एजेन्सी / रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै भनेका छन् ,‘मेरा लागि साइबेरियाको अथाह स्रोतभन्दा १५ करोड रुसी जनता मूल्यवान छन् ।’ विश्वकै ठूलो देश भएपनि रुसको जनसंख्या १५ करोडभन्दा कम छ । त्यसमाथि जनसंख्या घट्दो
छ ।
घट्दो जनसंख्याका कारण पुटिन चिन्तामा डुबेका छन् । रुसमा काम गर्ने दक्ष जनशक्तिको अभाव हुने खतरा छ । पछिल्लो तथ्यांक अनुसार चार महिनामा रुसको जनसंख्या डेढ लाख घटेको छ । संयुक्त राष्ट्रसंघले सन् २१०० मा रुसको जनसंख्या अहिलेको ठिक आधा अर्थात् आठ करोड हुने प्रक्षेपण गरेको छ । रुसको जनसंख्या भयंकर तरिकाले घट्दैछ । यस घट्दो जनसंख्याका कारण राष्ट्रपति भ्लादिमिर पुटिनले सेवानिवृत्त हुने उमेर बढाउन खोजेका थिए । तर, त्यसको चौतर्फी विरोध भयो । रुसमा अहिले काम गर्ने उमेर समूहका मान्छे कम हुँदा जनशक्तिको अभाव बढ्दै गएको छ ।

















