दिल्लीका ट्याक्सी चालकले कन्डम बोक्नै पर्ने बाध्यता

527

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ट्याक्सी चालकहरु कन्डम बोकेर हिँड्ने गरेका छन् । भारतमा हालै परिमार्जन गरिएको ट्राफिक नियम र जरिवानामा गरिएको भारी बढोत्तरीका कारण चालकहरु कुनै प्रकारको गल्ती गर्नबाट डराउने गरेका छन् ।

प्राथमिक उपचारका सामान राख्ने बाकसमा ट्याक्सी चालकहरुले कन्डमसमेत राख्ने गरेका हुन् । यद्यपि सवारी साधनमा कन्डम अनिवार्य नगरिएको ट्राफिक अधिकारीहरु बताउँछन् । चालकहरु भने चेकिङका क्रममा ट्राफिकले कन्डमसमेत खोज्ने गरेको बताउँछन् । कतिपय स्थानमा ट्राफिक प्रहरीले चेकिङका क्रममा ट्याक्सीभित्र प्राथमिक उपचारका सामान भए–नभएको समेत हेर्ने गरेको र त्यस्ता सामान नरहेको पाइए भारी जरिवाना गरेको चालकहरुको गुनासो छ । त्यही कण्डमलाई यहाँ प्राथमिक उपचारका सामानको रुपमा लिईएको छ ।

एएनआई समाचार एजेन्सीका अनुसार कतिपय चालकले कन्डम नबोकेकै आधारमा जरिवाना तिरेको बताएका छन् । जरिवाना तिर्नु परेकै कारण पछिल्लो समय दिल्लीका अधिकांश ट्याक्सी चालकले कन्डम बोक्न थालेका हुन् ।

त्यसो त, कन्डमलाई सुरक्षित यौन सम्पर्ककालागि मात्र नभई अन्य प्रयोजनमा समेत प्रयोग गर्न सकिन्छ । सवारी चालकले कन्डम साथमा राख्दा फाइदा नै हुने अधिकारीहरुको भनाइ छ । मोटरको ‘प्रेसर पाइप’ फुट्दा इन्धन चुहावट रोकेर गन्तव्यतर्फ पुग्नका लागि कन्डम प्रयोग गर्न सकिने उनीहरुको भनाइ छ । यस्तै, चोट पटक लागेको अवस्था रक्तस्राव रोक्न सकिने गरी कन्डमले शरीरका अंग बाँध्न सकिने, वर्षाको समयमा जुत्तालाई भिज्नबाट बचाउन सकिनेजस्ता फाइदा कन्डमबाट हुने चालकहरु बताउँछन् ।

दिल्लीस्थित सर्वोदय ड्राइभर एसोसिएसनका अध्यक्ष कमलजित गिलका अनुसार चालकहरुले कन्डम बोकेर हिँड्नु बाध्यता भएको छ । तर, यसले चालकलाई आपतकालिन अवस्थामा फाइदा नै पुग्ने उनको भनाइ छ ।

‘प्राथमिक उपचारको सामान राख्ने बाकसमा प्रहरीले चेकजाँच गर्ने गरेका छन्,’ उनले भने, ‘केही चालकले कन्डम नबोकेकै कारण जरिवाना तिर्नुपरेको गुनासो पनि गरेका छन् ।’ सार्वजनिक यातायातमा कम्तीमा तीनवटा कन्डम बोक्नु उपयुक्त हुने उनको भनाइ छ । कन्डमलाई यौन सम्पर्कका दृष्टिले मात्र नहेरी अन्य आकस्मिक अवस्थामा यसको प्रयोग चालकहरुले गर्न सक्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here