५ महिने सरकारको उपलब्धि कति सत्य ?

131

राज्यलक्ष्मी शाक्य

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको पाँच महिना पुगेको छ । पाँच महिनामा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । तर प्रधानमन्त्री कार्यालयले सरकारले ५ महिनाको अवधि सफल बनाएको दाबी गर्दै ५ महिने उपलब्धि सार्वजनिक गरेको छ । सरकारले अहिलेसम्म केके काम ग¥यो त ?

सरकारले सार्वजनिक गरेको वर्तमान सरकारको पाँच महिना शीर्षकको प्रतिवेदनको पहिलो बुँदामा यातायात क्षेत्रको सिण्डिकेट अन्त्य भनेर राखिएको छ । सरकारले २०७५ साल असारसम्म गरेका महत्वपूर्ण कामको सूचिमा यातायात क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य गरि देशभर एकैसाथ रुट परमिट खुला गरिएको उल्लेख छ । दोस्रो बुँदामा सुन तस्करमाथि कारबाही गरिएको उल्लेख गरेको छ ।

सुन तस्करी नियन्त्रणमा प्रभावकारी कदम चालिएको दाबी गर्दै संगठित अपराधको सञ्जाल भत्काउने कार्यमा सफलता मिलेको छ उल्लेख गरिएको छ । त्यसैगरी सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा हुने गरेको ढिलासुस्ती अन्त्य गरिएको दाबी गर्दै प्रतिवेदनमा ठेकेदार वा कर्मचारीको मिलिमतोमा भएको ढिलासुस्ती माथिको कारबाहीलाई निरन्तरता दिंदै अनुगमनलाई अझ व्यापक बनाइएको उल्लेख गरिएको छ । औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई उपलब्धीको रूपमा उल्लेख गरेको छ । विदेश भ्रमणलाई उपयोगी, नतिजामुखी, मितव्ययी र पारदर्शी बनाउन वैदेशिक भ्रमण ब्यवस्थापन निर्देशिका स्वीकृत गरि लागू गरिएको सरकारले जनाएको छ ।

डुबान समस्याको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, लक्ष्यभन्दा बढी राजस्व संकलन, विकास खर्चमा वृद्धि लगायतको विषयलाई पनि उपलब्धीको रूपमा उल्लेख गरिएको छ । नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबासु रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सकिएको, मुग्लिनमा त्रिशूली नदीमा आर्कब्रिज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले उपलब्धिमा राखेको छ । नागढुंगामा सुरुङ मार्ग निर्माण हुनुलाई पनि सरकारको उपलब्धीको सूचीमा राखिएको छ । सरकारले ५ महिनाको अवधिमा ९० वटा तुइन विस्थापित गरेको पनि जनाइएको छ । भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख काटिनु, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले आफ्नो उपलब्धिमा राखेको छ ।

हवाई सेवा र पर्यटन पूर्वाधारमा उल्लेखनीय परिवर्तन भएको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका लागि सन् २०२० लाई नेपाल भ्रमण बर्षका रूपमा मनाउन सचिवालय स्थापना गरी काम अघि बढाइएको जानकारी दिइएको छ । नेपालका आवश्यकता र प्राथमिकतामा आधारित विदेश सम्बन्ध विस्तार गरिएको छ । यस अवधिमा प्रधानमन्त्री केपी ओलीले छिमेकी देश भारत र चीनको भ्रमण गरेको र उक्त भ्रमण उपलब्धिमूलक भएको दाबी गरिएको छ ।

तर, सरकारले दाबी गरेका यी उपलब्धिहरूमा भने जनताले नै प्रश्नचिह्न उठाएका छन् । अघिल्ला सरकारले गरेका कामहरूलाई पनि यस सरकारले आफ्नो उपलब्धिको रूपमा व्याख्या गरेको छ । यद्यपि, कुनै सरकारको ५ महिने कार्यकालमा नै ठूलो कायापलट होला भनेर अपेक्षा गर्नु उपयुक्त हुँदैन । ५ वर्षका लागि गठन भएको सरकारले गर्न अझ धेरै बाँकी नै छ । त्यसका लागि अहिले सुरुवात भएका कामहरूलाई सरकारले जनतामाझ प्रस्तुत पो गर्नुपर्ने हो । तर, सरकार भने अघिल्ला सरकारका पालामा भएका कामहरूलाई पनि आफैले गरेझैँ गरी प्रस्तुत हुनु जनताको नजरमा आफू कतै तल झरिएको त छैन भन्ने कमजोर मानसिकता झल्किएको देखिन्छ ।

सरकार गठन भएयता जुन रफ्तारमा काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन । स्थानीय तथा प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् । जनताको आधारभूत आवश्यकता पूरा गर्नतर्फ भन्दा सरकार दीर्घकालीन योजनाहरूमा केन्द्रित देखिन्छ । जसका कारण जनता सरकारका वर्तमान कामकारबाहीबाट निराश पक्कै भएका छन् । जनतालाई थप निराश पार्न नदिन सरकारले आफ्नो कामकारबाही चुस्तदुरुस्त पार्ने हो न कि केही भइरहेका विकासका कामलाई देखाएर आफै मख्ख पर्ने होइन । [email protected] – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here