काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमले आफूसँग भएका जहाज पूर्ण उपयोग गरी कमाई बढाउन, जनशक्तिको पूर्ण सदुपयोग गर्न, राज्यले गरेको लगानीको प्रतिफल आउने गरी कार्ययोजना अगाडि बढाउन सल्लाह दिनुभयो ।
आज निगमका उच्चपदाधिकारीहरुसँग भएको छलफल कार्यक्रममा उहाँले विमान संचालन गर्ने संस्थाले विमान थप्दै जानु आवश्यक हो तर विमान खरीद प्रक्रियालाई पूर्ण पारदर्शी बनाई बाहिर कुरा काट्ने स्थिति नआउने वातावरण बनाउनु पर्दछ भन्नुभयो ।
मन्त्री भट्टराईले विगतमा दुर्गम क्षेत्रमा गरेको सेवा उल्लेखनीय रहेको संझना दिलाउदै अवका दिनमा पनि समय सापेक्ष स्तरीय सेवा प्रदान गर्न सक्रिय रहनु पर्ने धारणा व्यक्त गर्नुभयो । निगमलाई आन्तरिक समझदारीको जगमा सुदृढ बनाउन र योग्यलाई उचित काम सुम्पेर प्रतिफल लिन पनि सुझाव दिनुभयो ।
उहाँले विमानस्थलहरुको संख्या थपिंदै गएको सन्दर्भमा सबैतिर सेवा पु¥याउन सल्लाह दिंदै आगामी मंसीरमा निजगढ विमानस्थलको शिलान्यास गरिने जानकारी गराउनु भयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले निगमको ऋण र पूँजीमा संतुलन आवश्यक छ र त्यसमा सरकारको सकारात्मक सहयोग रहने तर स्पष्ट व्यावसायिक योजना प्रस्तुत गर्न आव्हान गर्नुभयो ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमले गरेका उपलब्धि बारे प्रकाश पार्दै अघिल्लो वर्ष ६ लाख ५० हजार यात्रु बोकेर अन्तर्राष्ट्रिय उडानमा सवभन्दा बढी यात्रु बोक्न सफलता पाएको थियो र ८६ प्रतिशत सीट क्षमतामा उडान गरिएको थियो भन्नुभयो ।
निगमले सेवाको स्तर बृद्धि गर्नुका साथै सुरक्षालाई उच्च प्राथमिकतामा राखी अगाडि बढेको जनाउँदै पूँजी र ऋणबीच सन्तुलन हुनुपर्छ भन्ने अवधारणाले सरकारबाट रु.२० अर्वको लगानी खोजेको जनाउनुभयो । उड्डयन जस्तो संवेदनशील र तरल विषयमा आरोह अवरोह आउनु स्वाभाविक हो भन्नुहुँदै निगमको भविष्य उज्यालो रहेको उल्लेख गर्नुभयो ।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगीले बढदो उड्डयन क्षेत्रलाई ध्यानमा राखी निगमका लागि एकमुष्ठ १५ वटा विमान किन्नुपर्ने जनाउँदै क्षमतावान संस्था बनाउन सामुहिक प्रयास आवश्यक रहेको जनाउनुभयो ।

















