एजेन्सी / भूमिगत आईएस नेता अबु बकर अल–बगदादीको एक प्रोपोगाण्डा सार्वजनिक भएको छ । पाँच वर्षपछि पहिलो पटक उनको भिडयो बाहिरिएको हो । अहिलेको भिडियोमा बगदादीको दोस्रो भिडियो सार्वजनिक हो । पूर्वी सिरियामा रहेको आईएसको आधार इलाका नष्ट गरिएको केही हप्तापछि यो भिडियो आएको थियो । यस अघि बगदादीको भिडियो सन् २०१४ को मध्यमा सार्वजनिक भएको थियो । उक्त भिडियोमा उनले इस्लामिक क्यालिफेट ब्युताइएको घोषणा गरेका थिए । ‘क्यालिफेट’ले मुस्लिम विश्वको सर्वोच्च राजनीतिक नेतृत्वलाई जनाउँछ ।
मुसलमान सम्प्रदायमा प्रारम्भदेखि सुरु यो परम्परा अन्तिम पटक अटोमन साम्राज्यका राजाले सम्हालिरहेका थिए । तर अटोमन साम्राज्य अन्त्य भएर टर्कीको स्थापना भएपछि त्यसका पहिलो राष्ट्रपति अतातुर्कले यसको अन्त्यको घोषणा
गरिदिए । भिडियोभन्दा मोटो देखिएका बगदादीले आफ्नो अन्तिम आधार इलाका नष्ट भएको स्वीकारेका छन् । यसका लागि उनले क्रिश्चियनको ‘क्रुरता’लाई दोष लगाएका छन् । भिडियोमा बगदादी पलेटी कसेर बसेका छन् । उनको छेउमा एके–४७ देखिन्छ । भिडियोमा उनी ४० सेकेण्डभन्दा कमै बोल्छन् । केहीले भिडियोको आधारमा उनी हिडडुल गर्न नसक्ने अवस्थामा छन् कि भन्ने आनुमान गरेका छन् । भिडियोमा उनी क्रिश्चियनप्रति क्रुद्ध देखिन्छन् । “इस्लाम र इस्लाम धर्मावलम्बी र ‘क्रस’ र त्यसलाई मान्नेबीचको लडाई लामो हुनेवाला छ । बघुजको युद्ध सकियो । तर यसले क्रिश्चियनको मुलनमान समुदायप्रतिको क्रुरता, बर्बरता र खराब नियत प्रदर्शन गर्यो ।” भिडयोमा बगदादीले भनेका छन् ।
भिडियो जारी गरेर आईएसले ठूलो युद्धपछि आफ्ना नेता अझै जीवित रहेको देखाउन खोजेको हुन सक्छ । लामो समय सार्वजनिक नभएकाले कत्तिले बगदादी मारिएको वा असक्त हुने गरि घाइते भएको अनुमान गरेका थिए । सम्बोधनमा बगदादी आफैले उल्लेख नगरेको भए पनि भिडियोमा श्रीलंकाको ‘इस्टर सण्डे आक्रमण’को प्रसंग उल्लेख छ । श्रीलंका आक्रमणको आक्रमणकारीले आईएसप्रति आफ्नो सम्बन्धन जाहेर गरेका थिए । तर हालसम्म आक्रमणकारी आईएसबाट प्रभावित मात्र भएको हो कि आईएसकै योजनामा आक्रमण भएको स्पष्ट भइसकेको छैन । श्रीलंका आक्रमणबारे भिडियोमा लेखिएको ,“श्रीलंकामा अमेरिकी र युरोपली हारे । क्यालिफेटप्रति सम्बन्धनता जाहेर गरेकोमा हामी श्रीलंकाका दाजुभाईलाई बधाई दिन्छौं । ”
त्यस्तै अगाडि भनिएको छ , “हामी तिनलाई अल्लाहको लक्षप्रति कायम रहन सल्लाह दिन्छौं । हामी अल्लाहसँग तिनले सुरु गरेको यात्रा पुरा गर्न र सहादतलाई स्वीकार्न कामना गदर्छौं ।” भिडियो सार्वजनिक भएसँगै अमेरिकाले आईएसका जिवित नेताहरुलाई पहिल्याएर, हराउने जनाएको छ ।


















