नेपाल महिला संघले रुकुम घट्नाको संसदीय छानबिन गर्न माग

192

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाको कडा निन्दा गर्दै गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले उक्त घट्ना दलित समूदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समूदायका लागि अत्यन्तै दुःखद् एवम् अमानवीय घट्ना भएको जनाएकाे छ।

संघका केन्द्रीय महासचिवहरु धना खतिवडा र मञ्जु खाँण, र केन्द्रीय सदस्यहरु लता घिमिरे र मोदती केसीको नाममा जारी प्रेस वक्तव्यमा भनिएको छ,‘यही जेष्ठ १० गते राति पश्चिम् रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा घटेको बिभत्स घट्नामा नबराज बिकलगायतका युवाहरुले ज्यान गुमाएका छन् भने ४ जना बेपत्ता पारिएका छन्। यो घटना दलित समुदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समुदायका लागि अत्यन्तै दुःखद् एंव अमानवीय घट्ना हो ।’

आजको २१औं शताब्दीमा पनि जातीय बिभेद एबं छुवाछुतका कारणले घटेको यस्ता घटना ज्यादै निन्दनीय भएको संघको ठहर छ। संघले थप भनेको छ,‘यस घटनाले हाम्रो समाजको यथार्थ चित्रण गरेको छ। यस्तो अमानवीय घृणित कार्यको नेपाल महिला संघ घोर भत्सर्ना गर्दछ ।’ उक्त घटनामा दिवंगत भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै बेपत्ता पारिएकाहरूको छिटोभन्दा छिटो खोजी गरिनुपर्ने पनि संघको माग छ ।

साथै, उक्त घट्नालाई सामान्य रूपमा नलिईकन संसदीय छानबिन समिति गठन गर्नुपर्ने संघको जोडदार माग छ । उक्त घट्नाको निश्पक्ष रूपमा छानबिन गरि सत्य, तथ्य बाहिर ल्याई सम्पूर्ण दोषीहरूलाई नेपालको मुलुकी अपराध संहिता–२०७४ र छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन–२०६८ अन्तरगत कानूनी दायरामा ल्याई हदैसम्मको सजाय दिनुर्पे संघको माग छ ।

प्रेमिकालाई भगाएर विवाह गर्न चौरजहारी पुगेका युवाहरूलाई गाउँलेले आक्रमण गरेपछि जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा तथा चौरजहारी नगरपालिका–८ का टीकाराम नेपालीको ज्यान गएको थियो । ज्यान बचाउन खोलामा हामफालेका अन्य तीनजनाको अवस्था अझै अन्योल नै रहेको छ । र, उनीहरुको खोजीको लागि गोदाखोर परिचालन गरिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here