महामारीमा लुप्त भए स्टार कलाकार

136
काठमाडौं – अहिले भारत लकडाउन भएको बेला बलिउडका कलाकारले दिल खोलेर सहयोग गरेका छन् । उनीहरूले सरकारदेखि विपन्न मानिसलाई आर्थिक र खाद्यान्न सहयोग गरिरहेका छन् । बलिउडका कलाकार शाहरूख खान, सलमान खान, अक्षय कुमार, अमिताभ बच्चन, प्रभासदेखि अधिकांश अभिनेता अभिनेत्रीले अहिले त्यहाँ करोडौं रुपैयाँ सहयोग गरेका हुन् । उनीहरूले प्रधानमन्त्री र सम्बन्धित प्रदेशका मुख्य मन्त्रीको कोषमा आर्थिक सहयोग गरेपछि पनि २५औं हजार परिवारलाई व्यक्तिगत रूपमा दैनिक खाना खुवाउने काम गरिरहेका छन् ।

नेपाली चलचित्र उद्योगमा भने स्टार कलाकारमा त्यो भावना देखिएन । चलचित्र क्षेत्रका केही कलाकारले विपन्न व्यक्तिलाई आर्थिक तथा खाद्यान्न सहयोग गरे पनि महँगा पारिश्रमिक लिने र चर्चामा रहने गरेको कलाकारले यस्तो बेलामा सहयोग गरेका छैनन् ।

नेपाली चलचित्रमा सबैभन्दा महँगो पारिश्रमिक लिने अभिनेता अनमोल केसी हुन् । उनले एउटै फिल्मबाट ५० लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । एउटा फिल्मबाट १५ लाख रुपैयाँ पारिश्रमिक लिने गरेको अभिनेता पल शाहले चलचित्रमा कार्यरत ज्यालादारी विपन्न मजदुरलाई ५ लाख रुपैयाँको खाद्यान्न सहयोग गरेको बेला अनमोल केसी मौन देखिएका हुन् । कोरोना संक्रमणविरुद्ध स्टार कलाकारको आवाज दर्शकले सुन्ने गर्छन् । यस्ता कलाकारले कोरोना संक्रमणविरुद्ध सचेत रहने सन्देश प्रभावशाली हुने गर्दछ । सधंै मिडियाको सम्पर्कबाट टाढै रहने अभिनेता अनमोल केसी आर्थिक सहयोग, खाद्यान्न सहयोगदेखि कोरोनाविरुद्धको सन्देश सम्प्रेषणमा समेत गुमनाम देखिएका छन् । यस्तो बेलामा घरमै चुपचाप लुगेको भनेर दर्शकले सामाजिक सञ्जालमा अनमोललगायतको टिप्पणी सुरु गरेका छन् ।

अनमोलकै पिता भुवन केसी पनि नेपाली चलचित्र क्षेत्रका सदावहार अभिनेताका रूपमा परिचित छन् । अभिनेता भुवन केसी पनि अहिलेको अवस्थामा मौन छन् । उनी पनि कोरोनाविरुद्धको अभियान र सहयोगमा निस्क्रिय देखिएका छन् ।

नेपाली चलचित्र क्षेत्रमा तीन दशकदेखि निरन्तर चलिरहेका अर्का अभिनेता राजेश हमाल हुन् । आफ्नो जन्मदिनमा अपांगता भएकाहरूलाई खाना खुवाउन पुग्ने यी अभिनेता मुलुकमा धेरै नेपाली भोकै रहेको अहिलेको अवस्थामा मौन छन् । उनी पनि कोरोनाविरुद्धको सचेतना र विपन्नलाई राहत प्रदानमा गुमनाम छन् । अभिनेता राजेश हमालजस्तै शिव श्रेष्ठ पनि अहिले गुमनाम अवस्थामा छन् । उनले पनि कुनै प्रकारको सहयोग गरेको देखिएको छैन ।

महँगो पारिश्रमिक लिने अहिले चलेका अभिनेतामा विपिन कार्की, खगेन्द्र लामिछाने, दयाहाङ राई पर्छन् । उनीहरूले एउटा फिल्मबाट २० देखि २५ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । अभिनेता विपिन कार्कीले वर्षमा दुईवटा र दयाहाङले त वर्षमा ४ ओटासमेत फिल्म खेल्ने गरेका छन् । चलचित्रबाट राम्रै पारिश्रमिक लिने यी कलाकारहरू पनि चलचित्रका विपन्न प्राविधिकदेखि अन्य विपन्न सिनेकर्मीलाई लकडाउनको बेला सहयोग गर्न तत्पर देखिएनन् । महँगो अभिनेताको सूचीमा आर्यन सिग्देल पनि पर्छन् । यो समय घरमा बारी खन्न व्यस्त बनेका यी अभिनेता पनि कोरोनाविरुद्धको सामाजिक जनचेतनादेखि आर्थिक सहयोगमा समेत सक्रिए देखिएनन् । हास्य अभिनेता दीपकराज गिरीले सिने प्राविधिकका लागि १ लाख २० हजार रुपैयाँका खाद्यसामग्री वितरण गरेका छन् । तर बाँकी हास्य कलाकार अहिलेको अवस्थामा आर्थिक सहयोगमा मनकारी देखिएनन् । तथापि जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल, कुन्जना घिमिरे, कुमार कट्टेलजस्ता हास्य अभिनेताले कोरोना संक्रमणबाट जोगिनेबारे जनचेतना फैलाउने भिडियो बनाएर सामाजिक सञ्जालमा प्रस्तुत गर्दै आउका छन् ।

अभिनेता मात्र हैन, चलचित्रका अभिनेत्री पनि यति बेला सामाजिक अभियानमा निस्क्रिय जस्तै छन् । महँगो पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा परेकी पूजा शर्माले २ लाख रुपैयाँको खाद्य सामग्री चलचित्रका ज्यालादारीमा काम गर्ने प्राविधिकलाई वितरण गरिन् । उनी चामल, दाल, नुन, तेललगायतको राहत सामग्री बोकेर प्राविधिक संघमार्फत प्रदान गर्न प्राविधिकको घरमै पुगिन् ।

त्यसो त अर्की अभिनेत्री वर्षा सिवाकोटी पनि यसपटक सहयोगमा उत्रिइन् । उनले विपन्नका लागि खाना खुवाउन भन्दै कोरोना संक्रमणविरुद्धको राहत कोषमा एक लाख रुपैयाँ प्रदान गरिन् । अभिनेत्री वर्षा राउतले पनि ५१ हजार रुपैयाँ बराबरको खाद्य सामग्री सिनेमाका विपन्न प्राविधिकलाई प्रदान गरिन् ।

बाँकी नायिका भने अहिले आर्थिक सहयोगमा गुमनाम नै देखिएका छन् । गत साता जनावरका लागि भनेर एउटा संस्थालाई एक लाख रुपैयाँ प्रदान गरे पनि अभिनेत्री प्रियंका कार्कीले विपन्न मानिसका लागि भने केही गरेकी छैनन् ।

दुई महिना अघि विवाहमा १६ लाख रुपैयाँको लेहँगा लगाएकी र करोड रुपैयाँ खर्च गरेर विवाह भोज खुवाएकी अभिनेत्री आँचल शर्मा पनि अहिले मौन छिन् । कोरोना संक्रमणविरुद्धको अभियानमा विपन्नका लागि उनले कुनै पनि सहयोग नगरेको आरोप यति बेला लागेको छ । त्यसो त आर्थिक सहयोग जुटाएर सिन्धुपाल्चोकका विपन्न माझीहरूलाई गतवर्ष दर्जनौं घर बनाइदिएकी अभिनेत्री श्वेता खड्का हुन् । उनी नायिका मात्र नभएर कुशल व्यवसायी पनि हुन् । कोरोना संक्रमणका बेला उनी पनि अहिले गुमनाम छिन् । सामाजिक कार्यमा सधंै क्रियाशील रहेने अभिनेत्री श्वेताले अहिलेको अवस्थामा चलचित्र प्राविधिकदेखि कतिपय विपन्न कलाकार नै भोकै परेको बेला सहयोग सहयोगप्रति चासो नदेखाएको आरोप लागेको छ ।

नेपाली चलचित्रमा महँगो पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेत्री नम्रता श्रेष्ठ पनि पर्छन् । एउटा फिल्मबाट नम्रताले २० लाख रुपैयाँ लिने गरेकी छन् । त्यसो त उनी रेस्टुरेन्ट व्यवसायी हुन् । तर, अभिनेत्री नम्रता श्रेष्ठ पनि यति बेला गुमनाम छिन् । उनले पनि विपन्नलाई सहयोग गरेको देखिएको छैन । अभिनेत्री साम्राज्ञीले पनि एउटा फिल्मबाट १५ लाख रुपैयाँसम्म पारिश्रमिक लिन्छिन् । वर्षमा दुईवटा फिल्मसम्म खेल्ने यी अभिनेत्री पनि अहिलेको अवस्थामा मौन छिन् । न उनी कोरोना संक्रमणबाट जोगिने कुनै सन्देश सम्प्रेषणमा सक्रिय देखिएकी छन् । न विपन्नलाई आर्थिक सहयोग तथा अन्य सहयोग गर्नतर्फ नै क्रियाशील देखिएकी छन् । यसरी अहिलेकी यी स्टार अभिनेत्री पनि दर्शकलाई परेको बेला गुमनामजस्तै बनेकी छन् ।

राजधानीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here