हत्या गर्नु अघि यस्तो थियो राजा वीरेन्द्रमाथि मनोवैज्ञानिक आक्रमण

693

 चन्द्रकान्त उदास

२०४२ सालको योजना तुहिएपछि २०४५ सालमा भारतले नेपालमाथि किन नाकाबन्दी लगायो भन्ने बारेमा अब लेखि रहनु परेन । २०४६ सालमा छिमेकी शक्तिको गुप्त योजनाले नै हावा खाएको, राजा वीरेन्द्रबाट अप्रत्यासित रुपमा बहुदलको घोषणा हुँदा छिमेकी शक्तिले नेपालमाथिको नीति बदलेर थुपारिदिएका भुटानी शरणार्थीहरुका बारेमा पनि यहाँ चर्चा गरिरहनु अर्थ छैन ।

अब यहाँ केही पहिलेका कुरा उल्लेख गर्नु जरुरी लागेको छ । ‘सन् १९६२ मा नेपाललाई कमजोर पारेर अपांग बनाउने नियतले भारतले नाकाबन्दी ग¥यो ।’ दरबारबारे जानकार एक कुटनीतिज्ञ उसबेलाको अवस्थाबारे सम्झना गर्छन् – ‘ त्यसबेला चीनसंग भारतको युद्ध भएकाले बाध्य भएर उसले नाकाबन्दी हटायो । सन् १९६५ मा राजा महेन्दले चीन जोड्ने कोदारी राजमार्ग खुलाएपछि नेपालकोे राजसंस्थासंग भारत चिढिएको थियो । किनकी पश्चिमतिरको सियाचिन र पूर्वतिरको झण्डै ३६ हजार वर्गकिलोमिटर भूमि चीनसंगको युद्धमा भारतले गुमाएको थियो ।’

ती कुटनीतिज्ञ थप्छन् – ‘ठीक त्यसैबेला चीनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ, प्रधानमन्त्री चाउ एनलाई र सेनापति ‘मार्सल’ चेनसंग राजा महेन्द्रको सम्बन्ध अत्यन्त घनिष्ट बनिरहेको थियो । नेपालले कोदारी राजमार्ग निर्माण गर्दा भारतीय रणनीतिकारहरु राजा महेन्द्रलाई डर देखाउँदै भन्थे कि तिमीहरुले चीनसंग राजमार्ग जोड्यौ भने चीनियाँ लाल सेना पसेर तिब्बत कब्जा गरे झैं नेपाल पनि कब्जा गर्नेछन् । त्यसैबेला राजा महेन्द्रले भनेका थिए – ‘साम्यवाद ट्याक्सी चढेर आउदैँन।’

‘२०४७ सालको संविधानले संवैधानिक राजतन्त्रको व्यवस्था कायम गरेपछि नेपालका कार्यपालिका र व्यवस्थापिकामा भारतीय दुतावासको पकड त जम्यो सेना र न्यायपालिका पनि आफ्नै मातहतमा होस् भन्ने ऊ चाहन्थ्यो,’ तत्कालीन संविधान निर्माण समितिका एक सदस्य आज पनि ठोकुवा गर्दै भन्छन् । – ‘२०४८ सालपछि जति पनि सरकार बने , जुन सरकारले मन्त्रिपरिषदबाट जे निर्णय गर्थे ती तत्कालै भारतीय दुतावासमा पुग्थे । हुन त अहिले यस्ता काममा अरु तीव्रता आएको छ – भनिन्छ ।

‘२०४९ सालमा नेपालमा थाई एयरवेजको विमान दुर्घटना भयो । सायद त्यो ललितपुरको भट्टेडाँडामा हुनुपर्छ । २४ घण्टासम्म पनि विमानका अवशेषहरु नपाइएपछि भारतीय दुतावासका मिनिष्टर रवीन्द्र उरी जो ‘र’ का स्टेशन चिफ थिए , उनले प्रधानमन्त्री गिरिजालाई भारतले अत्याधुनिक हेलिकप्टर पठाइ दिन्छ, त्यसबाट चाँडै पत्ता लाग्छ भने ।’ यो कुरा कान्तिपुर टेलिभिजनमा पत्रकार स्वागत नेपालसंगको वार्तामा गिरिजाले भनेका छन् । र , यही कुरालाई गिरिजाको जीवनशैलीमा नेपाल साप्ताहिकले पनि प्रकाशित गरेको छ । टनकपुर सन्धिको कारण राष्ट्रियताप्रति वास्ता नगर्ने भनेर चिनिएका गिरिजाले  ‘हुन्छ’ भनेपछि भारतीय वायुसेनाका दुई हेलिकप्टर नेपाल प्रवेश गरे ।’ वास्तवमा ती हेलिकप्टरहरु उद्धारमा आएका नभई २०४५ सालमा नेपालले चीनबाट ल्याएको एन्टी एयरक्राफ्ट गन नेपाल–भारत सीमाका नेपाली सैनिक व्यारेकहरुमा छन् कि छैनन् भनेर जाँच्नु थियो ‘ – अवकाश प्राप्त तत्कालीन एक सहायक रथीले भने – ‘नेपालमा सहयोगको नाममा प्रवेश पाएपछि जहाँतहीँ उडान भर्न पाइन्छ भन्ने भारतीय शासकको विश्लेषण रहेको हुनसक्ने त्यसबेला विश्लेषण गरिएको थियो । अचानक भारतीय वायुसेनाको हेलिकप्टर काठमाडौंको आकाशमा देखिएपछि ११ नम्बर हवाई बाहिनी अड्डा एयरपोर्टले जंगी अड्डालाई सूचित ग¥यो र तत्कालै प्रधानसेनापति गडुल शमशेर जबराले राजा वीरेन्द्रलाई जानकारी गराए ।’ तत्कालीन दरबारभित्रको स्रोतले भन्यो – राजा वीरेन्द्रले आदेश दिए – ‘ती दुवै हेलिकप्टर सैनिक घेरामा राख्नु र चालकहरुलाई आफ्नो घेराबाट बाहिर जान नदिनु । अत्यन्त शुक्ष्म ढंगले अध्ययन गरेर तिनलाई फर्काइदिनु ।’

 नेपाली सेनाले राजाको आदेश बमोजिम भारतीय सेनाको हेलिकप्टरलाई चालकसहित आफ्नो सुरक्षा घेरामा राख्यो । राजा वीरेन्द्रले गिरिजालाई दरबार बोलाएर भने – ‘के हो पिएम, विदशी सेनाको हेलिकप्टरलाई खुलेआम आफ्नो आकाश प्रयोग गर्न दिनुहुन्छ ? डिफेन्स मिनिष्टर भएर पनि त्यति त सोच्नुपर्छ । यसरी विदेशी सुरक्षा निकायलाई खुला आकाश प्रयोग गर्न दिँदा हाम्रा धेरै सुरक्षा रहस्यहरु चुहिन्छन् । तिनलाई फिर्ता पठाऊँ ।’ यो कुरा गिरिजाले सोहि कान्तिपुर टेलिभिजनसंगको वार्तामा स्वीकारेका छन् ।

राजा वीरेन्द्रको खप्की गिरिजालाई के पच्थ्यो र ? आफ्नो वायुसेनाका हेलिकप्टर राजाको आदेशमा नेपाली सेनाले घेराबन्दीमा राखेको र त्यतिकै फर्काइदिएको विश्लेषण भारतीय सत्ताधारीहरुले गरे । त्यसबेला संवैधानिक भएपनि राजाका निश्चित अधिकारहरु थिए । संसदले पारित गर्ने विधेयकहरुमा राजाले लालमोहर लगाएपछि मात्र पारित हुन्थे । तर , एकतन्त्रीय राजतन्त्रकालमा खडा गरिएका राज्यका संरचनाहरुलाई कसरी हुन्छ ध्वस्त पार्ने नियतमा विदेशी शक्तिहरु क्रियाशील थिए । खासगरी आफ्नो निहीत स्वार्थ राजा वीरेन्द्रका कारण पूरा हुन नपाएको ठान्ने छिमेकी तथा अन्य शक्ति राष्ट्रहरु राजा वीरेन्द्रप्रति क्रोधित थिए । विदेशी राजनीतिक परिवारको कुरा गर्ने हो भने जवाहरलाल नेहरुको पालादेखि उनकी छोरी इन्दिरा र राजीव गान्धीसम्म नेपालको राजसंस्थाप्रति चिढिएको थियो ।

हुन त बहुदलपछिको पहिलो निर्वाचित सरकारका प्रधानमन्त्री गिरिजा भारत भ्रमणमा जाँदा टनकपुर सन्धि गरेर आएपनि सम्झौतामात्रै हो भनेर ढाँटेका थिए । पछाडि सर्वोच्चले सन्धि नै भएको निर्णय गरेपछि राजा वीरेन्द्रसंग गिरिजाको सम्बन्ध बिग्रदै गयो ।

‘टनकपुर सन्धिअघि महाकाली नदीमाथिको शारदा ब्यारेजमा नेपाल र भारत दुबै देशका झण्डा राखिन्थ्यो । गिरिजाले टनकपुर सन्धि गरेपछि भारतले नेपालको झण्डा हटायो । र, भारतीय सीमा सुरक्षा बल नेपाली भूमि गड्डाचौकीमा आएर बस्न थाल्यो ‘ , कञ्चनपुर जिल्ला विकास समितिका पूर्व सभापति ऋषिराज लुम्सालीले त्यसैबेला जानकारी गराउनु भएको थियो , – ‘ अहिले पनि त्यहीँ बसिरहेको छ । करिब ३५ वर्ग किलोमिटर भूमि टनकपुर सन्धिको कारण नेपालले गुमाउनु पर्दा राजा वीरेन्द्र अत्यन्त भावुक बनेका थिए । देशप्रतिको राजा वीरेन्द्रको भावुकतालाई विदेशी तथा छिमेकी शक्तिले आफ्नो लागि प्रतिकूल रहेको ठाने ।’

‘खासगरी छिमेकी तथा विदेशी शक्ति केन्द्रहरु नेपालका राष्ट्रप्रमुख अर्थात राजाको सम्बन्ध चीनसंग दरिलो रहेको रुचाउँदैन थिए । प्रष्टरुपमा भन्दा भारतीय राजदूत विमलप्रसाद दरबारलाई सांघुरो घेरामा पार्दै सरकारलाई आफ्नो कठपुतली बनाउन चाहन्थे’, राजा ज्ञानेन्द्रको शाहीकालमा मन्त्री भएका एक कुटनीतिज्ञ भन्छन् – ‘नेपालको आर्थिक क्षेत्रलाई अपांग बनाउने खुराफाती योजना विदेशीहरुसंग थियो , नेपाल सरकारको कुनै मन्त्रीको एउटा तोक विदेशी शक्तिलाई प्रसन्न बनाउन र उसको स्वार्थपूर्ति गर्न काफी थियो । यता भर्खर सत्ताको स्वाद चाखेका नेपालीलाई एक लाख रुपैंयाको विटो भनेको ठूलो कुरा थियो ।’

२०५१ सालको मध्यावधी निर्वाचन अगाडि नै राजा वीरेन्द्रलाई सरकारले विदेशी शक्तिको उक्साहटमा मनोवैज्ञानिक रुपमा विक्षिप्त जस्तो पारेको थियो । राष्ट्रका जुन–जुन निकायलाई विकासको आधार बनाउने भन्ने राजा वीरेन्द्रको योजना थियो ती सबै सरकारले भताभुंग पारिसकेको थियो, कौडीको भाउमा विदेशीलाई बेचिसकेको थियो । राष्ट्र प्रमुखलाई निराश पार्दा उसमा यस्तो आशंका पैदा हुन्छ कि सबैले विश्वासघात गरेको र आफ्नो सुरक्षा रहस्यमाथि नै विश्वासघात (ग्रेटेस्ट सेक्युरिटी बीच) भएको अभ्यास हुन्छ भन्ने हरेक जासुसी निकायको मूलमन्त्र नै हुन्छ ।

‘२०४९ सालमा आएका दुई भारतीय हेलिकप्टरमाथि राजाको आदेशमा जस्तो ‘एक्सन’ लिइयो, त्यसपछिदेखि नै राजा वीरेन्द्रमाथि छिमेकी तथा विदेशी शक्तिले मनोवैज्ञानिक आक्रमणको गति बढाएका हुन् । २०३०/२०३२ सालमा दक्षिणको छिमेकी र सात समुन्द्रपारीको महाशक्ति राष्ट्रले नेपाल टुक्रयाएर चीनविरुद्ध छापामार युद्धको थालनी गरेका थिए । राजा वीरेन्द्रको आदेशमा ती तिब्बती छापामारलाई निशस्त्र गर्दै छापामार प्रमुख जनरल वाङ्दीलाई गोलीले उडाइदिएपछि दक्षिणको छिमेकी र महाशक्ति राष्ट्रको बारेमा पोल खुल्न गई विश्वभर तिनले लज्जित हुनुपरेको थियो , ‘राजा वीरेन्द्रसंग लामो समय संगै रहेका एक सुरक्षा अधिकारी भन्छन् – ‘यसै कारणले पनि राजा वीरेन्द्र विदेशी तथा छिमेकीको निम्ति आँखाको कसिंगर बन्नु परेको थियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here