यसरी सफल बनाउन सकिन्छ ‘नेपाल भ्रमण वर्ष २०२०’

147

– निशा तामाङ

नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश हो । प्राकृतिक सौन्दर्यतालाई देखेर यहाँ आउने जो कोही पनि स्वर्गमा पुगेको महसुस गर्ने गर्दछन् । हुन त स्वर्ग कसैले देखेको छैन तथापि परिकल्पनाको स्वर्गजस्तै नेपाली भूमिलाई पर्यटकहरूले लिने गर्दछन् । हिमाली भेगका प्राकृतिक हिमश्रंखला र तराईका हरिया फाँटहरूले देशको सौन्दर्यतामा अझ थप  सौन्दर्यता बढाइदिएको छ । विदेशबाट नेपाल भित्रिने कयौ पर्यटकहरू यही सौन्दर्यता हेर्न नेपाल भ्रमण गर्ने गर्दछन् । नेपालका यिनै प्राकृतिक सौन्दर्यताको सदुपयोग गर्दै नेपाल सरकारले विश्व समुदायमाझ आफ्नो देशमा रहेको प्राकृतिक सौन्दर्यतालाई चिनाउन र अर्थतन्त्र सफल बनाउन पर्यटकहरूलाई आमन्त्रण गर्ने गर्दछ । पर्र्यटकहरू नेपालमा रहेको यही मनोरम दृश्य हेर्न  आउने गर्दछन् ।

 भर्खरै मात्र नेपाल सरकारले नेपाल भ्रमण गर्न उत्साहित बनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० सुरुवात गरेको छ । नेपालमा भ्रमण वर्ष यसअघि पनि सुरु नभएका भने होइनन् । सन् १९९८ मा पहिलोपटक भ्रमण वर्ष मनाएको नेपालले सन् २०११ लाई पनि नेपाल पर्यटन वर्षको रूपमा मनाएको थियो । त्यसबेला करिब १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएपनि जम्मा साढे आठ लाख पर्यटक मात्र नेपाल भित्रिएका थिए । नेपाल भ्रमण गर्न पर्यटकहरू वर्षेनी नेपाल भित्रिने गरेका छन् । तर यस वर्ष भने सरकारको लक्ष्य प्राप्त गर्न निकै नै चुनौतिपूण रहेको हामी सुबैलाई थाहा भएकै विषय हो ।

काठमाडौंस्थित दशरथ रंगशालाको खेलमैदानमा अंग्रेजी नयाँ वर्षको २०२० को  शुभारम्भसंगै २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको घोषणा कतै घोषणामै सिमित हुने त होइन ? यो कौतुहलता भने सबैमा छ । नेपालको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल काठमाडौं राजधानीमै छ ।  पर्यटक आउने प्रमुख आगमनस्थल काठमाडौं उपत्यकामै फोहोर र धुवाँ–धुलोले अस्तव्यस्त बनिरहेको अवस्थामा नेपाल पर्यटन वर्ष कसरी सफल हुन सक्ला र ? पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौंलाई नै अवलोकन गर्ने भएकाले पनि काठमाडौंको सौन्दर्यता निकै महन्वपूर्ण छ । भ्रमण वर्षमा नेपाल भित्रिएका पर्यटकहरूलाई भ्रमण वर्ष अवधिभर टिकाइराख्न र पटक–पटक नेपाल भ्रमण गर्न उत्साहित बनाउन  सरकारको योजना केन्द्रित हुुनुपर्नेमा त्यसतर्फ ध्यान दिएको पाइँदैन ।

काठमाडौं महानगरले नेपाल भ्रमण वर्ष सुरु भएसंगै तार व्यवस्थापन, सम्पदामा रङरोगन गर्ने र अन्य सरसफाइको काम तीव्र रूपमा गरिरहेको छ । त्यस्तै शहरलाई कुरूप बनाई राखिएका विभिन्न किसिमका विज्ञापन हटाइँदै गएका छन् । मात्र भ्रमण वर्षलाई सफल बनाउनका लागि गरिएका यस्ता गतिविधि भ्रमण वर्षको सुरुवात गर्नुभन्दा अगाडि नै गनुपर्ने थियो । अहिले भ्रमण वर्षको सुरुवात भइसक्दा पनि अझै कतिपय ठाँउमा काठमाडौंका सडक हिलाम्मे नै छन् । तारहरू व्यवस्थापन हुन सकिरहेका छैनन् । काठमाडौंका केही  सडकहरू सिंगार्दैमा भ्रमण वर्ष सफल हुन्छ भन्ने हुँदैन ।

विकासका नाममा सडक भत्काउने र रुख काट्ने काम अहिले तीव्र गतिमा पनि भइरहेको बेला सुरु भएको भ्रमण वर्ष सफल पार्न काठमाडौंको यस्तो अवस्थाले सरकारले पूर्वाधार विकासमा कुनै जोड दिएको छैन भन्ने पुष्टि हुन्छ । सरकारले भ्रमण वर्ष घोषणा अगावै पूूर्वाधार विकासमा ध्यान दिन नसक्दा पर्यटन वर्ष सफल होला भनेर सोच्न सकिने अवस्था छैन । भ्रमण वर्ष सुरु भइसक्दा तयार गरिएको सडक ‘जब प¥यो राती अनि बुढि ताती’ भने जस्तै भएको छ । यही उखान  १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पनि भएको थियो । १३ औं साग खेलकुदको आयोजना हुनै लाग्दा त्यसको तयारी रातारात गरेर निर्माण गरिएको थियो ।  कतिपय ठाँउमा निर्माण तयारी नभएका कारण खेल नै रद्द समेत भएको पनि थियो । समयमै सरकारले पूर्वाधार विकास गर्न सकेमात्र भित्रिएका पर्यटकलाई लामोसमयसम्म नेपाल बसाउन सकिने छ । अन्यथा आएका पर्यटक नेपालको अवस्था देखेर भोलिपल्टै फर्किन पनि सक्छन् ।

नेपाल भ्रमण वर्षको लागि लागेको सरकारको तयारी पुरा नभएको अवस्था छर्लङ्ग छ । यस्तैमा नेपाल भ्रमण वर्षको सुरुवात करिब २ करोड खर्च गरेर रंगशालामा हेलिकप्टरबाट पुष्पवृष्टि र बेलुन उडाएर भव्य रूपमा उद्घाटन गर्दैमा भ्रमण वर्षका लागि तयारी गरिएको भन्न सकिदैन । पर्यटनमन्त्री अष्ट्रेलियामा यही अभियानको प्रचार गर्न गएको  अवस्थाले पनि नेपाल भ्रमण वर्षको निरिहता स्पष्ट भएको छ । सरकारले पर्यटक आकर्षित गर्ने कुनै तयारी गरेको छैन । नेपाल भित्रिने पर्यटकलाई लक्षित गर्दै तराई, पहाड र हिमालमा पर्यटनका नयाँ गन्तव्य विस्तार गर्दै भएका पुराना पर्यटन गन्तव्यका  आकर्षणमा नयाँपन दिनुपर्नेतर्फ ध्यान दिन जरुरी छ । पर्यटकहरूबाटै नेपालको अर्थतन्त्र सुदृढ हुनेहुँदा नेपालमा सबैले आ–आफ्ना तर्फबाट कला ,संस्कृतिले समेत पर्यटकहरूलाई आकर्षण गर्न सकिन्छ । नेपाल कला र संस्कृतिले भरिपूर्ण देश हो । पर्यटकहरू नेपालको प्राकृतिक सौन्दर्यताका साथसाथै यहाँ रहेका ऐतिहासिक कला, संस्कृति र सम्पदा हेर्न आउने हुँदा  नेपालीहरू सबैले आफनो कला संस्कृति मार्फत पर्यटन क्षेत्रलाई आकर्षण प्रदान गर्नतर्फ ध्यान दिनु जरुरी छ ।  – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here