आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै

266

काठमाडौं – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला–पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए ।

रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । ऋषिपञ्चमीका दिन काठमाडौंको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण मन्दिरमा गएर पूजा गर्न रोक लगाइएको छ ।

वाग्मती लगायत नदीमा स्नान नगर्न आह्वान

ऋषिपञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न महानगरीय प्रहरी वृत्त बौद्धले आह्वान गरेको छ । तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्ने गरेका थिए ।

गोकर्णबाट सुन्दरीजलसम्मको करिब सात किलोमिटर नदी किनारको दायाँ–बायाँ दुई नगरपालिकाका हजारौँ महिलाले ऋषिपञ्चमीमा स्नान गर्ने गरेका थिए । गोकर्णे औँशीका दिन गोकर्णेश्वर महादेव मन्दिर भीड हुन नदिए जस्तै ऋषिपञ्चमीका अवसरमा आइतबार वाग्मती किनारमा स्नानका लागि पनि निषेध गरिएको वृत्तका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए । बिहानैदेखि वाग्मती, मनोहरा लगायत नदी किनारमा प्रहरी राखेर नदी किनारमा भीड जम्मा स्नानका लागि भीड जम्मा हुन नदिने गरी व्यवस्था मिलाइएको उनले जनाए। नदीमा समूह जम्मा भएर स्नान गर्दा कोरोनाको संक्रमण फैलन सक्ने भएकाले यस्तो आह्वान गरिएको बौद्ध प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here