कोभिड–१९ को उपचारका लागि रियल मड्रिडले रंगशाला दिने

62

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले मेडिकल सामान भण्डारणका लागि सान्टियागो बर्नवेउ रंगशाला दिने भएको छ । महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उपचारका लागि आपूर्ति भएका सामान भण्डारणका लागि रियलले करिब ८१ हजार दर्शक क्षमताको रंगशाला स्थानीय अस्पताललाई रंगशाला प्रयोग गर्न दिने निर्णय गरेको हो । खेलकुद मन्त्रालयसँगको सहकार्यमा रियलले चिकित्सक कर्मचारीलाई आवश्यक पर्ने मेडिकल सामान आफ्नो रंगशालामा राख्न दिनेछ ।

यस्तै, रियलले कम्पनी र व्यापारिक नेतृत्वले अस्पतालका लागि गरेको सहयोग पारित गर्न सहयोग गर्ने भएको छ । कोरोनाको संक्रमणबाट स्पेनमा ३ हजार ४ सय ३४ जनाको ज्यान गएको छ । कोरोनाबाट युरोपको इटालीपछि स्पेन सबैभन्दा धेरै प्रभावित छ । यस्तो अवस्थामा स्पेनिस महारथी क्लबले आधिकारिक रूपमा आफ्नो वेबसाइटमार्फत सहयोगको अपिल गरेको थियो ।

‘महामारीविरुद्वको लडाइँमा आवश्यक मेडिकल सामान आपूर्ति भण्डारणका लागि स्याटियागो वर्नवेउको स्थान उपलब्ध गराउन तयार छांै ।’ रियल जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोनाकै कारण क्लबका पूर्वअध्यक्ष लोरेन्जो सान्जको समेत निधन भएको थियो । अन्य रोगबाट समेत ग्रसित लोरेन्जोको गत शनिबार निधन भएको थियो । महामारीका कारण ला लिगा अनिश्चित कालका लागि स्थगित छ । लिगको पाँचांै स्थानको गेटाफेले समेत स्थानीय अस्पताललाई भण्डारणमा सहयोग गर्ने घोषणा गरको थियो ।