दमक/ केही वर्षयता झापाको दमक आसपासका क्षेत्रमा सञ्चालित प्राविधिक शिक्षातर्फ महिलाको आर्कषण बढ्दै गएकोे छ ।
दमकको आम्दा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको विभिन्न पाँचवटा प्राविधिक विषयको पठनपाठनमा अध्ययन गर्न आउने अधिकांश महिला भएको जनाएको छ ।
सीप तथा व्यावसायिक तालीम परिषद्को (सिटिइभिटी) सम्बन्धनमा सञ्चालित स्टाफ नर्स, स्वास्थ्य सहायक, प्राविधिक–एसएलसीतर्फका अनमी, सिएमए, ल्याब असिस्टेन्टजस्ता प्राविधिक विषयमा ७० प्रतिशत हाराहारी महिलामात्र भएको प्रतिष्ठानका अधिकृत प्रदीप श्रेष्ठले जनाए । उनका अनुसार सिटिइभिटीले शुक्रबार लिएको परीक्षामा ती विषयमा ४४१ जना विद्यार्थी सहभागी भएका छन् ।
स्टाफ नर्सको कोटामा १३४, एचएमा ४६, अनमीमा १२८, ल्याब एसिस्टेन्टमा ५२ जना र ८१ जनाले सिएमएका परीक्षार्थीले परीक्षा दिएका छन् । तीमध्ये स्वास्थ्य सहायक एचएमा छ पुरुष र २८ महिला, ल्याबमा दुई पुरुष ५० महिला र सिएमएमा १८ पुरुष र ६३ महिला विद्यार्थीले परीक्षा लेखेको प्रतिष्ठानले जनाएको छ । ती सबै विषयगत विषयमा छात्रवृत्तिसहित ४० जनाको कोटा भएको जनाइएको छ ।
स्टाफ नर्समा पुरुषले समेत अध्ययन गर्नचाहे १५ प्रतिशत कोटा निर्धारण गरिने व्यवस्था गरिए पनि दमकको आम्दामा भने त्यो कोटामा पढ्न चाहने नआएको जनाएको छ । प्रतिष्ठानका अधिकृत श्रेष्ठले प्रक्रिया पूरा गरेर स्टाफ नर्समा पनि यो वर्षदेखि पुरुषको लागि छुट्टै कोटाको व्यवस्था गरे पनि त्यस विषय पुरुष विद्यार्थी पढ्न नआएको जनाए ।
सरकारले ल्याएको सो कार्यक्रमका बारेमा सर्वसाधारणले थाहा नपाएका कारण पनि पुरुष सहभागिता कम भएको हुनसक्ने श्रेष्ठको भनाइ छ ।
कृषिसम्बन्धी प्राविधिक शिक्षालयमा समेत महिलाको आर्कषण भएको विद्यालयले जनाएको छ । सिटिइभिटीको सम्बन्धनमा सञ्चालित सो विद्यालयमा टि–एसएलसीतर्फको जेटिए (जुनियर टेक्निकल एसिस्टेन्ट), भेटेरिनरीसहित बाली विज्ञानतर्फ तीन वर्षे डिप्लोमा अध्ययन भइरहेको विद्यालयका प्रधानाध्यापक दुर्गा सेढाईंले जनाए ।
सिटिइभिटीले लिएको परीक्षामा करीब २२० विद्यार्थी सहभागी थिए । तीमध्ये ८० प्रतिशत महिलानै भएको विद्यालयले जनाएको छ । स्थानीयभन्दा अन्यत्र क्षेत्रका विद्यार्थीले यहाँ पढ्न आउने गरेको उनले जनाए । त्यहाँ पूर्वको पाँचथर, ताप्लेजुङदेखि पश्चिमका दाङ, कालीकोट, दैलेख, जाजरकोटसम्मका विद्यार्थी पढ्न आउने गरेको शिक्षक प्याकुरेलले जनाए ।
छात्र र छात्रा अलगअलग रहने छात्रावास भवन धमाधम निर्माण भइरहेको छ, यो पूरा भएपछि टाढाटाढाबाट आउने विद्यार्थीलाई सुविधा पुग्ने प्रअ सेढाईंले भन्नुभयो । उहाँले कृषि अध्ययन पूरा गरेका धेरै विद्यार्थीले गाउँघरमा स्वरोजगारीका अवसरसमेत प्राप्त गरेका बताउनुभयो । यस विद्यालयबाट उत्पादित जनशक्तिले करीब ७० प्रतिशत स्वरोजगार भएको पाएको विद्यालयको एक अध्ययनले समेत देखाएको प्रअ सेढाईंले दाबी गरे ।
दमकसहित जिल्लामा सञ्चालित सिटिइभिटीबाट सम्बन्धन पाएका दुई दर्जन जतिका शिक्षालयमा समेत पुरुषभन्दा महिलाको संख्या धेरै भएको सम्बद्ध शिक्षालयहरुले जनाएका छन् । रासस


















