काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल समक्ष एमसीसी खारेज अभियानका अभियन्ताहरुले ज्ञापन पत्र बुझाएका छन् ।
हिजो खनालकै निवासमा ५० जना भन्दा धेरैको संख्यामा रहेको अभियन्ताहरुले एमसीसी रोक्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्।
विहिबार बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै नेता खनालले आफू माक्र्सवादी भएको र साम्राज्यवाद विरोधी संघर्षमा सक्रिय रहँदै आएको स्मरण गराउँदै नेकपाको हालै सम्पन्न बैठकबाट आफूलाई गह्रुँगो जिम्मेवारी आएको अनुभुति भएको नेता खनालको टिप्पणी थियो ।
ज्ञापन पत्र बुझ्ने क्रममा नेता खनालले अत्यन्त गम्भीर मुद्रामा आवेश, आक्रोश र हुइयाँ भन्दा तथ्यमा आधारित सत्यको खोजी गर्न आफूलाई माक्र्सवादले सिकाएको र त्यसै गर्न लागि परेको जनाए ।
अमेरिकी साम्राज्यवादले ७० भन्दा बढी देशमा शैन्य अखडा राखेको तथा थिचोमिचो र उत्पीडिन बढाएको आफूलाई प्रष्ट जानकारी रहेकाले यस्ता विषयमा आफूलाई कुनै द्दिविधा नहुने तर कतिपय द्दिपक्षीय र बहुपक्षीय सम्बन्धहरु ख्याल गर्नुपर्ने विषयमा पनि गम्भीर रहेको खनालको टिप्पणी थियो । सूचना र सामाग्रीहरुमा समेत अन्तरविरोध देखिएको बेला थप अन्तरक्रिया गर्दै सहि निष्कर्षमा पुग्ने प्रतिबद्धता खनालको रह्यो ।
ज्ञापन पत्र बुझाउन जानेहरुमा नागरिक अभियानका स्वनाम साथी, एमसीसी खारेज अभियानका नारायण शर्मा, एमसीसी विरुद्धको नागरिक संजालका असोक कुमार महर्जन, पूर्वसांसद घनश्याम शर्मा पौडेल, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, नेकपा नेता लक्ष्मण पंत, बुद्धिजीवी डा। शम्भु कट्टेल, रघु घिमीरे, आरसी न्यौपाने, भावना विद्रोही र राष्ट्रिय पुनर्जागरण अभियानका प्रवक्ता एंव पत्रकार निमकान्त पाण्डे लगायतले अनाललाई एमसीसी रोक्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए ।
उपस्थित हुनेहरु मध्ये नेकपा नेता किशन शर्मा, सरिता मर्हजन, पत्रकार निलकण्ठ तिवारी, सरस्वती पौडेल, चन्दा थापा, रविन्द्र कुमार श्रेष्ठ, दिलिप कुमार पुलामी मगर, विकासबाबु श्रेष्ठ र होम बहादुर खड्का लगायतका व्यक्तित्वहरुले नेता खनाललाई एमसीसी इण्डो प्यासिफिक मातहतको अमेरिकी सैन्य रणनीतिलाई लक्षित गरेर आउने भएकाले यसलाई रोक्न सुझाव दिएका थिए ।


















