काठमाडौं/ (बिमस्टेक) सम्मेलनको सुरक्षा कमान्ड नेपाली सेनाले गर्ने भएको छ । सेनाको नेतृत्वमा चारवटै सुरक्षा निकाय परिचालित भएको छ । सरकारले सेनाको कमान्डमा सम्मेलन सुरक्षाका लागि सम्पूर्ण सुरक्षा संयन्त्र प्रयोग गर्ने योजना बनाएको हो । सेनाकै सुरक्षा योजनाअनुसार अन्य सुरक्षा एजेन्सी परिचालित हुनेछन् । सबै सुरक्षा निकायका करिब १७ हजार सुरक्षाकर्मी खटिनेछन् ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा एकीकृत सुरक्षा योजना बनाएको सरकारले सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई परिचालन गर्नेछ ।
गृह मन्त्रालयका अनुसार बिमस्टेक सम्मेलनमा तीन सुरक्षा घेरा हुनेछ । सबैभन्दा भित्री घेरामा नेपाली सेना खटिनेछ । दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरीको सुरक्षा हुनेछ । सेना, प्रहरी र सशस्त्रका ‘इन्टेलिजेन्स’ टोली सादा पोसाकमा खटिनेछन् भने राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर सिभिलमा तीनवटै घेरामा छरिएर रहन्छन् । यसबाहेक भिभिआइपीले आफूसँगै ल्याउने सुरक्षाकर्मी पनि खटिनेछन् । नेपाली सुरक्षाकर्मीकै योजनाअनुसार परिचालित हुने भिभिआइपीले आफूसँगै ल्याउने सुरक्षाकर्मीहरू हतियारसहित हुनेछन् ।
नेपाली सेनाले सम्मेलन अवधिभर सम्मेलनस्थल तथा भिभिआइपी आवागमन क्षेत्रमा हवाई गस्ती गर्नेछ ।


















