राँझा – नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।
सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरुलगायत २५ जना संक्रमितलाई राखी उपचार भइरहेको छ । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको उहाँको भनाइ छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो । हाल सङ्क्रमित १०१ पुगेका छन् ।
थप दुईमा सङ्क्रमण
बाँकेमा बिहीबार सङ्क्रमण देखिएका दुई जना पनि एकहप्ता अघि भारतबाट आएका थिए । नेपालमा आएलगत्तै क्वारेन्टिनमा रहनुभएका खजुरा गाउँपालिका वडा नं ३ का ४२ वर्षीया महिला र नरैनापुर गाउँपालिका वडा नं ३ का ३२ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर प्रयोगशालामा गरिएको स्वाब नमूना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहीबार फेला परेका सङ्क्रमित एक हप्ताअघि भारतबाट आएर गाउँकै क्वारेन्टिनमा बस्दै आएका हन् । कोरोना सङ्क्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा दुई जनामा सङ्क्रमण देखिएपछि खजुराक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । खजुरा गाउँपालिकामा पहिलो पटक बुधबार वडा नं ५ निवासी एक व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो भने बिहीबार थप एक जनामा पुष्टि भएको छ ।
खजुरामा सङ्क्रमण नभई भारतबाटै सङ्क्रमित भई आएको पाइएकाले त्रसित हुनुपर्ने अवस्था नरहे पनि सजगता अपनाउनुपर्ने भएकाले थप उच्च सतर्कता अपनाइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । सङ्कलित स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ ।
१५१ स्वाब सङ्कलन
बाँकेमा बिहीबार विभिन्न स्थानबाट १५१ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । राप्तीसोनारी गाउँपालिकाबाट ४६, डुडुवा गाउँपालिकाबाट २०, नेपालगञ्जको कल्पतरु होटलको क्वारेन्टिनबाट १२, भेरी अस्पतालबाट सात, नेपालगञ्ज मेडिकल कलेजबाट ६ र नेपाल प्रहरीका ६० जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । सङ्कलित स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ ।रासस