उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

176

काठमाडौं – दुई सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अब केही खुकुलो हुने भएको छ ।  सरकारले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय प्रमुखहरुलाई नयाँ निर्देशन दिएको थाहा भएको छ । लामो समयदेखिको लकडाउन लगत्तै निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही खुकुलो बनाएर अघि बढ्न सरकारले निर्देशन दिएको हो।

काठमाडौं उपत्यकाभित्रका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठकले थप गरेको निषेधाज्ञाको पछिल्लो समय भोलि भदौ १७ गते बुधबार राति १२ बजेबाट सकिँदैछ। अब थप गर्ने निषेधाज्ञामा निजी सवारी साधनलाई जोर बिजोर प्रणालीका आधारमा संचालन गर्दा हुनेभए संचालन गर्न समेत स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ।

हालसम्मअत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, दुग्धजन्य पदार्थ साथै त्यसको प्याकेजिङका सामग्री, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग गरिने साबुन, स्यानिटाइजर लगायतका सामग्रीहरु, अस्पताल जाने आउने बिरामी, दाह संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न दिइएको छैन।

निषेधाज्ञाको पहिलो दिनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई समेत कार्यालय आउन रोकतोक गरिएको थियो। त्यसपछि बैंकर एसोसियसनले कर्मचारीलाई अवरोध गरेपछि बैंक खोल्न समस्या भएको भन्दै बन्द गर्ने निर्णय गरेपछि प्रशासनले कर्मचारी कार्ड देखाएर कार्यालय आउन , जान दिने निर्णय गरेको थियो।

अब थप गर्ने निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधनहरुलाई समेत संचालन गर्न दिने अनौपचारिक छलफल भइसकेको छ। त्यस्तै, अत्यावश्यक सामाग्री खरीद गर्न दिइएको समयलाई पनि थप गर्ने तयारी भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here