यसै वर्ष युट्युबले हटायो एक करोड १४ लाख भिडियो

93

वासिङ्टन- भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ।

कम्पनीको मापदण्ड तथा निर्देशिकाविपरीत रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

भिडियोका बारेमा प्राप्त उजुरी र आफैंले गरेको मूल्यांकनका आधारमा ती भिडियोहरु हटाउनु परेको कम्पनीले स्पष्ट पारेको छ। कम्पनीका अनुसार यही वर्ष सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिमा ती भिडियोहरु हटाइएको हो।

कम्पनीले यसअघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियोहरुमात्रै हटाएको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष अत्यधिक धेरै भिडियोहरु हटाउनु परेको कम्पनीले उल्लेख गरेको छ।

‘समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दखल पार्ने निष्कर्षका साथ हामीले हटाएका छौं,’ कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

बाल सुरक्षा र हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ। लोकप्रिय समाजिक सञ्जालको रुपमा दिन प्रतिदिन उपभोक्ताहरु बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here