दाङ – रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा घटेको दुर्दान्त घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ ।
सो घटनाले मर्माहित भएको भन्दै शान्ति समाजले चार जना नागरिकको मृत्यु भएको र दुई जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गर्दै, घटनाको निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न निरन्तर जोड दिँदै आएको छ ।
दण्डहिनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरु वृद्धि भइरहेको छ । रुकुम पश्चिममा घटेको दुर्दान्त घटनाका दोषीहरु मथि कारबाही नहुने हो भने मानवता पराजित हुने र अन्याय पुरस्कृत हुने धारणा शान्ति समाजले व्यक्त गरेको छ ।
रुकुम पश्चिम घटनाका सन्दर्भमा संसदीय छानविन समिति गठन गर्न, दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न र पिडितहरुलाई न्याय प्रदान गर्न शान्ति समाजले आग्रह गरेको छ ।
यसै सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखा, उच्च अदालत वुटवल बार एशोसिएसन लगायतका संस्थाहरुको आयोजनामा जेठ १५ गते विहान वुटवल राजमार्ग चौराहामा विरोध प्रदर्शन सम्पन्न गरेको जनाएको छ ।
शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा र शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा जेठ १६ गते विहान ८ बजे बौद्धमा प्रदर्शन हुँदैछ ।
यसैगरी शान्ति समाजका सदस्यहरु, दलित अगुवा र सामाजिक अभियन्ताहरुको सहभागितामा जेठ १४ गते अपरान्ह वुटवलमा विरोध प्रदर्शन सम्पन्न भएको थियो ।


















