्ला भन्ने कुरामा आशंका जन्माएको छ । साँच्चै भन्ने हो भने राष्ट्रिय सभागृहको प्रहसनले कम्युनिष्टहरूको एकता भन्ने कुरा मात्र हो कि भन्ने जस्तो भइरहेको छ ।

 
माथि चर्चा गरिएका आशंका सत्यमा परिणत नहोस् । बरु वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी गठन गर्दाको उद्देश्यअनुसार, अहिलेको धरातलमा उभिएर विश्व चुनौतीलाई सामना गर्दै समाजवादी क्रान्ति गर्ने आँटका साथ पार्टी एकता गर्न ढिला गर्नु हुँदैन । सैद्धान्तिक विषयमा बढी छलफल हुनपर्छ । किनकि सिद्धान्त मार्गनिर्देशक बाटो हो, ऐना हो । आफू हिँड्ने बाटो स्पष्ट भयो भने नेपालका कम्युनिष्टहरूलाई वैचारिक रूपमा बरालिने र टुटफुटको शिकार भई भौतारिने दिनहरू समाप्त हुनेछन् । यस विषयमा केन्द्रित भई पार्टी एकताको कार्य लम्बिएको हो भने पनि कम्युनिष्ट जनमतलाई यी पार्टीहरूले अल्मल्याउनु हुँदैन । कम्युनिष्ट पार्टीहरूलाई राम्ररी थाहा हुनैपर्ने कुरा के हो भने अहिले पनि नेपाली काँग्रेस जनमतमा कम छैन । भलै ऊ सत्ता बाहिर रहनपर्ने भएकाले रन्थनिएको छ ।
नेपालमा नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रियाबाट सिंगो कम्युनिष्ट पार्टीको एकता प्रक्रियालाई शुरुवात गराउने आधार बनाउनु पर्दछ । यसो गरियो भने विभिन्न समयमा फरक फरक पसल थाप्न पुगेका कम्युनिष्ट घटकहरूलाई स–सम्मान एकै ठाउँमा आउने आधार मिल्नेछ । यो साझा धरातल निर्माण गर्न सक्नु नै यतिबेला केपी ओली र प्रचण्डको काँधमा आएको जिम्मेवारी हो । यस जिम्मेवारीलाई उहाँहरूले पूरा गर्न सकेको खण्डमा नेपालका कम्युनिष्टहरूका लागि सत्ता हातमा लिने उपयुक्त अवसर बनेको छ । नेपालीमा एउटा उखान छ, ‘खाने बेला रिस उठ्छ’ भनेझैं नेपालका केही कम्युनिष्ट घटकका व्यवहार देखा परिरहेको छ । यद्यपि यतिबेला फलेको हाँगो निहुरिएको देख्न पाइएझैं ठूला देखिएका पार्टीहरूले फराकिलो छाती देखाउन सक्नु पर्दछ । यसो गर्न सकिएको खण्डमा कसैप्रति पनि हेपेको, अस्तित्व नामेट पार्न लागेको रूपमा बुझ्ने अवस्था रहने छैन ।

 
हालैका दिनहरूमा कम्युनिष्ट सरकारले यातायात क्षेत्रको केही सिण्डिकेट तोड्यो । यसको सबैले समर्थन गरिरहेका छन् । सरकार छ र स्थायी सरकार आयो है भन्ने प्रभाव बिस्तार भईरहेको छ । यातायात क्षेत्रको मनपरीबाट आहत भएकाहरूले आवाज उठाउनु स्वाभाविकै हो । किनकि यहाँ देखिँदो मनपरी थियो । यस्तो त जीवनका हरेक क्षेत्रमा सिण्डिकेट छन् भन्ने कुरा मिडियामा आउन थालेका छन् । यी तथ्यहरू हेर्दा के लाग्दछन् भने जन्मदेखि मृत्यु हुँदासम्म हाम्रो जिन्दगी कसैको फाइदाको लागि सिण्डिकेटमै बित्ने गरेका रहेछन् । यिनको नसा–नसाको चिरफार गर्ने र तिनको मनपरी व्यापारीपन तोड्ने काम गर्न बाँकी नै छ ।
जनताले चाहेको परिवर्तन आफ्नै जीवनकालमा देख्न र भोग्न पाइयोस् भन्ने हो । यसतर्फ कम्युनिष्ट पार्टीको ध्यान केन्द्रित हुन पर्दछ । तर यहाँ यस एकतासँगै उठेको प्रश्न के पनि छ भने यो एकता वाम एकता हो । वामपन्थी सबै कम्युनिष्ट हुन सक्तैनन् । यो अलि सैद्धान्तिक विषय हो । सत्ता पक्षभन्दा बायाँतर्फ बस्नेलाई वामपन्थी भन्ने चलन छ । यो वामपन्थ नेपालमा हेर्दा सत्तामा पुगेको छ । उनीहरू कम्युनिष्टको नाममा स्थापित पनि छन् । यसो भएकाले नेपालमा वामभन्दा पनि कम्युनिष्ट एकताको कुरा हो । यद्यपि वामपन्थ पनि नवमाक्र्सवादका रूपमा विकास भएको अवस्था हो ।

 
यसकारण यहाँको एकता चोचोमोचो मिलाउने एकता नभई एकले अर्काको सम्मान गर्न सक्ने, सबैको अस्तित्वको रक्षा हुन सक्ने र सबै अटाउन सक्ने साझा धरातलको खोजी हुन पर्दछ । चर्चामा सुन्न परेजस्तो केपी शर्मा ओली र प्रचण्डको हैसियतको लागि मात्र एकता प्रक्रियाका कुरा अल्मलिनु हुँदैन । दुवै पार्टीका सबै तहबाट पार्टी एकताका एजेण्डा पारित गर्दै नेपाली क्रान्तिको समाजवादी बाटो तय गर्ने विषयमा केन्द्रित भई बहस छेड्नु पर्दछ । मुखले भनेर क्रान्ति वा समृद्धि हुँदैन, त्यो गरेर देखाउने बेला आएको छ । मौका आउँछ, पर्खदैन भनेझैँ नेपालका कम्युनिष्टहरूले आफ्नो सैद्धान्तिक आदर्श जोगाउँदै जनताले चाहेको परिवर्तन स्थापित गर्ने बेला आएको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here